अपडेट 
२०८० बैशाख १६, शनिबार ०८:४६

सर्लाहीको गोडैता नगरपालिकास्थित एक सामुदायिक विद्यालयले स्थानान्तरण प्रमाणपत्र(ट्रान्सफर सर्टिफिकेट)लिन आउने विद्यार्थीसंग नियम विपरीत शुल्क असुल्ने गरेको पाइएको छ ।

विद्यार्थीहरुलाई पढाएर सेवा प्रदान गरेको र सोही बापत पढाउने शिक्षक तथा शिक्षिकाहरुलाई भोजभतेर खुवाउने भन्दै गोडैता नगरपालिका वडा न–१ बहादुरपुरको नवयुवक प्राथमिक विद्यालयले नियम विपरीत प्रति विद्यार्थी ५ सयदेखि ७ सय रुपैयाँसम्म अवैध रकम उठाउने गरेको अभिभावकहरुको गुनासो छ । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क बनाए पनि सामुदायिक विद्यालयहरुले यसरी विभिन्न बहानामा विद्यार्थीबाट शुल्क उठाउनु संविधान र नियम विपरीत भएको वडा न–१ बहादुरपुरका वडाध्यक्ष सोजित महतो बताए ।

संविधानको धारा ३१ को बुँदा २ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य निःशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क पाउने भनि उल्लेख गरिएको छ, तर पनि उक्त विद्यालयले संविधान विपरीत रकम असुलेर गैरकानूनी काम गरेको उनले बताए । ‘अभिभावक र विद्यार्थीहरु वडा कार्यालयमा आएर गुनासो गरेपछि हामीले यी कुराहरु (शुल्कसम्बन्धी) थाहा पाएर यसबारे विद्यालयमा गएर बुझ्न खोज्दा प्रधानाध्यापक लालबाबु रायले विद्यार्थीलाई ५ वर्षसम्म पढाए सेवा गरेको र सोही वापत भोजभतेर खान र शिक्षकहरुलाई बाँड्न पैसा लिएका हौं र भोज खान लिएको पैसाको रसिद हुँदैन त्यसैले विद्यार्थीहरहलाई रसिद नदिएको ठाडो जवाफ फर्काएका थिए ।’उनले भने । यस विषयमा सो विद्यालयका शिक्षक रामबहादुर महतोले आफूलाई यस विषयमा कुनै जानकारी नरहेको बताए ।

यता गोडैता नगरपालिका शिक्षा शाखाका प्रमुख प्रमोद यादवले पनि सर्टिफिकेट लिन आउने विद्यार्थीहरु सँग पैसा लिने नियम नभएको र पालिका अन्तर्गतका कुनै पनि सरकारी विद्यालायलाई पैसा असुल्न भनि यस शाखाबाट निर्देशन नगएको बताए । नेपाल–भारतको सीमाना नजिकै पर्ने कक्षा पाँच सम्मको अध्ययन सकेर नवयुवक प्राथमिक विद्यालयबाट अन्य विद्यालयमा जाँदा चाहिने प्रमाणपत्रको नाउँमा बिना कुनै बिल दिएर विद्यालय प्रशासनले मनोमानी रकम असुल गरिरहेको अभिभावकहरुको आरोप छ । अभिभावकहरुका अनुसार पठनपाठनको मामिलामा एकदम कमजोर अवस्था रहेको यस विद्यालयबाट ५ कक्षा पास भएका विद्यार्थीहरुको अन्य सामुदायिक विद्यालयमा भर्ना गराउन जाँदा एकैपटक ३ कक्षा घटाएर भर्ना गर्ने गरिएका छन् ।

विद्यालयले खुवाउने दिवा खाजासमेत अनियमित रहेको र खुवाइ हाले पनि गुणस्तरहीन र अस्वस्थकर रहेको अभिभावकहरुको गुनासो छ । विद्यालयका प्रअ रायले “नपढे पनि परिक्षामा पास गरिदिन्छु“, भन्ने प्रलोभन देखाएर विद्यार्थीहरु सँग आफ्नो घर तथा खेतबारीको काममा लगाउने गरेको विद्यार्थीहरुले बताए । नियमावलीमा सार्वजनिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक वापतको शुल्क तथा विद्यार्थीको नाममा कुनै किसिमको शुल्क लिन नपाइने व्यवस्था छ । कुनै विद्यालयले ऐन विपरीत विद्यार्थीसँग कुनै शुल्क लिएमा त्यस्तो शुल्क फिर्ता गराउने प्रावधान पनि छ । ऐन विपरीत शुल्क लिने विद्यालयलाई तोकिएको अधिकारीले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान शिक्षा ऐनमा छ ।

Comment


Related News

Latest News

Trending News