अपडेट 
२०८० बैशाख १०, आईतवार ०७:२३

त्रेता युगमा अत्याचारी राजा तथा क्षत्रीयहरूको संहार गरी धर्म स्थापना गर्न भगवान् विष्णुले परशुरामका रूपमा अवतार लिएका थिए । वैशाख शुक्लपक्ष तृतीया तिथिको सन्ध्याकालमा राजा प्रसेनजितकी छोरी रेणुका र भृगु वंशीय ब्राह्मण ऋषि जमदग्निका पञ्चम (कनिष्ठ) सुपुत्रका रूपमा भगवान् परशुरामको जन्म भएको थियो । त्यसैले प्रत्येक वर्ष वैशाख शुक्लपक्षको सूर्यास्तकाल छुने तृतीया तिथिमा भगवान् परशुरामको जन्मजयन्ती (परशुराम जयन्ती) मनाउने गरिन्छ ।

परशुरामलाई भगवानका मुख्य दश अवतारमध्ये छैटौं अवतार मानिन्छ । इतिहास–पुराणअनुसार परशुराम भगवानको अंशावतार हो । सुरुमा जमदग्निपुत्रको नाम राम थियो । उनी भगवान् शिवका परम भक्त तथा शिष्य थिए । भगवान शिवबाट शिक्षा, वरदान र एक अमोघ अस्त्र परशु (बन्चरो) प्राप्त गरे । यही परशु धारण गरेपछि उनको नाम परशुराम भएको विश्वास गरिन्छ । भगवान शिवले उनलाई आफ्नो पिनाक धनु पनि प्रदान गरेका थिए । ब्राह्मण कुलमा ऋषिपुत्रका रूपमा जन्म भए पनि उनीमा क्षत्रीय गुण विद्यमान थिए । परशुरामका पिता ऋषि जमदग्नि अत्यन्त तेजस्वी र ब्रह्मवेत्ता थिए । उनका चार अग्रज रुक्मवान्, सुषेण, वसु र विश्वावसु थिए । एक दिन माता रेणुकाले गङ्गास्नान गरी घर फर्कंदै गर्दा गङ्गाकिनारमा गन्धर्वका राजा चित्ररथ स्वर्गका अप्सराहरूका साथमा केलिक्रीडा गरिरहेका थिए । रेणुकालाई उनीहरूको लोभलाग्दो आलिङ्गनले तन्मय बनायो र आश्रम पुग्न विलम्ब भयो । ऋषि जमदग्निले दिव्यदृष्टि लगाए । उनका नेत्र क्रोधाग्निले राता भए । र, छोराहरूलाई बोलाई कामवासनामा आशक्ति राख्ने आमालाई मार्न आदेश दिए । रुक्मवान्, सुषेण, वसु र विश्वावसु पिताको आदेश मान्न तयार भएनन् । रिस थाम्न नसकी चारै भाइलाई तत्काल जडबुद्धि हुने सराप दिए । त्यसपछि परशुरामलाई बोलाई आमालाई तत्काल मार्ने आदेश दिए । परशुरामले पिताको आज्ञा अनुसार आमालाई परशु प्रहार गरी तत्काल वध गरिदिए । कनिष्ठ पुत्र परशुरामसित जमदग्नि प्रसन्न भइ इच्छित वर माग्न आग्रह गरे । पिताको तपोबल र सामथ्र्यसँग परिचित परशुरामले विनम्रभावले आमाको पुनर्जीवन र अग्रजहरूको श्रापमोचन हुने वरदान मागे । ऋषि जमदग्निले परशुरामको आज्ञाकारिता र चतुर्याइँबाट प्रसन्न भई इच्छाएको वर प्रदान गरे ।

