अपडेट 
२०८० बैशाख १३, बुधबार ०७:४६

नापी कार्यालय धनुषाका कार्यालय प्रमुख सुमनकिशोर मिश्र सेवाग्राहीसंग कुटिएका छन् ।

मंगलबार कार्यालय पुगेका सेवाग्राहीहरुको काममा बिना मतलब ढिलासुस्ती गरेको भन्दै आक्रोशित सेवाग्राहीहरुले कुटपिट गरेको एक पीडित कर्मचारीले नाम नखुलाउने शर्तमा जनाए । कागज पत्र दुरुस्त रहँदा पनि काम किन नगरिदिएको भन्दै एक सेवाग्राहीले केही व्यक्तिको समूहमा आएर एकाएक नापी कार्यालयका प्रमुख मिश्र र कर्मचारी दिलीप साहमाथि हातपात गरेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । ‘लटु यादव नामको व्यक्तिको नेतृत्वमा आएको व्यक्तिहरुले हामीमाथि हातपात गरे ’ प्रमुख मिश्रले भने, अचानक आएर दुई तीन झापड मलाई नै हाने ।’,उनले भने ‘हामी काममा व्यस्त थियौँ लटु यादवलगायतका केही व्यक्तिहरु कार्यालयमा पसे र भरिएको पानीको बोतलले प्रहार गर्नुका साथै थप्पड पनि हिर्काए ।’

नापीका कार्यालय प्रमुख मिश्रकाअनुसार त्यहाँका कर्मचारीद्वय दिलीप साह र प्रदीप साहमाथि पनि हातपात गरिएको छ । मिश्रले भने,‘लटु यादवले आफ्नो ससुराको जग्गाको पूर्जा बनाइ दिनका लागि आग्रह गरेका थिए । मैले बिना सरजमिनको कुनै काम नगर्ने भनेपछि त्यसको भोलिपल्ट कार्यालय भित्र गुण्डाशैलीमा पसेर म समेत कर्मचारीमाथि हातपात गरे ।’ फिल्डबुकमा लटु यादवका ससुरा रामश्रेष्ठ यादवको नाममा जग्गा रहे पनि त्यो पाना काटिएकाले त्यसलाई सच्याउन सर्जमिन गर्नैपर्ने अडान लिएपछि हातपात गरिएको नापी प्रमुख मिश्रले बताए । आफूहरु हातपात गर्नेमाथि सार्वजनिक अपराधको मुद्दा दिने तयारी गरेको कार्यालयका प्रमुख मिश्रले जनाए । तर लटु यादवले आफूसित कार्यालय प्रमुखलगायत कुनै कर्मचारीको सामान्य विवादसमेत नभएको बताएका छन् ।‘कार्यालयमा जडान गरिएको सीसीटीभीको फुटेज र त्यहाँ रहेका सेवाग्राहीहरु पनि साक्षी छन् ’ उनले भने, अनावश्यक रुपमा कसैमाथि आरोप लगाउन कार्यालय प्रमुखलाई सुहाउँदैन् ।

अदालतको फैसला र जग्गा प्रमाणित गर्ने अनेकौ निस्साहरु हुँदा पनि कार्यालयको अभिलेख दुरुस्त नरहेको नाममा अनावश्यक दुख दिइरहेको पीडित सेवाग्राहीले जनाए । यता कुनै पनि काम गर्नका लागि प्रमुखले अवैध रकम माग्ने गरेकोले आक्रोशित भएर सेवाग्राहीले कुटेको नाम नखुलाउने शर्तमा एकजना कर्मचारीले बताए । कार्यालय प्रमुखमा मिश्र आएदेखि नै यस्ता विवाद दिनदिनै हुने गरेको ती कर्मचारी स्रोतले जनाएका छन् । मिश्रको कार्य गर्ने शैलीले सेवाग्राहीहरु आजित बनेका छन् । बिना घुस नापी कार्यालयमा कुनै पनि काम अगाडि नबढ्ने वातावरण बनेपछि सेवाग्राहीहरु आक्रोशित हुने गरेका छन् । एक दिनमै हुने काममासमेत अनावश्यक कयौं दिन लगाउने र घुस नदिनेको कामै नहुने गरेको बताइन्छ ।

Comment


Related News

Latest News

Trending News