अपडेट 
२०८० बैशाख ८, शुक्रबार ०७:०७

बैशाख १० गते हुने प्रतिनिधिसभाको उप निर्वाचनका लागि बिहीबार बारा निर्वाचन क्षेत्र नम्बर दुईको महागढीमाईमा आयोजना गरिएको विशाल आमसभामा जसपाको पक्षमा अप्रत्याशित लहर देखिएको छ । गठबन्धनले अपेक्षा गरेको भन्दा बढी स्थानीयवासी तथा नेता कार्यकर्ताहरुको उपस्थितिले विपक्षीहरुले बनाएको योजना विफल हुने संकेत दिएको छ ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको चुनावमा विजयी भएका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बैशाख १० गते सो क्षेत्रमा निर्वाचन हुन लागेको छ । यस पटक गठबन्धनले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाएका छन् । बिहीबार आयोजना गरिएको विशाल आमसभालाई सम्वोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकता दिएको बताए ।उनले भने, “विमानस्थल निर्माण सम्बन्धी सबै प्रक्रिया शुरु भइसकेको छ, चाँडै शिलान्यास हुन्छ र निर्माणको काम अगाडि बढ्छ ।” मुलुकको विकास र समृद्धिमा ठूलो टेवा पुग्ने भएकाले निजगढ विमानस्थलको छिट्टै शिलान्यास गरी निर्माण कार्य अघि बढाइने उनको भनाइ थियो । पशुपति विकास कोष र लुम्बिनी विकास कोष जस्तै बाराको गढीमाई क्षेत्रलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गढीमाई विकास कोष स्थापना गरिने घोषणा गर्दै प्रधानमन्त्री दाहालले यसबाट गढीमाई क्षेत्रको मात्र नभइ मुलुककै पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

हाल बन्द रहेको मटियर्वा भन्सारलाई सञ्चालन गर्न सरकारले तयारी थालेको र छिट्टै भन्सार सञ्चालनमा आउने उनको भनाइ थियो । विगतमा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाउँदासमेत राष्ट्रपतिले नागरिकता विधेयक रोकेका कारण नागरिकता समस्या समाधान हुन नसकेको उल्लेख गर्दै उनले अब छिट्टै पुनः दुबे सदनबाट नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने बताए । संविधानको रक्षा गर्नका लागि नै पाँचदलीय गठबन्धन भएको जिकिर गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले राष्ट्रिय एकता दिगो शान्ति, विकास, समृद्धि सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गरे । सङ्घीयता, समावेशिता र गणतन्त्रको रक्षाका लागि आन्दोलनको बलमा गठबन्धन बनेको चर्चा गर्दै प्रधानमन्त्री दाहालले गठबन्धन पूरै पाँच वर्ष चल्नेमा ढुक्क रहेको बताए । मुलुकको अर्थतन्त्र धर्मराएको बेला आफू प्रधानमन्त्री भएको उल्लेख गर्दै उनले पछिल्लो समय मुलुकको अर्थतन्त्रले पुनः गति लिन थालेको बताए । समावेशिता, सङ्घीयता, गणतन्त्रजस्ता परिवर्तनलाई संस्थागत गर्न जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको प्रतिनिधिसभामा उपस्थिति आवश्यक रहेको औँल्याउदै उनले जसपा अध्यक्षको जित सिङ्गो मुलुकको जित हुने भएकाले जिताउन मतदातासँग आग्रहसमेत गरे ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सिध्याउने षड्यन्त्र भइरहेकाले षड्यन्त्रलाई चिर्न र संविधानको रक्षाका लागि गठबन्धनलाई जिताउनुको विकल्प नरहेको बताए । मधेशप्रति समर्पित नेताका रूपमा रहेका जसपा अध्यक्ष यादवलाई पाँच वर्ष काम गर्ने अवसर दिन मतदातासंग आग्रह गर्दै उनले निर्वाचनपछि बाराको विकास निर्माणले गति लिने विश्वास व्यक्त गरे । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा स्थायित्व कायम गर्न र कानूनी राज्यलाई परिपालना गराउने दिशामा यो गठबन्धन लागिपरेको बताए । “मुलुक बनाउन, संविधानको रक्षा गर्न, जनतालाई न्याय दिलाउन पाँचदलीय गठबन्धन बनेको हो”, पूर्वप्रधानमन्त्री नेपालले भने, “विगतमा संविधानलाई समाप्त पार्न र मुलुकलाई बर्वाद गर्न के–के भयो ? भन्ने कुरा हामी सबैलाई थाहै छ, यदि त्यतिखेर गठबन्धन नभएको भए मुलुक बर्वाद भइसकेको हुन्थ्यो”, उनले भने । निजगढ विमानस्थल निर्माणलाई प्राथमिकता दिन प्रधानमन्त्रीसंग आग्रह गर्दै उनले गठबन्धनको नेता जसपा अध्यक्ष यादव चुनाव जितेर आएपछि यहाँका जनताको इच्छा पूरा हुने दाबीसमेत गरे ।

आमसभामा पाँचदलीय गठबन्धनका तर्फबाट बारा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार तथा जसपाका अध्यक्ष यादवले यस क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडकलगायतका समग्र विकासलाई अघि बढाउने बताए । निजगढ विमानस्थल निर्माण, भारतीय सीमा नाकादेखि राजमार्गसम्मको सडकलाई चार लेनमा स्तरोन्नति गर्ने, किसानलाई सिँचाइ र घरवारविहीन परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने आफ्नो प्रमुख एजेण्डा भएको प्रष्ट पारे । लोसपाका नेता तथा प्रदेशसभा सदस्य जितेन्द्र सोनलले तराई मधेशको समस्या अहिलेको गठबन्धनले नै समाधान गर्ने दाबी गरे ।

Comment


Related News

Latest News

Trending News