जमदग्निले परशुरामलाई चिरञ्जीवी हुने वरदानसमेत दिए । एक दिन ऋषिको आश्रममा पुरुष नभएको मौका पारी हैहय देशका राजा कार्तवीर्य आइपुगे । आश्रममा कामधेनु गाई थियो । जे माग्यो त्यही दिने गाई देखेर राजाले जसरी पनि गाई हत्याउने विचार गरे । यस्तो गाई बाहुनका कुटीमा होइन, राजाका दरबारमा चाहिन्छ भनी बलजफ्ती गाईलाई घिच्याए । रोक्न खोज्दा ऋषिपत्नी रेणुकालाई लछारपछार पारे । आश्रममा तोडफेड र लुटपाट मच्चाए । परशुरामले युद्ध गरी कार्तवीर्यका सहस्रबाहु छेदन गरे र कामधेनु छुटाएर ल्याए । परशुराम नभएको मौकामा कार्तवीर्यका छोरा सेना लिएर आए र विध्वंस मच्चाई ऋषि परिवारको हत्या गरे। परापूर्व कालदेखि अन्याय, अत्याचार र हिंसा लगायत निरंकुश तानाशाही आसुरी प्रवृत्तिका विरुद्ध समाज एकजुट हुँदै आएको इतिहास छ । शक्तिको उन्मादले मानिसमा अहंकार जाग्दछ । त्यो अहंकारले सत्य, धर्म, प्रेम, सदाचार, अहिंसा जस्ता गुणहरूलाई बिर्साइदिन्छ र मानिस विषय वासना र स्वार्थले अन्धो बनिदिन्छ । पुराणहरूमा वर्णित प्रसंग अनुसार हैहय देशका राजा कार्तवीर्य भगवान् दत्तात्रेयको आशीर्वाद र लक्ष्मीनारायणका कृपाले हजार हातले युक्त सहस्रबाहु, दिग्विजयी र अतुल वैभवशाली भएका थिए । संसारमा अविजित सहस्रार्जुन नाउँले विख्यात उनमा बिस्तारै अभिमानको घडा भरिन थाल्यो । राजा कार्तवीर्यले विगतमा पुण्यकर्मद्वारा प्राप्त भगवत्कृपालाई बिर्सेर भोगविलास र स्वार्थमा प्रयोग गरे । पृथ्वीका समस्त क्षत्रीय राजाहरूलाई समेत आफ्नो मुट्ठीमा पारी शोषण गर्न उक्साइरहे ।

धर्मका संरक्षक राजाहरू आफैं अन्याय, अत्याचार र लुटपाट गर्न उद्यत रहे । संसारभर ऋषिकुल, गुरुकुल, ब्राह्मण समाज र साधुसन्तहरू भयाक्रान्त हुन थाले । तत्कालीन समाजमा सहस्रार्जुनलगायत क्षत्रीय राजाहरूले पृथ्वीमा अन्याय, अत्याचार र धर्मको नाश गरी शासन गरेको हुँदा परशुरामले अत्याचारी क्षत्रीयहरूको अभिमान, घमण्ड र अहङ्कारलाई निस्तेज तुल्याई भूभार हरण गर्ने संकल्प गरी परशु उठाए । सहस्रार्जुन जस्ता अत्याचारी क्षत्रीय राजाहरूको संहार गरी पृथ्वीको भार हरण गरे । ऋषिगण क्षत्रीयहरूलाई गर्भदेखि संरक्षण गर्दै राजा बनाउथ्यो, परशुराम वध गर्दै पृथ्वीलाई क्षत्रीयविहीन तुल्याए । यस क्रममा परशुरामले २१ पटक पृथ्वीका क्षत्रीयहरूको संहार गरे । यसरी संहार गर्दा क्षत्रीयहरूको रगतले नौ वटा तलाउ भरिएको प्रसंग इतिहास–पुराणमा वर्णित छ । परशुरामले क्षत्रीयहरूको वध गर्दा जम्मा भएको रगतले पितृहरूलाई तर्पण दिन्थे । ऋषिगणले क्षत्रीयको अस्तित्व बचाउन अनेक प्रयत्न गरे । अन्तिमपटक कश्यप ऋषिले समग्र पृथ्वीलाई दानका रूपमा ग्रहण गरे र अब मेरो भूमिमा रात्रिकालमा वास नबस्नुहोला भनेपछि परशुराम महेन्द्रपर्वतमा निवास गर्न थाले । परशुरामको नृशंस क्रियाकलापले वनका पितृगण समेत दुःखी थिए । र, अन्त्यमा पितृलोकबाट वनका पितामह ऋचिक स्वयम् सम्झाउन आए । अब युद्ध त्यागी ऋषि परम्परा अनुसार ज्ञानमार्गमा लाग्नू भनी उपदेश दिएर फर्के । त्यसपछि परशुरामले युद्ध छाडी तपस्या गर्ने निर्णय लिए । युद्ध छोडेपछि परशुरामले गुरुकुल संवर्धन गरे । अनेक यज्ञकर्म गरे र तपोबलले पिताको मस्तक शरीरमा स्थापित गरी जीवित तुल्याए ।

