अपडेट 
२०८० बैशाख १३, बुधबार ०८:०४

विगतका दिनमा चिनियाँ निर्माण कम्पनीहरुको बारेमा नेपालमा एउटा आम धारणा विकसित भईसकेको थियो कि चिनिया निर्माण कम्पनीहरु समयमै आफनो ठेक्कालाई सम्पन्न गर्छ, यीनले निर्माण गरेका भौतिक संरचनाहरु ठोस हुन्छ तथा चिनियाहरु अनुशासित, मिलनसार र व्यवहारिक पनि हुन्छन्, तर उपरोक्त धारणा अब आधारहीन र मिथ्या सावित भईरहेका छन् । चिनियाँ ठेकेदारहरु अब दोब्बर–तेब्बर समय लगाएर आफनो जिम्मेवारीका ठेक्काहरु सम्पन्न गरिरहेका छन् । यसको निम्ति स्थानीय जनताले नेपाल सरकारलाई र नेपाल सरकारले पटक पटक चिनिया निर्माण कम्पनीलाई ताकेदा गर्नुपर्ने हुन्छ । अब चिनिया ठेकेदार, इन्जिनियर तथा मजदुरहरु स्थानीय नेपालीसित झै झगडा र मारपिटका घटना समेत गर्ने गर्दछन् ।

अतिथि सरकारका लागि ख्याति कमाएको नेपालमा अब चिनियाहरुकै गतिविधिकै कारण नेपाली जनताको आक्रोश बढदै गएको छ । चिनिया ठेकेदार इन्जिनियर, कर्मचारी तथा मजदुरसित नेपालीहरुको विवादको घटना सामान्य विषय भईसकेको छ । हालै मुग्लिङ–पोखरा सडक खण्ड निर्माणको ठेक्का लिएको चिनियाँ निर्माण कम्पनी “चाईना कम्युनिकेशन कन्स्ट्रक्शन कम्पनी” लिमिटेडका इन्जिनियर र स्थानीय नेपालीविच हात हालाहालको घटना समेत भएको पाईएको छ । चिनियाँहरुले नेपाली जनतालाई हेप्ने र उपेक्षा गर्ने गरेका कारण स्वाभिमानी नेपालीको रिस उठेपछि विवाद र मारपीटको घटना समेत उत्पन्न भएको पाईन्छ । यस घटनालाई चिनिया ठेकेदार र इन्जिनियरको नेपालीप्रतिको हेपाहा प्रवृतिको विरुद्धमा बुझनुपर्ने हुन्छ । विगतका दिनमा चिनियाँ निर्माण कम्पनीहरु टेण्डर कबोल गर्ने बेलामा अन्य निर्माण कम्पनीहरुको तुलनामा कम रकममा ठेक्का सकार गर्दथे । टेण्डर सकार गर्ने बेलामा चीनका प्रतिष्ठित निर्माण कम्पनीहरुको नाम हुने गर्दछ । टेण्डर सकार गर्दा तत्काल पाईने रकम आफनो गोजीमा राखी हिडिदिन्छ र अपेक्षाकृत कमजोर चिनियाँ निर्माण कम्पनीको हातमा त्यो टेण्डर विक्री गरि दिने गर्दछ । कमजोर चिनिया निर्माण कम्पनीहरुसित पर्याप्त मात्रामा ठुल–ठुला उपकरणहरु हुँदैन, पैसाको पनि अभाव हुन्छ, फलस्वरुप निर्धारित समयमा परियोजनाको निर्माण कार्य सम्पन्न भईरहेको हुँदैन ।

