
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा राजविराजस्थित सप्तरी जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको बिहीबार राति मृत्यु भएको छ ।
खुट्टा सुन्निएपछि उपचारका लागि कोसी अस्पताल विराटनगर पुर्याइएका महदेवा गाउँपालिका ३ का ५४ वर्षीय कैदी मिथिलेश यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
खुट्टा सुन्निएपछि बिहीबार दिउँसो उनलाई राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा भर्ना गरिएको थियो । यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि कोसी अस्पताल विराटनगर लगिएकोमा उपचारका क्रममा बिहीबार राति उनको मृत्यु भएको हो ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पाँच वर्ष कैद भई २०७७ साल चैत ११ गतेदेखि उनी सप्तरी जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका थिए ।