यस सालको जानकी नवमी वैशाख १६ गते शनिवारका दिन परेको हुनाले एक साता अगाडिदेखि नै जानकी मन्दिर लगायत गुठी संस्थान, विभिन्न स्थानीय मठमन्दिर यस पर्वको तयारीमा तन मन धनले जुटेका छन् । जनकपुरधाम आज पनि यस्तो धाम हो जहाँ वाह्रै महिना कुनै न कुनै पर्व यहाँका साधुसन्तदेखि सर्वसाधारणसम्म वडो हर्सोल्लासका साथ मनाउँदै आएका छन् । यसै पर्व मध्येको महापर्व हो जानकी नवमी । यस नवमीका दिन हामी जानकीजीको जन्मोत्सव बडो धुमधामका साथ मनाउने गर्छौं । जनकपुरधाममा जानकी मन्दिरले यस उत्सवको नेतृत्व गर्दै आएको छ । यस दिनमा घर–घरमा दिपावली गर्नुका साथै घर सजाउने कामसमेत गरेका हुन्छन् । प्रत्येक साल जस्तै यस वर्ष पनि जानकी मन्दिरको प्राङ्गणमा धार्मिक प्रवचनको व्यवस्था गरिएको छ ।
जानकी मन्दिरलाई दुल्हिन जस्तो सिंगारने काम भएको छ । दुरदराजका मानिसहरू समेत यस उत्सवमा भाग लिन विगत जस्तै यस साल पनि आउन थालेका छन् । अहिले यातायातको सुविधाले गर्दा भारतीय पर्यटकहरूको समेत घुँइचो सजिलै हेर्न पाइन्छ । यहाँका प्रमुख जलाशयहरूमा स्नानका बेला निकै भिडभाड हुन्छ । खास गरी दर्शनार्थीहरू जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप, लक्ष्मण मन्दिर, हनुमान मन्दिर, जनक मन्दिर जस्ता मन्दिरहरूमा दर्शन गर्न लाइन लागेका हुन्छन् । जानकी नवमी उत्सवले जनकपुरधाममा एउटा मेलाको रूप लिएको हेर्न पाइन्छ । यहाँका स्थानीय व्यापारीहरू समेत आ–आफ्ना ठाउँबाट यस पर्वमा सहयोग गरेका हुन्छन् । स्थानीय सरकार जनकपुरधाम उपमहानगरपालिका, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, प्रादेशिक सरकारका पर्यटन मन्त्रालय समेतको सक्दो सहयोग प्राप्त हुन्छ । अब यस लेखलाई जगत जननी जानकी को थिइन त्यतातिर ध्यान आकृष्ट गर्न चाहन्छु । जानकीजी साक्षात लक्ष्मीको अवतारको रूपमा प्रकट भएकी कुरा हिन्दु शास्त्रहरूमा विस्तार रूपले उल्लेख छ । सीता जन्मको सम्वन्धमा विभिन्न रामायणमा फरक फरक दृष्टान्त सम्वन्धमा विभिन्न रामायणमा फरक फरक दृष्टान्त दिइएको पाइन्छ ।
आनन्द रामायण अनुसार वहाँ पद्माक्ष नाम गरेका राजाकी छोरी थिइन् । एक समय पद्माक्षको राज्यमा अन्नको अभाव भइ निकै ठूलो भूखमरी भयो । त्यसपछि राजाले लक्ष्मीलाई पाउन कठोर तपस्या गरे । पद् माक्षको तपस्यादेखि विष्णु भगवान खुशी भै एउटा ‘‘ मातेलुङ्गफल” (सुन्तला वा कागती जस्तै फल) दिएर अन्तध्र्यान हुनुभयो । राजा पद्माक्षले त्यो फललाई छोडाउँदा