अपडेट 
२०८० बैशाख १६, शनिबार ०८:३२

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले मधेश प्रदेश सरकारबाट जनमत पार्टीलाई हटाउन नहुने बताएका छन् ।

बारा–२ मा जनता समाजवादी पार्टी(जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव विरुद्ध उम्मेदवारी दिएको र चुनाव प्रचारको क्रममा विषवमन गरेको कारण जनमतलाई मधेश प्रदेशबाट हटाउने चर्चा चलिरहेको बेला सत्ता गठबन्धनका प्रमुख घटक नेकपा एसका अध्यक्ष नेपालले यस्तो धारणा सार्वजनिक गरेका छन् । जनकपुरधामस्थित होटेल सिता प्यालेसमा समाजवादी प्रेस संगठन नेपाल, धनुषाले शुक्रबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले जनमत पार्टीलाई मधेश सरकारबाट हटाउन नमिल्ने धारणा व्यक्त गरे । संघीय सरकारमा साझेदार रहेपनि नेकपा एस मधेश सरकारमा सहभागी भइसकेको छैन् ।

सरकारले माओवादीका पूर्व अयोग्य लडाकुलाई रकम उपलब्ध गराउने विषयमा विवाद चलिरहँदा अध्यक्ष नेपालले अयोग्य लडाकुलाई राज्यको ढुकुटीबाट मोटो रकम दिनु गलत परिपाटीको सुरुवात हुने बताएका छन् । पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले देश आर्थिक संकटमा फसेको वेलामा राज्यको ढुकुटीबाट अयोग्य लडाकु वा कुनै पीडितलाई राहतको नाममा मोटो रकम दिनु उपयुक्त नहुने बताए । आयोग्य लडाकुलाई पैसा वित्तरण गर्ने विषय गठबन्धन दलबीच छलफल नभएको र त्यसको वास्तविक जानकारी प्रधानमन्त्री पुष्पकमल दाहालले स्पष्ट गर्नुपर्ने बताए । संविधान र देशको रक्षाको लागि अहिलेको गठबन्धन आवश्यक रहेको बताउँदै अध्यक्ष नेपालले भने,‘अयोग्य लडाकुलाई राहतको नाममा पैसा दिने विषयमा गठबन्धन दलबीच कुनै कुराकानी भएको छैन ।’ ‘प्रधानमन्त्रीले अयोग्य लडाकुलाई नयाँ होइन, पुरानै बाँकी रहेको रकम दिने तयारी भएको भनेर जवाफ दिनुभयो । तर वास्तविकता बारे हालसम्म मलाई थाहा छैन’ उनले भने । ‘अन्य दुई ठाउँमा गठबन्धनका उम्मेमदवार हारेपनि बारा २ उपचुनावमा गठबन्धनका उम्मेदवार जिताएर बारावासीले गठबन्धनको महत्व र आवश्कयताको पुष्टि गरेका छन् ’ अध्यक्ष नेपालले भने, बारा जिल्लामा गठबन्धनको जितले त्यसको महत्व र औचित्यलाई पुष्टि गरेको छ । जनमत संघिय सरकारमा नरहेपनि मधेश प्रदेश सरकारबाट हटाउन नसकिने उल्लेख गर्दै उनले भने,‘ जनमत पार्टीले मधेश प्रदेश सरकार छोडदैनन् । ’ ‘जनमत गठबन्धन दलकै हिस्सा हो’ उनले भने, यद्यपि यो अव हुने मधेश प्रदेश सरकार पुनर्गठनको विषयमा गठबन्धन दलबीच हालसम्म कुनै छलफल भएको छैन ।’ विचार, सिद्धान्त, वैचारिक समानता मिल्ने पार्टीहरु माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एस र माओवादी बिप्लव बीच समाजवादी मोर्चा गठन गर्ने तयारी भइरहेको उनले बताए ।

सञ्चारकर्मीको प्रश्नमा उनले भने,‘ जसपासंग तत्काल पार्टी एकता गर्ने कुरा भएको छैन । तर समाजवादी मोर्चा गठन भएर भविष्यमा ती पार्टीहरुबीच एकता र सहकार्यको कुरा हुन सक्छ ।’ उनले अर्को एउटा फरक प्रसंगमा भने,‘म विगत ५० वर्षदेखि राजनीतिमा लागेको छु, तर अब उमेरले साथ दिइरहेको छैन । धेरै कुराहरु भुल्ने गरिन्छ । त्यसकारण पार्टीको महाधिवेशन गराएर युवा पुस्तालाई पार्टीको जिम्मेवारी दिने सोच बनाएको छु ।’ नेकपा एसमा पार्टीको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने दबाब बढीरहेको अवस्थामा अध्यक्ष नेपालले सकृय राजनीतिबाट बिदा लिने धारणा व्यक्त गरेका छन् । ‘७० वर्ष उमेर कटेकाहरुलाई महाधिवेशनबाट बिदाइ गरी नयाँ पुस्तालाई अगाडि बढाउनुपर्छ भने आफ्नो व्यक्तिगत विचार रहेको छ ’ उनले भने, पार्टीलाई व्यवस्थित रुपमा अगाडि बढाउन महाधिवेशनबाट नयाँ पुस्ताको काँधमा जिम्मेवारी दिइने सोंचमा छु । देशको आर्थिक अवस्था दयनीय हुनुमा कसैको दोष नरहेको र अहिले विश्वभरि नै आर्थिक मन्दी रहेको उनले बताए । कोभिड १९ , रुस र युक्रेन युद्धको कारण विश्वभरि आर्थिक संकट उत्पन्न भएको पूर्व प्रधानमन्त्रीसमेत रहेको नेपालले भनाइ थियो ।

Comment

Related News

Latest News

Trending News