महर्षि जमदग्नि जीवित भए र सप्तर्षिका बीचमा पञ्चम स्थान प्राप्त गरे । युद्ध छाडेपछि परशुरामले भगवान् शिवको पिनाक धनु मिथिलामा राजा जनकका दरबारमा राख्न लगाए । सामान्य व्यक्तिले हल्लाउन पनि नसक्ने उक्त धनु जनकनन्दिनी सीताले उठाई उक्त स्थान लिपपोत गरेपछि राजर्षि जनकले शिवको धनुष उठाई ताँदो चढाउन सक्ने वीर पुरुषलाई मात्र छोरीको हात सुम्पने उद्घोष गरेको रामायणमा उल्लेख छ । स्वयंवर समारोहमा संसारका वीर पुरुष, पराक्रमी राजा र राजकुमारको परीक्षा भयो । सबैले हार खाएपछि राजर्षि जनकलाई योग्य वर नभेटिने चिन्ताले सताएको थियो । जब अवधकुमार भगवान् श्रीरामचन्द्रको पराक्रमले पिनाक धनु तीन टुक्रा भयो । राम–जानकीको मिलनले राजर्षि जनकको चिन्ता हरण भयो, सर्वत्र श्रीरामको प्रशंसा हुन थाल्यो। पिनाक धनु टुक्रिएको खबरले परशुराम आफ्ना गुरु तथा आराध्यदेवको अपमान भएको भन्दै क्रुद्ध भएर मिथिला आइपुगे । मर्यादा पुरुषोत्तम श्रीरामले परशुरामलाई शान्त बनाइ दिव्यदृष्टि प्रदान गरे । श्रीरामले दिव्य बाणद्वारा तेज, शक्ति र सामथ्र्य खिचे र आफ्नो पूर्ण परिचयका साथ अंशावतारको भूमिकाबाट मुक्त गराए । भगवान् श्रीहरिका अंशावतार जामदग्न्य श्री परशुराम अद्यापि जीवित छन् र कल्पान्त अमर छन् ।

अष्टचिरञ्जीवीमध्ये प्रतिष्ठित एक चिरञ्जीवी छन् । समग्र मानवजातिलाई भगवानले अवतार लिएको दिवस परम कल्याणदायी मानिन्छन् । यसर्थ इतिहास, पुराण एवं धर्मशास्त्रहरूमा यस्ता क्षणहरूलाई उत्सवका रूपमा मनाउन निर्देश गरिएको छ । भगवानको जन्मोत्सव भएको हुनाले परशुराम जयन्ती दिन प्रातः स्नान गरी ‘मम ब्रह्मत्वप्राप्तिकामनया परशुरामपूजनमहं करिष्ये’ भनी संकल्प गरी दिनभरि मौनव्रत बस्ने र सन्ध्याकालमा पुनः शरीर शुद्धिका साथ परशुरामको पूजा गर्ने विधान छ ।

Comment


Related News

Latest News

Trending News