ठेक्का हात पारेको नयाँ कम्पनीले कम मोलमा ठेक्का सकार गरेकोले घाटा लाग्ने अवस्था उत्पन्न भएको, भन्दै आफनो निम्ति भेरिएसन अर्डरको नाममा थप समय र थप रकमको माग गर्न थाल्छन । चिनियाँ ठेकेदारहरु यसको निम्ति नेपालका आफना शुभेच्छु र समर्थकको सहयोग लिन खोज्छन्, त्यहाँवाट पनि सम्भव नभए नेपालस्थित चिनियाँ दुतावासवाट हस्तक्षेप गर्न लगाउँछन र अन्ततः ठेक्काको समय पनि बढन जान्छ र ठेक्काको रकम पनि । नेपालमा चिनियाँ ठेकेदारहरुले समयमै ठेक्का सम्पन्न नगर्नुको प्रमुख कारण त्यो नै मानिन्छ । चिनिया निर्माण कम्पनीकै देखासिकी गर्दै नेपाली ठेकेदारहरु पनि यस प्रकृयालाई अपनाएका छन् फलस्वरुप नेपालका अनगिनत निर्माण कार्यहरु अधुरो अवस्थामा नै छन् । विगत डेढ–दुई दशक देखि त नेपालको शासन सत्तामा चीन समर्थक राजनीतिक शक्तिको बढदो प्रभावकारी भुमिकाका कारण चिनियाँ निर्माण कम्पनीहरुलाई विना “ग्लोबल टेण्डर” नै दर्जनौ ठेक्का प्रदान गर्ने काम भएको छ । चिनियाँ निर्माण कम्पनीहरु यसरी हात पारेको ठेक्का मध्ये एउटा पनि समयमा पुरा भएको उदाहरण छैन जबकी विश्वका प्रायः सबै जसो देशहरुमा “ग्लोबल टेण्डर” आहवान गरी देशलाई आर्थिक लाभ पुग्ने गरी र समयमै निर्माण कार्य सम्पन्न गर्ने विश्व व्यापी मान्यता प्राप्त गरेका निर्माण कम्पनीलाई मात्रै ठेक्का दिने गरिन्छ ।

नेपालले पनि ग्लोबल टेण्डरको मूल्य–मान्यता र परम्परालाई नै निरन्तरता दिनुपर्छ । हाम्रो देशमा पनि पहिला यस्तै हुने गरेको थियो तर चीनको राजनीतिक विचारधारावाट प्रभावित नेपालका राजनीतिज्ञहरु उत्तरी छिमेकीको नाम मात्रै सुने पनि स्वामीभक्ति देखाउन कन्जुस्याई गर्दैनन । मुग्लिङ – पोखरा सडक खण्ड निर्माण परियोजना अन्तर्गत सडकलाई फराकिलो पार्ने काम भईरहेको छ । सडक फराकिलो गर्ने कार्य हुँदा स्थानीय जनता केही समयको निम्ति स्वास्थ माथि नकारात्मक असर पार्ने (धुलो, धुँवा, धुप र घाम) को अत्याधिक सामना गर्नुपर्ने हुन्छ । निर्माण कार्यमा जति बढी विलम्व हुने गर्दछ त्यसको प्रतिकुल प्रभाव तिनको स्वास्थ्यमा पनि पारिरहेको हुन्छ सडकविस्तारको जिम्मा लिएको चिनियाँ निर्माण कम्पनीका ईन्जिनियर लगायतका कर्मचारीको रुखो एवं अशिष्ट व्यवहारका कारण स्थानीय जनता दुःखी र आक्रोशित हुनु स्वभाविकै हो । परियोजनाको निर्माण कार्य लम्बिदैं जाँदा स्थानीय जनता आक्रोशित हुनु पनि स्वभाविक नै हो । आफनो समस्या र पीडालाई चिनियाँ निर्माण कम्पनीका ईन्जिनियर सामु गुनासो पोख्दा उनले स्थानीय नेपाली जनतालाई सम्झाई–बुझाई गरी शान्तवना र आश्वासन दिनुपर्नेमा उल्टै अभद्र व्यवहार गर्न थाले, फलस्वरुप बाद विवाद बढन गएको थियो । स्थानीय नेपाली जनताले बाध्य भएर चिनियाँ ईन्जिनियरको प्रतिवाद गरेका थिए । चिनियाँहरु आफनो पुरानो बानीलाई यहाँ पनि निरन्तरता दिए तथा नेपाल सरकारका भौतिक पूर्वाधार (निर्माण) मन्त्रीलाई गुनासो गरे। झिना–मसिना विवादलाई पनि अतिरिन्जत रुपमा पेश गरी चाईना कम्युनिकेशन कन्स्ट्रक्शनका कम्पनी लिमिटेडले नेपालका मन्त्रीलाई गरेको पत्राचारमा आफनो नागरिकको भौतिक सुरक्षाको माग गर्दै यस्ता घटनाको निरन्तरता सहय नहुने चेतावनी नै दिएको छ ।

