
धनुषा प्रहरीले दुई जना पेशेवर चोरलाई पक्राउ गरेको छ ।
आइतबार प्रहरीले चोरी गरेको सामानसहित उनीहरुलाई सार्वजनिक गरेको छ । जनकपुरधाम उपमहानगरपालिका मुरली चोकबाट अर्जुन कुमार साह र समीर राइनलाई प्रहरी पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार उनीहरुले यही बैशाख ५ गते जनकपुरधाम उपमहानगरपालिका– ४ का जटाशंकर झा र उनको घरमा भाडा लिइ बस्ने गुडिया शर्माको कोठा तोडफोड गरी चोरी गरेका थिए ।
प्रहरीले उनीहरुको साथबाट ४७ हजार, सुनको झुम्का एक जोर, चाँदीको पाउजु र चोरीमा प्रयोग गर्ने औजारहरु बरामद गरेको छ । यद्यपि,उनीहरुले चोरी गरेको सबै सामान प्रहरीले बरामद गर्न सकेको छैन । चोरी गरेका समान बिक्री गर्नका लागि उनीहरुले अरु व्यक्तिमार्फत भारत पठाइएको प्रहरीको शंका छ । यस घरबाट उनीहरले दुई थान (१२) अना सुनको झुम्का, सुनको हनुमानी २ आनाको, कानमा लगाउने सुनको टप दुई आनाको, चाँदीको पायल, नेपाली रुपैयाँ १६ हजार र सोनी कम्पनीको क्यामरा चोरी भएको थियो । यस्तै, सोही घरमा भाडा लिएर बस्ने गुडियाको घरबाट सुनको झुम्का आठ आनाको, दुई आनाको चार वटा कानमा लगाउन बाली, तीन सय २४ तोला चाँदीको गहना र पायल चोरी भएको थियो ।
उनीहरुले यसअघि फागुन २६ गते जनकपुरधाम उपमहानगरपालिका– ४ आन्नदनगरमा डा. मुकुन्द झा र सोही महिनाको ३ गते जनकपुरधाम उपमहानगरपालिका– ७ दीपेन्द्र कुमार रायको घरमा चोरी गरेको स्वीकार गरेका छन् । झाको घरबाट सुन चाँदीको गहना, ३० हजार नेपाली र एक हजार अमेरिकी डलर चोरी गरेका थिए । रायको घरबाट एक लाख ५० हजार अमेरकी डलर, आठ हजार भारु र सुनको गहनाहरु चोरी गरेका थिए । पक्राउ परेका दुबै जना पेशेवर चोर रहेको प्रहरीको दाबी छ । ‘उनीहरु चोरी गरेरै जिविका चलाउँछन् । एक पटक पक्राउ परेर जेल जान्छन्,’डिएसपी गौतमले भने,‘ऋण लिएर धरौटी बुझाएर छुट्छन् । र, त्यो पैसा तिर्न फेरि चोरी गर्ने गरेको देखिन्छ ।’