अपडेट 
२०८० बैशाख ८, शुक्रबार ०७:०९

सिरहाको लक्ष्मीपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष रामबल्लभ साहसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । गाउँपालिकाको वडा नं. ४ स्थित धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा पुल/कलभर्ट निर्माणका लागि विनियोजन भएको रकमबाट सामान्य रूपमा निर्माण कार्य गरी ठूलो रकम भ्रष्टाचार गरेको उनीहरुमाथि आरोप छ । आर्थिक वर्ष २०७५/०७६ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत रकम स्वीकृत भएर निर्माण योजनाको जिम्मा गाउँपालिकाबाट विष्णुदेव यादव अध्यक्ष रहेको उपभोक्ता समितिले प्राप्त गरेको थियो । त्यसको निर्माण सम्पन्न नगरी कार्य अलपत्र छाडिएको थियो । सोको अर्को उपभोक्ता समितिबाट निर्माण कार्य हुँदा पनि रकम हिनामिना गरेको आरोप छ । दोस्रोपटक पुल निर्माण गर्दा डिजाइनसमेत नगरी ड्रइङ्ग परिवर्तन गरी तोकिएको मितिमा योजनाहरु सम्पन्न नगरी संरचनामा न्यून गुणस्तरको निर्माण कार्य गरी दुबै योजनाहरु सम्पन्न गर्न नमिल्ने अवस्थामा रहेको भन्दै आयोगले आरोपपत्र दर्ता गरेको छ ।

तत्कालीन अध्यक्ष साह/उपाध्यक्ष आशादेवी यादव, प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र कुमार महत, लेखापाल इन्द्र कुमार कर्ण, वडा नम्बर ४ का वडा अध्यक्ष विद्यान्नद साह, सचिव रामनारायण मण्डलसहित २३ जनाविरुद्ध विगो दाबीसहित मुद्दा दायर भएको छ । उनीहरुले भुक्तानी दिन नै नमिल्ने उपभोक्ता समितिलाई भुक्तानी दिएका थिए । दुई समिति बनाएर त्यहाँ काम अगाडि बढाए पनि अलपत्र छोडेर पूरा भुक्तानी लिएको देखिन्छ । जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी र उपभोक्ता समिति मिलेर बजेट अपचलन गरेको अख्तियारको ठहर छ । अख्तियारले यस मुद्दामा संलग्न अध्यक्ष र उपाध्यक्षमाथि ३१ लाख ७४ हजार चार सय ६७, प्रशासकीय अधिकृत, लेखापाल, वडा अध्यक्ष र वडा सचिवमाथि पाँच लाख २८ हजार चार सय ४०, उपभोक्ता समितिको अध्यक्ष विष्णुदेव यादव, कोषाध्यक्ष जलास कुमार दनुवार, सचिव महादेव यादव र ॐ शान्ति इन्जिनियरिङ कन्सलटेन्सी निर्माण कम्पनीका इन्जिनियर इन्द्र नारायण साह विरुद्ध पाँच लाख २८ हजार चार सय ४० रुपैयाँको विगो दाबी गरिएको छ ।

Comment


Related News

Latest News

Trending News