अपडेट 
२०८० बैशाख १५, शुक्रबार ०७:२८

जनकपुरधाम उपमहानगरपालिकाको बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा सुधार हुँदै गएको देखिएको छ । ट्राफिक नियमको उल्लंघन गर्ने सवारीधनीहरुमाथि कारबाही हुने क्रम बढेपछि नगर क्षेत्रको ट्राफिक व्यवस्थापनमा सुधार भएको देखिएको हो ।

विगत डेढ महिनायता मात्रै नो पार्किंग क्षेत्रमा सवारी पार्क गर्ने पाँच हजार भन्दा बढी सवारीधनीलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय जिरोमाइलले जनाएको छ । कार्यालयका अनुसार दिनहुँ २० वटा भन्दा बढी सवारीमाथि कारबाही हुने गरेको छ , नो पार्किंग क्षेत्रमा सवारी पार्क गर्नेहरुसंग पाँचसयदेखि १५ सय सम्म जरिवाना गर्ने गरिएको छ । राजस्व संकलन भन्दा पनि ट्राफिक नियमको पालना गर्न गराउने मुख्य उद्देश्यमा केन्द्रित भइ अभियान नै सञ्चालन गरेको बताउँदै ट्राफिक कार्यालयका प्रमुख शेखर कुमार साहले विस्तारै पार्किंग सम्बन्धी चेतनामा वृद्धि हुँदै गएको बताए । जरिवाना वापत डेढ महिनाको अवधिमा ३६ लाख भन्दा बढी राजस्व असुल उपर गरिएको कार्यालयले जनाएको छ । अव्यवस्थित पार्किंगका कारण रामानन्द चोक अस्पताल सडक खण्ड,अस्पताल सडक जानकी चोक,जानकी चोकदेखि जनकचोक हुँदै शिव चोक, भानुचोकसम्मका सडकको ट्राफिक अस्तव्यस्त बन्ने गरेको स्थितिमा विस्तारै सुधार भएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले बताए । उनले भने,‘नो पार्किंग क्षेत्रमा पार्किंग सवारीहरुलाई नगर प्रहरीको टोलीले तत्काल ट्राफिक प्रहरीको सहयोगमा नियन्त्रणमा लिइ कारबाही गर्न थालेदेखि नगर क्षेत्रको सडकहरु तुलनात्मक रुपमा सफा र व्यवस्थित देखिएको छ तर अझै पनि काम गर्नुपर्ने आवश्यकता रहेको छ।’ त्यस्तै, जनकपुरधाम उपमहानगरपालिकाको ट्राफिक व्यवस्थापनमा ठूलो चुनौतीको रुपमा देखिएको छाडा विद्युतीय रिक्शालाई व्यवस्थित गरिने भएको छ ।

भाडादरमा मनोमानी,बिना अनुमति छाडा रुपमा जसले पायो त्यसले रिक्शा चलाउन थालेको जनगुनासो बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न जनकपुरधाम उपमहानगरपालिकाले विद्युतीय रिक्शा दर्ता तथा नियमन कार्यविधि २०७९ पास गरेको छ । ‘ऐन प्रमाणीकरण भइसकेको जानकारी दिँदै जनकपुरधाम उपमहानगरपालिकाका कर शाखा प्रमुख प्रमेश झाले भने,‘ऐनअनुसार उपमेयरको संयोजकत्वमा समिति निर्माण गरिएको छ र सो समितिले रिक्शा संख्या,भाडादर,रुट निर्धारणलगायतकोबारे अध्ययन गरी निर्णय गरेपछि ऐन लागु हुनेछ ।’ बैशाख १९ गते मेयर साहको संयोजकत्वमा उद्योग वाणिज्य संघ जनकपुरधाम,रिक्शा चालक संघलगायतका सरोकारवालाहरुसंग छलफलको लागि बैठक बोलाइएको प्रमुख झाले जानकारी दिए । उनकाअनुसार सो छलफलमा विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरुको धारणा,सल्लाह÷सुझावको आधारमा ई.रिक्शा व्यवस्थापनको लागि ऐन नियम कार्यान्वयनमा ल्याइनेछ ।

Comment


Related News

Latest News

Trending News