अपडेट 
२०८० बैशाख १७, आईतवार ०६:४६

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान लामो समयदेखि उपकुलपति(भीसी)विहीन रहेको छ । प्रतिष्ठान स्रोतका अनुसार डेढ महिना भन्दा बढी समयदेखि उपकुलपति डा.रामकेवल साह अनुपस्थित रहेका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा प्रतिष्ठानका लागि आवश्यक रकम विनियोजन गराउनसमेत समस्या आएको स्रोतले जनाएको छ । उपकुलपति नहुँदा बजेटमा समावेश गर्न आवश्यक शीर्षक र रकमको विषयमा निर्णय लिन कठिन भएको छ । गत वर्षको फागुन ३० गतेदेखि बिदा बसेका भीसी डा.साह अनुपस्थित रहेको डेढ महिना भन्दा बढी भइसकेको छ । उनको अवस्थाबारे प्रतिष्ठानलाई कुनै जानकारीसमेत नरहेको स्रोतले जनाएका छन् । डा.साहको स्वास्थ्यमा समस्या भएर भारतको राजधानी नयाँदिल्लीमा उपचार भइरहेको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ भीसी ल्याउने गृहकार्यमा सामाजिक विकास मन्त्री सुरिता साह जुटेकी छन् ।स्रोतका अनुसार भीसी डा.साहलाई राजीनामा गर्न मन्त्री साहले दबाब दिन थालेकी छन् ।

डा.साहको स्वास्थ्य स्थिति सुधार हुन समय लाग्ने भएकाले राजीनामा दिएर प्रतिष्ठानको कार्यलाई अगाडि बढाउने मार्ग प्रशस्त गर्न मन्त्री साहले भनेकी स्रोतले जनाए । भीसी डा.साहको लिभरमा समस्या देखिएको र ट्रान्सप्लान्ट गर्ने परिस्थिति हुनसक्ने स्रोतको दावी छ ।त्यसो भए स्वास्थ्यको दृष्टिले तत्कालै प्रतिष्ठानमा कार्य प्रारम्भ गर्न सहज हुने छैन् । सामाजिक विकास मन्त्री साहले विभिन्न निकायमार्फत भीसीका लागि उपयुक्त पात्रको खोजी पनि प्रारम्भ गरिसकेकी छन् ।तर प्रतिष्ठानका पदाधिकारीहरुले योग्य व्यक्तिको चयन गर्न खुल्ला विज्ञापन हुनुपर्ने बताइरहेका छन् । ‘लेनदेनको आधारमा भीसी नियुक्त भए प्रतिष्ठान डुब्न सक्ने उच्च जोखिम छ’ प्रतिष्ठान सम्बद्ध स्रोतले भने, भीसीको नियुक्तिमा सरकारले उदारता देखाउनुपर्छ । प्रतिष्ठान अन्तर्गत सञ्चालित प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार महँगो हुँदै गएकोछ ।अस्पतालमा अनपेक्षित शुल्क सर्वसधारणले तिरे पनि समयमा विज्ञको सेवा भने पाउँदैनन् ।ऋण काढेर भए पनि सरकारी अस्पतालमा शुल्क बुझाउनुपर्ने बाध्यता रहेको देखिन्छ ।

सरकारले ८० जना कर्मचारीको मात्र तलब सुबिधा उपलब्ध गराएको तर सेवामा ४ सय कर्मचारी कार्यरत्त रहेको प्रतिष्ठानका पदाधिकारीहरु बताउँछन् । शुल्क तिर्नै नसक्ने बिरामीलाई प्रादेशिक अस्पतालमा उपचारसमेत हुँदैन् । अस्पताललाई प्रतिष्ठानमा गाभिएपछि भ्रष्टाचार ब्यापक बढेको तर सर्वसधारणको उपचारमा पहुँच कमजोर भएको बताइन्छ ।

Comment


Related News

Latest News

Trending News