त्यस फलबाट सुवर्ण समान जगमग झल्कने कन्या उत्पन्न भइन् । ती कन्या नै सतिा थिइन् । अर्कोतिर हेर्दा एक दिन रावणले कर वसूलीको सिलसिलामा दण्डकारण्य वनमा ऋषिहरू तपस्या गरिरहेको ठाउँमा गयो । उनीहरूसँग कर माग्दा ऋषिहरूले दिन अस्वीकार गरेपछि आफ्ना वाणले रगत निकाल्न लागे । रगतलाई एउटा कलशमा जम्मा गरी घर पुगेपछि मन्दोदरीलाई राख्न दियो । रावणले भने, हे मन्दोदरी कलशमा सिद्ध ऋषिहरूको रगत छ । यो विषभन्दा पनि कडा छ । यसलाई सम्हालेर राख् । मन्दोदरीले आफ्नो पतिको यस्तो पतित चाला देखेर विरक्त भइ त्यै विष समान कलशको रगत पिइ दिइन् । यसबाट मन्दोदरीलाई गर्भ रहन गयो । गर्भ रहेको चाल पाइ डराइ तीर्थ जाने निहुले विमानमा चढी कुरुक्षेत्रमा गएर त्यो गर्भलाई पृथ्वीमा गर्भपात गरी त्यही गाडी नदीमा स्नान गरी घर फर्की आइन ।
उता राजा जनकले आफ्ना सन्तान नभइ सन्तान प्राप्तिका लागि विभिन्न यज्ञ गर्दै जाने क्रममा यज्ञ गर्नाका खातिर यज्ञभूमि निर्माणका लागि सुनको हलो जोत्दा मन्दोदरीले गर्भपतन गरी बाकसमा राखी गाडेको बाकस हलोको फालीमा अल्झेर कन्या उत्पन्न भएको देखी आश्चर्यमा परे । त्यसै बखत आकाशबाट पुष्पवृष्टि हुन थाल्यो र आकाशवाणी भयो हे राजन् । यी कन्यालाई आफ्नी सन्तानसरह मानी पालन पोषण गर भने सुनी राजा जनक अति हर्षित भइ आफ्नो यज्ञलाई निरन्तरता दिए । यसै कुरालाई वाल्मीकिले भारद्वाज ऋषिलाई सुनाएको प्रसंग अद्भुत रामायणमा वर्णित छ । सीता जन्मकै बारेमा अर्को एक प्रसंग पनि संक्षेपमा वर्णन गर्न चाहन्छु । एक दिन रावणले सबैसँग कर लिने मनसुबा राखी घुम्न जाँदा एउटा जंगलमा धेरै ऋषिहरू तपस्या गरिरहेको देखेर ती तपस्वीहरूसँग पनि कर माँग गरे । ती ऋषिहरूले भने हामीसँग के छ र ! कहाँबाट कर तिर्नु ? हामीहरूलाई कर माफी दिनु भनी अनुरोध गर्दा रावणले मानेनन् । ऋषिहरू सोच्न लागे, त्यसैबखत ती तपस्वीहरूको अन्तःकरणमा वेदमाताले रावणको समूल नष्ट गर्ने ध्येय राखी आफ्नो औलाबाट दुई दुई थोपा रगत देओ ! त्यसै रगतबाट म जन्म लिइ त्यसको अन्त्यको तारतम्य मिलाउँछु भनी आज्ञा भयो । ऋषिहरूले पनि वेद माताको आज्ञा अनुसार आफ् ना औंलाबाट रावणलाई करको रूपमा रगत बुझाए । रावणले ऋषिको रगत चाँदीको भाँडामा थापी लङ्का तर्फ गयो । लङ्का पुगेपछि मन्दोदरीलाई भने कि यो विषसमान रगत छ । यसलाई सम्भाली राखेस् भनी आफू घुम्न हिड्यो । आफू हुँदा हुँदै आफ्ना श्रीमान्ले अन्य परस्त्रीसँग मनोविनोद गरेको देखी दिक्क भएर मर्छु भनी आत्महत्या गर्ने अभिप्रायले विष समान त्यो बस्तुलाई पान गरिन् । यस ऋषि रगतको पान गरे पछि मन्दोदरी गर्भवती भइन ।
