
नेकपा एसका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशले राजनीतिक स्थिरता चाहेको बताएका छन् ।
जनकपुरधाममा नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा नेकपा एस मधेश प्रदेशद्वारा आयोजित नेपाल कम्युनिष्ट आन्दोलनको उपलब्धि, चुनौती र सम्भावना विषयक विचार गोष्ठी कार्यक्रममा नेता खनालले सो कुरा बताएका छन् । ‘राजनीतिक रुपले हामीले स्थिरता दिन सकेका छैनौँ,संवैधानिक रुपले एउटा स्थिर बिन्दुमा आयो तर राजनीतिक रुपमा अझै स्थिरतामा पुगिसकेको छैन।’,उनले भने । मुलुकको विकास निर्माणका कुरामा आम जनताले चाहेका इच्छायाएका कुराहरुको पूर्ति गर्नु अहिलेको ठूलो चुनौती रहेको उनले बताए । अहिले देशमा राजनीतिक, आर्थिक, सामाजिक लगायतको विभिन्न क्षेत्रमा संकटहरु बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै राष्ट्रियता माथि समेत खतरा बढिरहेकोछ, यस्तो संवेदनशील समयमा सम्पूर्ण वामपन्थीहरु एकजुट हुनुपर्ने भए पनि र वामपन्थीहरु एकतावद्ध हुन नसक्नु दुर्भाग्यपूर्ण भएको धारणा राखे नेपालको कम्युनिष्ट आन्दोलन केपी शर्मा ओलीले समाप्त पारेको आरोप समेत उनले लगाए । एमालेमा शुरु देखिनै गुटबन्दी र पँुजीवादको नेतृत्व गरेको ओलीले पार्टी नै बर्वाद पारेको उनले टिप्पणी गरे ।
मदन भण्डारी फाउन्डेशनको नाममा पार्टी भित्र गुटको र ओलीको व्यक्तिगत स्वार्थपूर्ति गर्ने कार्य मात्र भएको आरोप लगाउँदै उनले भने,‘नेकपा एसको विचारधारा अपनाउन चाहे मात्र कसैसंग एकता हुन्छ अन्यथा पार्टी एकताको कुनै सम्भावना छैन।’ कार्यगत एकता भने एमाले, जसपा र विप्लवसंग पनि हुन सक्ने उनले प्रष्ट्याए । विद्रोहको जगमा बनेको एकीकृत समाजवादी पार्टीले नेपालको आजको आवश्यकता अनुरुपका कार्यदिशा ,नीति लक्ष्य लिइ काम गर्नुपर्ने र सोही अनुसार हामीले काम गर्दै आएको दाबी गर्दै उनले भने,‘हामी अहिले निर्माणकै प्रक्रियामा छौं क्रान्तिकारी दिशामा अगाडि बढ्न चाहन्छौं हामी उग्र दक्षिणपन्थी अथवा उग्रवामपन्थीको दिशामा पनि होइन हाम्रो आफ्नै धार छ।’ दुई तिहाई बहुमतको ऐतिहासिक उपलब्धि सम्हाल्न नसक्नु, पार्टी विभाजन मात्र होइन एमालेको पनि अवस्था पनि नाजुक हुँदै गए पनि ओलीमा भने कुनै सुधारको संकेत नदेखिनुले एमालेको बर्वादीको संकेत प्रष्ट रुपमा देखिएको उनले जिकिर गरे । २०१७ सालदेखि २०२८ साल १० वर्षमा सामन्ती राजाले जनताको हितमा गरेको विकासका काम त्यसपछि कुनै पनि पार्टीले गर्न नसक्दा जनतामा विचलन आएको उनले स्पष्ट पारे ।
पूर्व प्रधानमन्त्री खनालले पछिल्लो निर्वाचनपछि हाम्रो देशको संसदमा चाहे संघीय होस या प्रदेश सबैतिर त्रिशंकु संसद तयार भएको टिप्पणी गरेका छन् । ‘विभिन्न पार्टीहरुले गठजोर बनाउँदै सरकार बनाउने प्रक्रिया जारीरहेको छ । अहिले पनि सरकार बनाउने प्रक्रिया टुंगिएको छैन चाहे संघ सरकार होस या प्रदेशमा भन्नुस त्यो प्रक्रिया अहिले पनि जारी छ ।’,उनले भने । ७५ वर्ष पहिला स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले अहिले सम्मको यात्रामा नेपालमा ठूल–ठूला प्रगतिहरु गरेको स्मरण गराउँदै नेता खनालले भने,‘देश अहिले जुन अवस्थामा पुगिसकेको छ त्यस्तो बेलामा नीतिगत हिसाबले एकतावद्ध हुनु आवश्यक थियो तर सो हिसाबले वामपन्थीहरु एकजुट हुन सकिरहेका छैन जुनकी दुखदायी कुरो हो।’ त्यसैले पार्टी स्थापना दिवसको सन्दर्भमा हाम्रो पार्टी यसका सम्पूर्ण कम्युनिष्टहरुलाई नीति सिद्धान्त र लक्ष्यको हिसाबले एकतावद्ध भइ एउटा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्न र यो देशलाई सामाजवादको दिशातर्फ अगाडि बढाउनका लागि आह्वान गर्दछु।’उनले बताए । देशमा समाजवाद स्थापना नभएसम्म मान्छेले मान्छेमाथि गरिरहेको शोषण ,दमन अन्याय र अत्याचारलाई समाप्त पार्न नसकिने भन्दै नेता खनालले अन्याय ,विभेद र अत्याचार विरुद्धको अन्तिम समाधान भनेकै समाजवादको स्थापना हो भनेर उनले प्रष्ट पारे । अहिले जुन देखाउनका लागि मात्रै समाजवादको कुरा गरिंदैछ त्यसले परिवर्तन कहिल्यै पनि सम्भव नरहेकोले वामपन्थीहरु सचेत हुनुपर्ने आवश्यकतामा उनले जोड दिए ।
कार्यक्रममा पार्टीको मधेश प्रदेश इन्चार्ज धर्मनाथ प्रसाद साह, नेता सत्रुधन महतो, प्रदेश सांसदद्वय गोविन्द न्यौपाने, लाल गोइत, सुधिर साह, दीपेन्द्र यादव, राजकुमार यादवसहितको उपस्थिति रहेको थियो ।