अपडेट 
२०८० बैशाख १६, शनिबार ०८:३६

देवी स्वरुपा जानकीको प्राकट्य महोत्सवको अवसरमा जानकी मन्दिरले विविध कार्यक्रमहरुको आयोजना गरेको छ ।

मन्दिरका सहयोगी महन्त रामरोशन दास वैष्णवले जनाए अनुसार शनिवार मध्यान्ह जानकी मन्दिरमा प्राकट्य महोत्सवको आयोजना गरिएको छ । सो क्रममा बिभिन्न धार्मिक, सांस्कृतिक कार्यक्रमहरु गरिने उनले बताए । भगवती सीता वैशाखको शुक्ल नवमीको मध्यान्हमा धरतीबाट प्राकट्य भएको धर्मग्रन्थहरुमा गरिएको वर्णन र जानकी मन्दिरको चलनलाई निरन्तरता दिदैँ कार्यक्रमहरुको आयोजना गरिदै आएको महन्त रामतपेश्वर दास वैष्णवले बताए । बेहुली झैं सजाइएको जानकी मन्दिरमा धार्मिक प्रवचनको आयोजना गरिएको छ । दुधमती नदीमा विशेष आरती शुक्रबार गरिएको छ । जानकी नवमीको अवसरमा नगरवासीलाई साँझ दीप प्रज्ज्वलन गर्न जनकपुरधाम उपमहानगरपालिकाले आग्रह गरेको छ । प्राकट्य समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेताहरु जनकपुरधाम आइपुगेका छन् ।

विशेष पूजामा नेताहरुको पनि सहभागिता रहने बताइएको छ । जानकी मन्दिरमा आयोजना हुने कार्यक्रममा महन्त रामतपेश्वर दास वैष्णव राजा जनकको भूमिकामा रहने छन् । मिथिलामा अनिकाल परेको बेला राजा जनकले हलो जोत्न लाग्दा पृथ्वीबाट जानकी प्राकट्य भएको रामायणमा वर्णन गरिएको छ । जनकपुरधामको महत्वबारे वेद, पुराणमासमेत वर्णन गरिएको पाइन्छ । तर रामायणको मुख्य पात्र र स्थलको रुपमा जनकपुरधाम, राजा जनक र जानकीको वर्णन गरिएको छ ।

केही वर्ष पूर्वसम्म परम्परागत रुपमा मनाइने जानकी नवमीलाई विशेष रुपमा मनाउन थालिएपछि जनकपुरधाममा धार्मिक पर्यटकहरुको संख्यामासमेत भारी वृद्धि भएको छ ।

Comment

Related News