रावण अन्यत्र भएको बखत त्यो गर्भ रहन गएको कुराले मन्दोदरी निकै चिन्तित भइन् । त्यो गर्भपात गर्दा एउटा तेजस्वीनी कन्याको जन्म भएको देखी डराइ त्यसै भाँडामा राखी आफ्नो सेविकाहरूलाई लङ्काको सीमाभन्दा बाहिर फाली आउनु भनी आज्ञा गरिन् । सेविकाहरूले पनि उक्त भाँडालाई मिथिला क्षेत्रमा माटोले पुरेर फर्की गए । त्यसै बखत मिथिलामा जलवृष्टि नभएर खडेरी परेकोले वृष्टियज्ञ गर्न भूमि शुद्धि गर्ने क्रममा हलो जोत्दा हलोको फालीमा उक्त भाँडो अड्किएर साथै आयो र त्यस भाँडामा के छ भनी हेर्दा एक अति सुन्दर र तेजस्वी कन्या देखी राजा जनकले विस्मात मान्दा आकाशवाणी भयो– ‘‘हे राजन ! यी कन्या जगत जननी हुन् ।” राजा जनकले ती कन्यालाई आफ्नै सन्तान सरह पालनपोषण गर्न थाले । यो प्रसङ्ग अद्भूत रामायणमा वर्णन गरिएको भन्दा केही फरक मणिरत्न रामायणमा उल्लेख गरिएको पाइन्छ । यस अनुसार भगवान विष्णुले पृथ्वी उद्धारार्थ भूमिमा अवतार लिन्छु, सब देवताहरूलाई पहिले नै वानरादि रूपमा जन्म लिन आदेश दिनुभयो र पहिले नै दुन्दुभी गन्धर्वीले मन्थराको रूपमा कैकेय देशमा जन्म लिइसकेकी थिइन् । सीता माताको रूपमा त्यसै प्रयोजनका लागि स्वयं लक्ष्मीजीले अवतार लिनु भएको हो । जे जस्तो विचार आए पनि अन्तिम विचार सबैभन्दा सान्दर्भिक देखिएकोले त्यसैलाई आधार मानी अगाडी बढाइएको छ । जगत जननी जानकीले गर्दा नै जनकपुरधामको महत्ता बढ्न गएको छ । जानकी जी पृथ्वीको छोरीको रूपमा लक्ष्मी अवतार हुन् । जानकीजी रामको साथ नदिएको भए धनुष यज्ञमा शिवधनुष पिनाङ्क भाँचिने थिएन ।
उता मिथिला छोडेर अयोध्या प्रवेश गर्दा नै अयोध्याको महत्ता बढेको थियो । सीतालाई वनवासमा नलगेकोभए राम एक्लो शक्तिले ठूल्ठूला राक्षसहरूलाई बध गर्न सक्ने थिएनन् होला । त्रेतायुगमा सीता र द्वापरमा द्रौपदी जस्ती नारीले गर्दा नै अधर्मीहरू सखाप भए । रावण एउटा आततायी राक्षस थिए । सीतालाई रावणले नहरेको भए रावणको बध हुने थिएन होला । सीताविना राम र रामविना सीताको कुनै अस्तित्व छैन । वनवासबाट फर्केर अयोध्या आउँदा पनि चयनसँग बस्नु भएन । पेटमा दुई बच्चाको गर्भ बोकी जंगलमा बस्न तयार भएकी थिए । सीता एउटी आदर्श नारी थिइन् । जनकपुरदेखि अयोध्यासम्मको मर्यादा बढाउन सदैव तत्पर रहन्थिन् । जनकपुरतिर फर्केर हेर्दा जनकवंशमा सिरध्वज