अपडेट 
२०८० बैशाख १३, बुधबार ०७:५३

जिल्ला प्रहरी कार्यालय धनुषाले नक्कली नेपाली रुपैयाँको कारोबारमा संलग्न रहेका २ जनालाई मंगलबार पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका – ७ जिरोमाईलमा शंकाष्पद रुपमा देखिएकी एकजना महिलालाई चेकजाँचगर्दा ७ लाख ७१ हजार नक्कली नेपाली नोट बरामद भएको धनुषाका प्रहरी प्रमुख एसपी विश्व राज खड्काले जनाएका छन् ।‘चोकमा शंकास्पद रुपमा रहेकी महिलाको पर्स चेकजाँचगर्दा १ हजार र ५ सय दरको नक्कली नोट बरामद भएको हो’ उनले भने, महिलासित थप अनुसन्धान भइरहेको छ । जनकपुरधाम उपमहानगरपालिका– २३ बसपार्कबाट विदेह नगरपालिका ६ की २५ वर्षीया अनुकुमारी साह र वडा नम्बर २ का २५ वर्षीय लंकेश कुमार साहलाई पक्राउ गरेको हो ।

बसपार्कमा अनु कालो ब्याग बोकी हिडडुल गरिरहँदा प्रहरी चौकी जिरोमाइलको टोलीले चेकजाँच गरेका थिए । उनले बोकेको ब्यागमा नेपाली सक्कली रुपैयाँ जस्तो देखिने ७ लाख ७१ हजार ५ सय नक्कली नोट बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जनाए । उनकाअनुसार महिलाको साथबाट नक्कली हजारको नोट ४ सय ९२ थान र ५ सयको नक्कली नोट ५ सय ५९ थान बरामद भएको छ । सबै रकममा नोट नम्बर पनि लेखिएको छ । थप अनुसन्धानको क्रममा अनुको साथी लंकेशलाई घरबाट पक्राउ गरिएको छ । लंकेश र अनुको सम्बन्धबारे खुलेको छैन् । तर प्रहरीको प्रारम्भिक अनुसन्धानले दुबै जना साथी भएर काम गर्ने गरेको खुलेको छ ।

उनीहरुले भारतबाट १ लाख दिइ २ लाख नक्कली नोट साटेर ल्याएको प्रहरी समक्ष स्वीकार गरेका छन् । तर भारतमा कुन व्यक्तिसँग ल्याएको भने प्रहरीले खुलाएका छैनन् । उनीहरुको पहिले पनि यसप्रकारको काममा संलग्नता हुन सक्ने प्रहरीको शंका छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । केही दिन पूर्व सर्लाहीको बिभिन्न स्थानबाट नेपाली नक्कली नोटसहित केही मानिस पक्राउ परेका थिए ।त्यस क्रममा प्रहरीले सर्लाहीको बरहथवा नगरपालिकाबाट नक्कली नेपाली नोट छाप्ने मेसिनसमेत बरामद गरेका थिए । धनुषा प्रहरीले पक्राउ गरेका अनु र लंकेशले भारतबाट १ लाख सक्कली नेपाली नोट दिएर २ लाख नक्कली नेपाली नोट लिएको बताएका छन् ।उनीहरुले भारतबाट नक्कली नोट साटेर ल्याएपनि बिस्तृत विवरण नखुलाएको प्रहरीले जनाएको छ ।

नक्कली नोटको धन्धामा ठूलै गिरोह संलग्न भएको हुन सक्ने प्रहरीको आशंका छ ।पक्राउ परेकाहरुको बयान लिने र त्यस आधारमा अनुसन्धान गर्न कार्य भइरहेको बताइएको छ । प्रहरीले नेपाली १ हजार र ५ सय दरको नोटको कारोबारगर्दा राम्ररी जाँच गर्न आग्रह गरेको छ ।

धनुषा प्रहरीले पछिल्लो ३ हप्तामा ठूलो कलसेन्टर र अनलाईन ठगी गर्ने गिरोहलाई पक्राउ गरेको थियो ।प्रहरीले सकृयता बढाएसँगै विगतमा धनुषालाई सेल्टर बनाएर अपराधिक कारोबार सञ्चालन गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन् ।जनकपुरधामबाट ठूलो अपराधिक धन्धा सञ्चालन हुन सक्ने आशंका प्रहरीले समेत गर्न नसक्ने बुझाईका साथ गिरोहहरु सक्रिय रहेको बताइन्छ ।

Comment


Related News