अपडेट 
२०८० बैशाख ११, सोमबार ०७:४१

बारा निर्वाचन क्षेत्र नम्वर २ मा आइतबार शान्तिपूर्णरुपमा उपनिर्वाचन सकिएको छ ।

सम्पन्न उपनिर्वाचनमा ६५ प्रतिशत भन्दामाथि मतदान भएको प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । बारा निर्वाचन क्षेत्र नम्वर २ बाट विजयी भएका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन गरिएको थियो । उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहालगायत ३४ जनाले निर्वाचनमा भाग लिएका थिए । महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाँउपालिकाको ४४ वटा वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार ९ सय ३४ पुरुष र ४६ हजार ३ सय १४ महिला गरी कुल एक लाख ५ हजार २ सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज कुमार चौधरीले जानकारी दिए । स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न बारा निर्वाचन क्षेत्र नम्बर २ मा तीन हजार ६ सय ५ सुरक्षाकर्मी परिचालन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

प्रजिअ सापकोटाकाअनुसार बारा क्षेत्र नम्बर २ मा एक हजार ६ सय ८८ नेपाल प्रहरी, ६ सय ५ सशस्त्र प्रहरी र ३ सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको थियो । बदनियत पुर्वक कसैले मतपेटिकालाई चलाउन, धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता ब्यतिmलाई सिधै गोली हान्न सक्ने गरी सुरक्षाकर्मीहरुलाई निर्देशन दिइएको प्रजिअ सापकोटाले बताए । आइतबार सम्पन्न उपनिर्वाचन बिथोल्ने प्रयास गरेका देवताल गाँउपालिका वडा नम्बर ७ पिपरपाती बुथ केन्द्रबाट ५ जनालाई पक्राउ पनि गरिएको छ । पक्राउ पर्नेहरुमा रौतहट जिल्ला बौधीमाई गाँउपालिका वडा नम्बर ४ का ४७ वर्षीय बृजकिशोर प्रसाद यादव, रौतहट बृदाबन नगरपालिका वडा नम्बर १ का ४२ वर्षीय दायाराम राउत, सोही नगरपालिकाको वडा नम्बर ४ का ३५ वर्षीय उमेश यादव, बारा जिल्ला प्रसौनी गाँउपालिका वडा नम्बर ४ का ३८ वर्षीय मंगलप्रसाद साह र बारा देवताल गाँउपालिका वडा नम्बर ७ का ६२ वर्षीय रामसागर यादव रहेको प्रहरी प्रवतmा पूरुषोतम सिंह पाण्डेयले जानकारी दिए ।

मतगणना स्थलमा तारजाली

आइतबार सम्पन्न भएको बारा निर्वाचन क्षेत्र नम्वर २ को मतगणना स्थललाई तारजाली लगाइनुका साथै सीसीटिभीले निगरानी गर्ने भएको छ । मतदान कार्य शन्तिपूर्ण तरिकाले सम्पन्न भएपछि मतपेटिकाहरुलाई शील गरेर मतगणना हुने स्थलतर्फ ल्याइएको छ । मतगणना कलैया उपमहानगरपालिका वडा नं.३ गंगापुर स्थित शिक्षा तालिम केन्द्रमा हुने जनाइएको छ । २५ कि.मि. टाढा सम्मबाट मतपेटिका ल्याउनुपर्ने भएकाले राति करीब ९ बजेसम्म मतपेटिका गणना स्थल सम्म पुग्न सक्ने अनुमान गरिएको थियो । ८२ वटा मतदान स्थलहरुबाट शान्तिपूर्ण मतदान गराउनको लागि एक सय ३७ वटा मतदान केन्द्रहरुबाट मतपेटिका ल्याउनुपर्ने छ । सर्वपक्षीय बैठकपछि मतगणनाको समय निर्धारण गरिने बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए ।

Comment

Related News

Latest News

Trending News