अपडेट 
२०८० बैशाख १५, शुक्रबार ०६:५२

मधेश प्रदेश सरकार आगामी हप्ता विस्तार हुने भएको छ । सरकारमा नेपाली कांग्रेसको सहभागिताका लागि आइतबार शीर्ष नेताहरुबीच छलफल हुने बताइएको छ । मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको सत्तारुढ दल जनता समाजवादी पार्टी(जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव बारा जिल्लाको उपचुनावमा सक्रिय रहेकाले सरकारमा कांग्रेसको सहभागिता बारे निर्णय हुन सकेको थिएन्

। बारा–२ को उपचुनावमा निर्वाचित भएका जसपा अध्यक्ष यादव क्षेत्रमा धन्यवाद जुलुस सकेर शुक्रवार साँझ काठमाण्डु जाने भएका छन् । संघीय गठबन्धनमा रहेका प्रमुख दलहरु नेकां, माओवादी केन्द्र, जसपा र नेकपा एसका शीर्ष नेताहरुबीच आइतबार मधेश प्रदेश सरकार विस्तारको विषयमा छलफल हुने बताइएको छ । संघीय गठबन्धनबाट हटेसँगै मधेश प्रदेश सरकारबाट समेत बाहिरिएको एमालेको स्थानमा नेकां सरकारमा सहभागी हुनेछ । जसपा स्रोतहरुका अनुसार एमालेले पाएका मन्त्रालयहरु कांग्रेसको भागमा पर्नेछ । सरकारमा नेकांसँगै नेकपा एस र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)समेत सहभागी हुने स्रोतले जनाए । जसपा अध्यक्ष यादवलाई चुनावमा नेकपा एस र लोसपाले पनि सघाएका थिए । यद्यपि लोसपाका कुनै शीर्ष नेताहरु चुनावमा आएका थिएनन् । शीर्ष नेताहरुबीच छलफल भएपछि मात्र प्रदेश सरकारमा सहभागिताको निर्णय हुने नेकां मधेश प्रदेशका सभापति कृष्णा यादवले बताए ।‘ सरकारमा जाने पक्का नै छ ’ उनले भने, अर्काे हप्ता सरकारमा कांग्रेस पनि सहभागी हुनेछ ।

स्रोतका अनुसार जनमत पार्टीलाई पनि सरकारबाट हटाउने निर्णय गठबन्धन दलले गर्ने सम्भावना छ ।तर नेकांले जनमतलाई हटाउने भन्दा सभामुख रामचन्द्र मण्डललाई हटाउन जोडबल गरेको छ । शीर्षतहमा सहमति भए सभामुख मण्डललाई पदीय मर्यादा अनुकुल आचरण नगरेको अभियोग लगाउने कांग्रेसले तयारी गरेको छ । यस सम्बन्धमा गठबन्धन दलहरुबीच हालसम्म छलफल नभएको उच्चस्रोतले जनाए । सभामुख विरुद्धको अभियोगमा जनमत पार्टीले पनि सघाउने कांग्रेसको दाबी छ । सभामुखको सबालमा जसपा भने मौन देखिएको छ । मन्त्रिपरिषद् विस्तार सम्बन्धमा शीर्ष नेताहरुबीच छलफल नभएको मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बताए । ‘गठबन्धनको निर्णय अनुसार नै मधेश प्रदेश सरकारमा दलहरुको सहभागिता हुनेछ’ उनले भने, जनमत पार्टीबारे पनि हाल कुनै निर्णय भएको छैन् । जनमत पार्टीका २ मन्त्री र १ जना राज्यमन्त्री रहेका छन् । बारा–२ को उपनिर्वाचनमा जसपा बिरुद्ध खनिएका जनमतका अध्यक्ष सीके राउतसित जसपा अध्यक्ष यादवको संवाद नभएको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News