अपडेट 
२०८० बैशाख १४, बिहीबार ०७:३५

सर्लाहीको जब्दी र रामपुर जोड्ने गरी फुलजोर खोलामा पुल बनेर सञ्चालनमा आएपछि आवतजावत सहज भएको छ ।

लामो प्रतिक्षापछि लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुर जोड्ने गरी फुलजोर खोलामा पक्की पुल निर्माण गरिएको छ । वर्षौंदेखि वर्षायाममा भेलमै हेलिएर खोला वारपार गर्न बाध्य स्थानीय पक्की पुल निर्माणपछि खुशी भएका छन्। लालबन्दी नगरपालिका–३ जब्दीका तेजनारायण चौधरीले पुल बनेपछि खोला वारपार गर्न सहज भएको भन्दै खुसी व्यक्त गरे । पुल निर्माण पूरा भए पनि हस्तान्तरण भने भएको छैन । तीन वर्ष चार महिनाभित्र पुल निर्माण पूरा गर्ने गरी पप्पु शिवशंकर जेभीले २०७३ साल चैत २१ मा सम्झौता गरेको थियो । ठेकेदारले सम्झौताअनुसार काम नगर्दा तीन वर्षपछि बल्ल पुल निर्माण पूरा भएको छ । ईश्वरपुर नगरपालिका–८ का वडाध्यक्ष श्यामबहादुर थापाले ठेकेदारलाई बारम्बार दबाब दिएर पुल निर्माणको काम पूरा गरी पुलबाटै सवारी सञ्चालन गर्न शुरु गरिएको बताएका छन् । लालबन्दी र ईश्वरपुर दुबैतर्फ कालोपत्रे सडक निर्माण भए पनि फुलजोर खोलामा पुल नहुँदा भने समस्या थियो ।

दुई वर्षअघि पुल निर्माणको काम अन्तिम चरणमा पुगेका बेला बाढी आएर पुलको केही भाग बगाएपछि निर्माण नै रोकिएको थियो । वडाध्यक्ष थापाले पुल निर्माण भएसँगै लालबन्दी, ईश्वरपुर, हरिपुर, चन्द्रनगर, ब्रह्मपुरीलगायत पालिकाका बासिन्दालाई सहज भएको बताएका छन् । फुलजोर खोलामा पुल नहुँदा यस क्षेत्रका बासिन्दालाई पूर्वपश्चिम राजमार्गस्थित फुलजोर चोकमा निस्किएर आवतजावत गर्नुपर्ने बाध्यता थियो। पप्पु शिवशंक्र जेभीले १२ करोड २५ लाख ४७ हजार १ सय १७ रुपियाँको लागतमा पुल निर्माण गरेको हो। निर्माण कम्पनीका प्रतिनिधि मनोज साहले सञ्चालनमा आइसकेको पुल अब छिट्टै हस्तान्तरण गरिने जनाइएको छ ।

Comment

Related News