अपडेट 
२०८० बैशाख ८, शुक्रबार ०७:१७

जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठाका एक महिलालाई उनको ससुरा,सासु र श्रीमान्ले आगो लगाएर ज्यान मार्ने प्रयास गरेको आरोप लगाइएको छ । जनकपुरधाम उपमहानगरपालिका –२० रुपैठाका शिवशंकर झा उनका श्रीमती र उनका छोरा राजीब झाले आगो लगाई गम्भीर घाइते बनाएको २८ वर्षीया श्वेता झाले आरोप लगाएकी छन् ।

आगोले जलेर श्वेताको शरीरको ३५ प्रतिशत भागमा गम्भीर घाउ भएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । वर्न कक्षमा उपचाररत रहेकी उनको अवस्था मध्यम बताइए पनि छातीको तल्लो भागदेखि तिघ्रासम्मको भाग जलेको देखिएको छ । बैशाख १ गते नै घटना भएको तर पीडक ससुरा शिवशंकर र श्रीमान् राजीबले घटनाबारे सबैले थाहा पाउने भयका कारण उपचारको लागि समेत घरबाट बाहिर निस्कन नदिएको आरोप श्वेताको भनाइ छ । श्वेताले भनिन्,‘आगो लागेपछि म अचेत भएको थिएँ त्यतिकैमा मेरो ९ वर्षीया छोराले आमालाई जलाइ दियो भनेर मामा अमित झालाई फोन गरेको थियो तर फोन गर्दा गर्दै श्रीमानले त्यो फोन खोसेका थिए’ तर पनि भारतको बिहारको दरभंगा जिल्लाको कोठियाबाट श्वेताको बुवा जय कुमार झासहितका व्यक्तिहरु आएर उनलाई तत्काल भारतको दरभंगामा उपचारको लागि लगेका थिए । त्यसपछि उनलाई कानूनी रुपमा आधिकारिकताका लागि सरकारी अस्पतालमा उपचार गराउनुपर्छ भन्ने आफ्न्तहरुले सुझाव दिएपछि जनकपुरधाम स्थित जानकी हेल्थ केयरमा उपचारको लागि लगिएको श्वेताको बुवा जय कुमार झाले बताए । त्यसपछि पुनःअधिवक्ताहरुले सल्लाह दिएपछि अहिले श्वेताको उपचार प्रादेशिक अस्पताल जनकपुरधामको वर्न कक्षमा भइरहेको छ ।

श्वेताले सासु,ससुरा र श्रीमानलाई कडा कारबाही हुनुपर्ने माग गरेकी छन् । उनको एउटा ६ वर्षीया छोरी र ९ वर्षीया छोरा रहेको छ । बिहे भएको दशकभन्दा बढी समय बितिसक्दा पनि पटक–पटक श्रीमान्ले दाईजोमा विभिन्न सामानहरुको माग गर्ने गरेको र नदिएपछि विगतमा पनि पटक पटक कुटपिट गरेको दुखेसो उनले सुनाइन् । श्वेतालाई उनका माइती पक्षकै व्यक्तिहरुले उपचारमा सहयोग गरिरहेका छन् भने आरोपि ससुराली पक्षका व्यक्तिहरुले श्वेतालाई हेर्न समेत नआएको उनका बुवा जय कुमारले बताए । उनले भने,‘हामी भारतका हौं र यहाँको कानूनी उपचारबारे अनभिज्ञ छौं वकिलहरुसंग सल्लाह लिएका छौं छिट्टै मुद्दा दिने तयारी गर्दैछौं।’ श्वेतालाई मात्र होइन राजीबले अबोध बालबालिका (छोराछोरीलाई ) समेत कुटेर तर्साउने गरेकोले बच्चाहरुलाई पनि श्वेताले माइतमै पठाएकी छन् । यता घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी वेदप्रसाद गौत्तमलाई सोध्दा यसबारे अहिलेसम्म कुनै जानकारी नआएको बताए ।

Comment


Related News

Latest News

Trending News