यस्ता खाले घटनाका कारण परियोजनाको कार्य प्रगतिमा बाधा उत्पन्न भएको त्यसको जवाफदेही चिनियाँ निर्माण कम्पनीको नहुने भन्दै आफनो ढिला–सुस्ती, कमी कमजोरी र असफलतालाइ ढाक–छोप गर्ने काम गरेको छ । चिनियाँ निर्माण कम्पनीहरु समयमै परियोजनाको निर्माण गर्न सकिरहेको हुँदैन केवल आफनो असफलताको निम्ति बहाना मात्रै खोजी रहेको छ । दशकौं अघि मेलम्ची खानेपानी परियोजनाको निर्माणको सुरुङ निर्माणको ठेक्का लिएको चिनियाँ निर्माण कम्पनीले दशकौं सम्म ठेक्का ओगटी राख्यो तर काम पुरा गर्न सकेन । मेलम्ची परियोजनाको निर्माण स्थलमा नै चिनियाँ ठेकेदार, मजदुर र स्थानीय बीच मारपीटको घटना भएको थियो । झापाको दमकमा निर्माणाधिन औद्योगिक पार्क पनि चिनियाहरुकै द्धारा निर्माण भईरहेको छ । त्यहाँ पनि स्थानीय जनताले कतिपय विषयलाई लिएर विरोध प्रदर्शन गरेका थिए । सप्तरीमा पनि पूर्व–पश्चिम राजमार्गको निर्माणको ठेक्का लिएको चिनियाँ निर्माण कम्पनीका कर्मचारी र स्थानीय नेपाली मजदुरवीच विवाद भएको थियो । यस्ता विवाद र झगडा सामान्य भई सकेको छ । अहिले पनि नारायणघाट–बुटवल बाटो भएर आउ–जाउ गर्ने यात्रुहरुले धुलो र धुँवाको अत्याधिक सामना गर्नुका साथै समय पनि बढी विताउन बाध्य छन् । चिनियाँ निर्माण कम्पनीले नारायणगढ–सुनवल– बुटवल र नारायणगढ–मुग्लिङ सडक खण्डको विस्तार तथा निर्माणको जिम्मा पनि लिएको छ तर निर्माण काम कछुवाको गतिमा बढेको देखिन्छ । यसले गर्दा नेपाली जनतालाई नै कष्ट पुगिरहेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पनि समयमा हुन सकेन । कलङकी–चावहील सडक खण्डको विस्तार पनि सम्पन्न भएको छैन । निर्धारित समयमा परियोजनाको निर्माण सम्पन्न नहुँदा नेपालको समय र प्रसा पनि बढी खर्च भईरहेको छ । उल्टै नेपालीलाई नै हेप्ने काम पनि भईरहेको छ । आगामी दिनमा नेपालले ग्लोबल टेण्डर मार्फत र ख्याति कमाएको विश्वका निर्माण कम्पनीलाई मात्रै टेण्डर दिनुपर्छ । नेपालीहरु आफनो आक्रोश र अपमानलाई सहन गर्न नसकेपछि मात्रै विरोध गर्दछन् । आफनो आत्मसम्मान र स्वाभिमानसित सम्झौता गर्दैनन् ।

Comment


Related News

Latest News

Trending News