अपडेट 
२०८० बैशाख ११, सोमबार ०७:३२

वीरगञ्जस्थित महावाणिज्य दूतावासको कार्यालयका महावाणिज्यदूत नितेश कुमारले नेपाल रेल्वेलाई बर्दिवाससम्म विस्तार गर्न कठिनाइ भइरहेको जिकिर गरेका छन् ।

आइतबार जनकपुरधाममा अवध मिथिला फाउन्डेशनले आयोजना गरेको उद्घाटन तथा वृह्त् सरसफाइ कार्यक्रममा महावाणिज्यदूतले सो कुरा बताएका छन् । ‘अहिले जुन रेल सञ्चालनमा छ त्यसैलाई बर्दिवास सम्म पु¥याउने केही समस्याहरु देखिएको छ ,तथापि छिट्टै अगाडि सम्म पुग्नेछ।’ काठमाण्डु रक्सौल रेल सेवा सञ्चालनको लागिसमेत कुरो अगाडि बढिसकेको बताउँदै उनले भने,‘काठमाण्डु रक्सौल रेल सेवा सँचालन हुनेछ तर यसमा केही समय लाग्न सक्छ।’ अयोध्याबाट जनकपुरधामसम्म चल्ने बसहरु बिग्रेको जानकारी दिँदै उनले भने,‘बस संचालनको लागि पनि चर्चा भइरहन्छ, जे सुकै भए पनि दुबै देशबीचको धार्मिक पर्यटकीय गन्तव्यहरुको कनेक्टिभिटी बढोस भन्ने चाहना त हो।’ भावनात्मक रुपमा दुबै देशका नागरिकहरु जहिले पनि एउटै महशुस गर्दै आएको बताउँदै भौत्तिक रुपमा पनि दुबै देशबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास उनले व्यक्त गरे । उनले सरसफाई कुनै एक नागरिकको नभई सबैको जिम्मेवारी रहेको बताए । स्वच्छतामै भगवानको बास हुने गरेको बताउँदै उनले भने,‘कुनै पनि एक जनाले गरेर सरसफाइ सम्भव छैन त्यसैले सबै जनाले सफाईलाई जिम्मेवारीको रुपमा लिनु पर्छ र यसलाई एउटा सिष्टममा ल्याउनु पर्छ अन्यथा जति सुकै मिहनेत गरे पनि कुनै खासै उपलब्धि हुँदैन ।’

फाउन्डेशनका अध्यक्ष डा.पुरुषोत्तम ठाकुरको सभापतित्वमा भएको सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह,वडा अध्यक्ष परमेश्वर साह,तात्कालीन जनकपुर नगरपालिका मेयर बजरंग प्रसाद साहलगायतका व्यक्तिहरुले आ–आफ्नो धारणा राखेका थिए । फाउन्डेशनको आयोजनामा यस अघि रंगभूमि मैदान (बारहबिघा)मैदानमा वृह्त् सरसफाइको आयोजना गरिएको थियो । सो कार्यक्रममा स्थानीय विभिन्न कलेजका विद्यार्थीहरु,सरसफाइ अभियन्ताहरुको सहभागिता रहेको थियो ।

Comment

Related News