
मधेश प्रदेशका एक दर्जन बढी निर्माण व्यवसायीहरुले आफ्नो विभिन्न योजनाहरुको काम सम्पन्न गरेपनि हालसम्म भुक्तानी नदिएको भन्दै मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्यालयमा थुनेका छन् ।
डेढ वर्ष अघि सम्पन्न गरेको कामको भुक्तानी हालसम्म नगरेको भन्दै निर्माण व्यवसायीहरुले मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई बुधबार मन्त्रालयकै कार्यकक्षमा थुनेका छन । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका विभिन्न योजना अन्तर्गत विकास निर्माणको कामहरु सम्पन्न गरेपनि भुक्तानी अहिलेसम्म नपाएको भन्दै निर्माण व्यवसायीहरुले मन्त्रालय पुगेर सचिवको कार्यकक्षमा ताला लगाउनुको साथै मुल ढोकामा फोहोर फालेर बिरोध जनाएका छन । काम सम्पन्न गरेको वर्षौं बितिसकेको अवस्थामा अब बैंकको ब्याज तिर्नसमेत समस्या भइरहे पनि भुक्तानीका लागि प्रदेश सरकारले चासो नदेखाएको निर्माण व्यवसायी खुशीलाल ठाकुरले गुनासो गरे ।
विभिन्न ३८ वटा योजनाको मात्रै ६० करोड रकम भुक्तानी गर्न बाँकी रहेको निर्माण व्यवसायीहरुले बताए । मधेश प्रदेश सरकारका अन्य मन्त्रालयहरुको पनि विभिन्न उपभोक्ता समितिको करिब १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।