राजर्षि जनकको नामले प्रसिद्ध भए । यसमा पनि जगत जननी सीताको भूमिका कम छैन । सीताको प्रकटीकरणले गर्दा नै विश्वमा जनकपुरको नाम प्रसिद्धि पाएको छ । सीता नहुँदा धनुष यज्ञ पनि हुने थिएन । धनुष यज्ञ नभएको भए विश्वभरका राजा महाराजाहरू पनि जनकपुर आउने थिएनन् । सीताले गर्दा मिथिला राज्यको प्रसिद्धि थियो । सीताले गर्दा नै देश विदेशका ऋषि, मुनि, विद्वान, अध्येताहरू जनकपुरसम्म आउँथे । यहाँकै चल्ते जनकपुर एउटा ऋषि शहर बनेको थियो । राजा जनकलाई ऋषिको पदवीले गर्दा नै राजर्षि भन्दथे । जगत जननी सीता जनकपुरमा प्रकट भइ जनकपुरलाई विश्वकै पवित्र नगरीको रूपमा विकास गरेको पाइन्छ । जनकपुरधाममा वर्तमान समयमा पनि प्राचीन जनकपुरधामको झल्को अनुभव गर्न सकिन्छ । प्राचीनदेखि वर्तमाानकालसम्म रामनवमी, जानकीनवमी, विवाहपञ्चमी, हनुमानजयन्ती लगायत दशैं, तिहार बडो धुमधामसँग मनाउँदै आएका छौं । जनकपुरधाम हामी हिन्दुहरूका लागि पावनभूमि हो ।
जहाँ प्रत्येक मानिस आफ्नो जिन्दगीमा गरेका पापबाट मुक्ति पाउँछ । विश्वको कुनै ठाउँमा गरेको पाप जनकपुरमा धोइन्छ तर जनकपुरमा गरेको पाप विश्वको कुनै ठाउँमा धोइँदैन । तर पनि जनकपुरवासीहरू आफै धार्मिक तथा सांस्कृतिक सम्पदामाथि अतिक्रमण गरेर कतिपय मन्दिर, कुटि, जलाशय, गुठी अधिनस्तका जग्गा विलुप्त पारेका छन् । यस्ता विधर्मीमाथि कहिले कारबाही होला, भविष्यले नै देखाउने हो । विस्तारै जनकपुरधामका सम्पदाहरूतिर स्थानीयदेखि केन्द्रीयसरकारको ध्यान आकर्षिक हुँदै आएको देखिन्छ, जसले गर्दा मन्दिर, कुटि, जलाशय, तथा अन्य धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण र सम्वद्र्धन हुँदै आएको देखिन्छ । अन्तमा जानकी नवमी हाम्रालागि महान पर्व हो । यसमा हामी सबैले मन, कर्म, वचन, साथ सहभागी बनौं । जानकी नवमी जनकपुरधामको मात्र होइन नेपालकै लागि एउटा गौरवको कुरा हो । यस्ता पर्वमा विशेष व्यवस्था भए हामी विदेशी पर्यटक समेतलाई तान्न सक्छौं । पर्यटक जति बढ्छ त्यति नै हामी विदेशी मुद्रा आर्जन गर्न सक्छौं । यस पर्वमा हामी विदेशीलाई तान्न विभिन्न किसिमका नयाँ नयाँ कुराको विकास गर्दै जानुपर्छ । यसलाई आधुनिकीकरणतिर लग्नु पर्छ । यहाँ पर्यटकहरू रिझाउन जानकी मन्दिरलाई मात्र सिँगारेर हुँदैन, पुरै जनकपुरधामलाई कसरी सफासुग्घर तथा हरियो बनाउन सकिन्छ त्यतातिर पनि ध्यान दिनु पर्छ । यातायाततिर पनि ध्यान जानु पर्छ । आजको मान्छे सुविधा चाहन्छ । ईतिश्री ।