अपडेट 
२०८० बैशाख १४, बिहीबार ०७:३२

राज्यको उदासिनता र जनप्रतिनिधिहरुको कमजोरीका कारण वीरगञ्जको नारायणी अस्पताल आफै रोगी बन्दै गएको छ । मधेश प्रदेशमा रहेको एक मात्र केन्द्रीय अस्पताल भ्रष्टाचार,कमिशन तन्त्र र जनप्रतिनिधिहरुको उदासिनताको कारण थला पर्दै गएको छ । चरम राजनैतिक स्वार्थ प्रतिशोधका कारण लगभग ४ वर्ष अगाडि यस अस्पताललाई केन्द्रीय अस्पताल घोषणा गरिए पनि अहिले पनि पुरानै ढर्रामा संचालनमा रहेको छ ।

कोरोनाको समयमा अक्सिजनको अभावले मध्यरतराईका कतिपयले यस अस्पतालमा आफ्नो ज्यानसमेत गुमाएका छन् । राज्यको अदुरदर्शिता र मधेश प्रदेश तथा स्थानीय निकायका समन्वयको अभावमा त्यसबेला अक्सिजन सिलिन्डरको आवश्यकता भए पनि नारायणी अस्पतालमा अहिले अक्सिजन सिलिन्डर मात्र होइन प्लान्ट नै फालमफाल रहेको बुझिएको छ । आवश्यकताअनुसारको अक्सिजन सिलिन्डर नपाएकोले कारोनाको दुबै लहरमा अक्सिजन सिलिन्डरको तानातान नै भएको थियो । केन्द्रीय र तराईकै सबै भन्दा बढी चाप भएको नारायणी अस्पतालमा अक्सिजन प्लान्ट नभएको कारण पनि अक्सिजन सिलिन्डरको अभाव देखिएपछि तत्कालीन सांसद विमल श्रीवास्तवले अफ्नो संसदीय कोषबाट अक्सिजन प्लान्ट लगाउने घोषणा गर्दै त्यही आर्थिक वर्षमा प्लान्ट जडान गरी सञ्चालनमासमेत ल्याएका थिए । त्यसपछि अक्सिजन प्लान्ट दिने होडबाजी नै चल्यो । संघीय सरकार र अन्य दातृनिकायको होडबाजीका कारण अहिले नारायणी अस्पतालमा प्लान्ट नै जडान नगर्ने अवस्था उत्पन्न भएर फालमफाल भएको छ ।

अस्पतालमा दुइवटा प्लान्ट जोडिए पनि एउटैले अस्पतालको आवश्यकता पुगेको छ । अस्पताल अहिले अक्सिजन उत्पादनमा आत्मनिर्भर मात्र छैन अस्पतालमा अक्सिजन पर्याप्त उपलब्ध छ । हाल अस्पताल परिसरमा २ वटा अक्सिजन प्लान्ट सञ्चालनमा छन् भने अर्को एक प्लान्टका उपकरण जडान नै नगरी फालिएको अवस्थामा रहेको छ । अस्पतालका प्रवक्ता डा.उदयनारायण सिंह अस्पताल परिसरमा पहिलो प्लान्टको रुपमा करीब डेढ वर्ष अघि लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा आएको बताउँछन् । नेपाल सरकारको लगानीमा जडान गरिएको यो प्लान्टले एक पटकमा २० टन अक्सिजन उत्पादन गरिरहेको छ । जसले अस्पतालको अक्सिजनको माग १ देखि डेढ महिनासम्म सहजै धान्ने गरेको बताइएको छ । त्यस बाहेक निवर्तमान सांसद विमल श्रीवास्तवको संसदीय कोषको रकमबाट करीब १ वर्ष अघि अस्पताल परिसरमा अर्को अक्सिजन प्लान्ट जडान गरिएको डा.उदय नारायण सिंह बताउँछन् । २० टन क्षमताको प्रेसर स्विङ एडजर र्पसन प्लान्टले एक दिनमा करीब एक सय अक्सिजन सिलिन्डर भर्न सकिन्छ । तर बेला बेलामा सञ्चालन गरी यसबाट उत्पादित अक्सिजन प्रयोग गरिरहेका छौं । लिक्विन्ड प्लान्टको अक्सिजन अस्पतालमा पाइप प्रणालीबाटसमेत वितरण गरिएको छ । अक्सिजन प्लान्ट दिने होडबाजी चलेको कारण पनि अक्सिजन प्लान्ट बढी भएको डा.उदय नारायण सिहको भनाइ छ ।

अस्पतालको स्विकृत शैय्या २ सय ५० हो भने अस्पताल प्रशासनले बिरामीको चाप धान्न ४ सय शैय्या सञ्चालन गरेको छ । अस्पतालमा दैनिक ६ सय देखि ७ सयको हाराहारीमा बिरामीले ओपिडी सेवा लिन्छन् । पर्सा,बारा,रौतहट,सर्लाहीबाट मात्र नभइ छिमेकी मुलुक भारतबाटसमेत बिरामीहरु यो अस्पतालमा उपचार गराउन आउने गरेका छन् । करीब १ वर्ष पहिला नै नेपाल सरकारबाट प्राप्त तेश्रो अक्सिजन प्लान्ट जडान नै नगरी राखिएको डा.सिंहले बताए । कोभिड महामारीको दोश्रो लहरमा अस्पतालमा कोभिडका बिरामीको अत्यधिक चाप हँुदा हामीलाई दैनिक ५ सय सिलिन्डरसम्म अक्सिजनको आवश्यकता थियो । कोभिड महामारीको तेश्रो लहरमा भने अस्पतालले अक्सिजनको अभाव झेलेन । कोरोना अस्पताल बनाउने लक्ष्य राखिए पनि भवन नबनेको कारण उक्त प्लान्ट अलपत्रमा परेको डा.सिंहको भनाइ छ । कोरोना कालमा पर्सादेखि सर्लाहीसम्मका कोरोना संक्रमित भर्ना भएर उपचार सेवा दिएको यो अस्पतालमा त्यति बेला अक्सिजन प्लान्टको चरम आवश्यकता महशुस गरिएको थियो । दोश्रो कोरोना कालको मध्यतिर २/३ दिन अस्पतालले अक्सिजनको अभावसमेत झेलेको कारण कतिपयले ज्यानसमेत गुमाए । तर सरकारी निकायको अदुरदर्शिताको कारण कुनै बेला अभावै अभाव र कुनै बेला अत्यधिक बेथीति कायम नै रहेको जनाइएको छ ।

Comment


Related News