अपडेट 
२०८० बैशाख १६, शनिबार ०८:३९

पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तहमा काम गर्ने थुपै्र अधिकार रहे पनि प्रशासक र जनप्रतिनिधिबीच समन्वयको अभावमा विकास निर्माणको काम प्रभावित हुने गरेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषाको विशेष सक्रियतामा शुक्रबार जनकपुरधाममा आयोजित जिल्लाको विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका छन् । ‘स्थानीय तहमा पहिलेको भन्दा अहिले धेरै अधिकार छ तर जनप्रतिनिधि र प्रशासकबीचको सहकार्य अभावले समस्या हुने गरेको थुपै्र गुनासाहरु सुनेको छुँ।’उनले भने,‘पालिकामा प्रमुख भइ काम गर्ने कर्मचारीहरु मसंग आएर यहाँ काम गर्न गाहौ भो भनेर गुनासो गर्ने गरेकाछन्।’ प्रशासक र जनप्रतिनिधिबीच समन्वय गरी पालिकाहरुको विकासलाई गति दिनु पर्ने अहिलेको आवश्यकता उनले औंल्याए । त्यसैगरी,उनले शिक्षा क्षेत्रको विकास नभए सम्म कुनै पनि ठाउँको विकास हुन नसक्ने भन्दै राजर्षि जनक विश्वविद्यालयको जुन ऐन पास भएको छ त्यसमा जनकपुरधामको राराब क्याम्पस र सिरहा क्याम्पस आधार क्याम्पसको रुपमा रहे पनि शिक्षकहरुको अर्कमण्यताले गर्दा विश्वविद्यालयको विकास हुन नसकेको गुनासो पोखे । उनले भने,‘ ऐनमै प्रष्ट रुपमा लेखिएका क्याम्पसका शिक्षकहरु विश्वविद्यालयमा आउनै चाहँदैनन् । शिक्षक पनि आउन चाहँदैनन, विद्यार्थी पनि आउन चाहँदैनन अभिभावक र समाजसेवीको कुरै भएन ।’ विभिन्न उतार चढाबको वावजुद राजर्षि जनक विश्वविद्यालय स्थापना हुनु जनकपुरधामको लागि सौभाग्यको रुपमा रहेको बताउँदै उनले भने,‘सबैको मान्यता के छ भने जब कुनै देशको मानव स्रोतसाधनको विकास हुन्छ तब मात्रै समग्र विकास हुन्छ । जुन देश मानव स्रोतका लागि सबभन्दा बढी लगानी गर्छ त्यहि देशले विकासमा फड्को मार्छ ।’ विकासका लागि सीप र सीपका लागि उच्च शिक्षा आवश्यक रहेको ठहर गर्दै उनले भने,‘हामीले पनि शिक्षामा लगानी गर्न सक्नु पर्छ अनि मात्रै देशको समग्र विकास हुनेछ।’

कार्यक्रममा प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा.प्रमोद कुमार यादवले स्वास्थ्य क्षेत्रमा सरकारले ४ प्रतिशत मात्रै लगानी गरेकोले उल्लेखनीय प्रगति हुन नसकेको धारणा राखे । उनले धनुषा जिल्ला मात्र होइन समग्र मधेशमै स्वास्थ्य क्षेत्रमा मुख्य चुनौती जनशक्ति अभाव तथा संरचनाको अभाव रहेको उल्लेख गरे । स्वास्थ्य क्षेत्रमा कम्तिमा १० प्रतिशत बजेट लगानी गर्नु पर्ने आवश्यकता रहेको उनले औंल्याए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको सभापतित्वमा भएको सो अन्तरक्रिया कार्यक्रममा जिल्लाका विभिन्न कार्यालयका प्रमुखहरुले आआफ्नो कार्यप्रगति र भावि योजनाबारे तयार पारेको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा जनतासंग प्रत्यक्ष सम्बन्धित कार्यालयहरु मालपोत कार्यालय धनुषा,नापी कार्यालय धनुषा,जिल्ला प्रशासन कार्यालय धनुषालगायतका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्लाभरका कार्यालयका प्रतिनिधिहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,प्रदेश साँसदहरु,जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलगायतको उल्लेखनीय सहभागिता रहेको थियो । जिल्लाको विकासबारे छलफल गर्ने उद्देश्यले जनकपुरधाममा पहिलो पटक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएकोमा सरोकारवालाहरुले प्रमुख जिल्ला अधिकारी दाहाललाई विशेष धन्यवाद दिएका थिए ।

Comment


Related News

Latest News

Trending News