नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाँच दलीय गठबन्धन बन्नु नै देशको लागि दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेका छन् ।
बिहीबार महोत्तरीको बर्दिबासमा आयोजना गरिएको पार्टीको कार्यक्रममा सहभागी हुन जाने क्रममा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले सो टिप्पणी गरेका छन् । ‘यो गठबन्धन मुलुक र लोकतन्त्रको हितमा छैन,संवैधानिक अभ्यासलाई बाधा पु¥याउने खालको छ त्यसैले यो गठबन्धन बन्नु नै देशको दुर्भाग्य हो।’,उनले भने । गठबन्धन बन्नुको मुख्य लक्ष्य सत्ता प्राप्ति नै रहेकोले गठबन्धनका दलहरुबीचकै आपसी विवादले केही दिनमै गठबन्धन समाप्त हुने दाबी समेत उनले गरे । यो गठबन्धनको सरकार रहदा तराईको लाखौं बिघा जमिनको लागि सिंचाईको कुरा कहाँ पुगेको छ भन्ने प्रश्न गर्दै नेता पोखरेलले भने,‘ त्यत्रो त्यो रणनीतिक सडकहरुको प्रारम्भ एमाले सरकारमा भएको थियो त्यो अहिले कहाँ पुग्यो? एकै चोटी तीनसय भन्दा बढी अस्पतालहरु बन्ने कुरा थियो कहाँ पुग्यो केपी ओली नेतृत्वको सरकारले १३ अर्ब रकम निकासा गरेर हुलाकी सडक निर्माणका लागि बाँकी रहेको हिस्सा सम्पन्न गर्न दिएको काम पनि अहिले अड्किनुले गठबन्धनको सरकारको पोल खोलेको जिकिर उनले गरे । सरकार परिवर्तन भएपछि विभिन्न योजनाहरुको काम जहाँको त्यहीँ अड्किएको अवस्थाको दोष कसलाई दिने भन्ने प्रतिप्रश्नसमेत उनले गरे । नेता पोखरेलले दलीय प्रणालीलाई कमजोर बनाउने कार्य कदापि मान्य नहुने बताएका छन्। उपनिर्वाचनमा एमालेले नपाए पनि रहेको शक्ति नगुमाएको बताउँदै उनले भने,‘निर्वाचित नहुँदा एमाले दुःखी हुनुपर्दैन ।
लोकप्रिय मतको आधारमा एमाले पहिलो पार्टीनै छ ।’सरकार टिकाउने र गिराउने काममा एमालेको कुनै चासो नरहेको भन्दै उनले नयाँ परिवेशको सिर्जना भए त्यसलाई नकार्न पनि नसकिने स्पष्ट पारे । ‘देशमा नयाँ लहर चलेको छ, त्यसले दलीय प्रणाली मजबुत नहुने र एमाले दलीय प्रणालीको विरुद्वमा जाने पार्टी होइन।’,उनले प्रष्ट पारे । एमालेको क्षेत्र नभए पनि उपनिर्वाचनमा चितवन र तनहुँमा केही मत घटे पनि बारामा पार्टीले प्रगति गरेको जिकिर उनले गर्दै एमालेले चार वर्षपछि हुने निर्वाचनको तयारीमा तीव्र रुपमा लागेको र सो अनुसार आगामी निर्वाचनमा एमालेको जित निश्चित रहेको दाबी गरे । ‘झोंकामा आएर कोई नयाँ व्यक्ति जित्दैमा केही भइहाल्छ भन्ने होइन,दलीय तन्त्रमा दलको संगठन र सिद्धान्तले महत्व राख्छ ।’उनले भने। जहाँसम्म मुलधारका दलहरुले आफ्नो कार्यगर्ने शैलीमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै नेता पोखरेलले राजनीतिक दल कुनै निश्चित सिद्धान्त,निश्चित कार्यक्रममा अगाडि बढ्ने हो न कि झोंकमै कुनै निष्कर्षमा पुग्नु अनुचित हुने तर्क गरे । अनेक झोँकाको सामना गर्दै आएको एमाले पार्टीको बारेमा बोलिरहनु पर्ने आवश्यकता नरहेकोले नयाँ नयाँ झोंका झैं आएका पार्टीहरुले दलीय तन्त्रबारे अझै सिक्नुपर्ने आवश्यकता रहेको सुझाव दिएका थिए ।