अपडेट 
२०८० बैशाख ८, शुक्रबार १४:०४

नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ ।

अधिकांश बैंकहरू नेपाल राष्ट्र बैंकले तोकेको कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) लाई उल्लंघन गरेको अभियोगमा कारबाहीमा परेका हुन् । केही बैंक भने सहुलियतपूर्ण कर्जाको दुरुपयोगमा कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यता राष्ट्रिय वाणिज्य बैंक भने सम्पत्ति शुद्धीकरणसम्बन्धी कारबाहीमा परेको छ ।

तत्कालिन नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी बैंक) ले सहुलियपुर्ण कर्जा एकै समुहलाई पटक-पटक दिएको, कर्जा नोक्सानीको व्यवस्था समेत नगरेको र राष्ट्र बैंकको निर्देशनविपरीत कर्जाको प्रिमियम तोकेको भन्दै तत्कालीन सीईओ रमेश अर्याललाई सचेत गराइएको छ । अर्याललाई आफ्नो अधिकारभन्दा बाहिर गएर कर्जा स्वीकृति गरेकाले ५ लाख रूपैयाँ जरिवाना तिराइएको छ । त्यतिबेला एनसीसी कुमारी बैंकमा मर्ज भइसकेको थिएन ।

यस्तै एनसीसीलाई नगाभ्दै कुमारी बैंकले पनि सहुलियपूर्ण कर्जाको औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको र मुद्दती निक्षेपमा बढी ब्याज दिएको भन्दै तत्कालीन सीईओलाई पनि सचेत गराइएको छ ।

सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐन निर्देशनको उल्लंघन गरेको सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकलाई १० लाख रूपैयाँ नगद जरिवाना गरिएको केन्द्रिय बैंकले जनाएको छ ।

यस्तै तत्कालीन सेञ्चुरी कमर्सियल बैंकले पनि कर्जा निक्षेप अनुपात कायम नगरेपछि २ करोड ४ लाख रूपैयाँ जरिवाना तिर्नुपरेको छ । सेञ्चुरीले साउन र भदौको सीडी रेसियो कायम गरेको थिएन ।

नेपाल बैंकलाई १ लाख ५९ हजार रूपैयाँ जरिवाना तिराइएको छ । यसले साउनको सीडी रेसियो उल्लंघन गरेको थियो ।

राष्ट्र बैंकले नबिल बैंकबाट पनि ६ करोड ४६ लाख ४५ हजार रूपैयाँ जरिवाना लिएको छ । नबिलले साउन, भदौ र असोजमा सीडी रेसियो उल्लंघन गरेको थियो ।

ग्लोबल आईएमई बैंकले भदौ र असोजको सीडी रेसियो कायम नगर्दा ४ करोड ४२ लाख जरिवाना तिर्नुपरेको छ ।

कृषि विकास बैंकले भदौ महिनाको सीडी रेसियो कायम नगर्दा ६९ लाख ५८ हजार रूपैयाँ नगद जरिवानामा परेको छ ।

यता हिमालयन बैंकले पनि भदौको सीडि रेसियो कायम नगर्दा ७१ लाख ७२ हजार रूपैयाँ नगद जरिवानामा परेको नेपाल राष्ट्र बैंक सुपरिवेक्षण विभागले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News