अपडेट 
२०८० बैशाख १७, आईतवार ०६:५२

मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले स्वास्थ्यकर्मीहरुको पहिलो मधेश प्रदेश अधिवेशनबाट उर्जावान तथा जनताको पक्षमा वकालत गर्ने नेतृत्वको चयन हुने विश्वास व्यक्त गरेका छन् ।

शनिबार जनकपुरधाममा आयोजित नेपाल स्वास्थ्यकर्मी युनियन मधेश प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै सभामुख मण्डलले सो विश्वास व्यक्त गरेका छन् । मानवको लागि स्वास्थ्यकर्मीहरु सच्चा प्रेमी (रियल लभर) रहेकोले स्वास्थ्यकर्मीहरुले भोग्दै आएको समस्याबारे आफूले सम्बन्धित मन्त्रालयमा ध्यानाकर्षण गराउने प्रतिबद्धता उनले व्यक्त गरे । मानव सेवा नै जीवन हो भन्ने महात्मा गान्धीको भनाइ उल्लेख गर्दै उनले भने,‘जब मानवको स्वास्थ्य खराब हुन्छ अनि स्वास्थ्यकर्मीले उसको उपचार गरेपछि उ कहिल्यै पनि स्वास्थ्यकर्मीलाई बिर्सिदैन त्यसैले स्वास्थ्यकर्मी रियल लभर हुन मानवको लागि देवतुल्य छन्।’ अरुको सेवा गर्दे बित्ने जीवन नै औचित्यपूर्ण जीवन हो भन्दै सभामुख मण्डलले भने,‘ कोभिडको महामारीको संकट होस अथवा अन्य विपद्को समय स्वास्थ्यकर्मीहरुले अग्रस्थानमा रहेर काम गरेको सेवा स्वास्थ्यकर्मी हुनु नै आफैमा गौरवको कुरा हो।’

कार्यक्रममा युनियनका केन्द्रीय प्रतिनिधि उज्जवल शर्माले संघीयता आएपछि हचुवा तालमा गरिएको कर्मचारी समायोजनको सबभन्दा ठूलो क्षति स्वास्थ्यकर्मीहरुले भोग्नु परिरहेको गुनासो पोखे । उनले सयौं स्वास्थ्यकर्मीहरुले समायोजनकै कारण महिनौ सम्मको तलबबाट समेत वञ्चित हुनु परेकोले यसको समाधानका लागि तत्काल पहल हुनुपर्ने उनले माग गरे । युनियनका प्रदेश अध्यक्ष रामबाबु ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका केन्द्रीय उपाध्यक्ष विजय कुमार सिंह,युनियन धनुषाका अध्यक्ष छेवी मण्डल,केन्द्रीय सदस्य डम्बर प्रसाद गुप्तालगायतका व्यक्तिहरुले धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News