अपडेट 
२०८० बैशाख १७, आईतवार ०६:५५

जनकपुरधाममा जानकी नवमी भव्यतापूर्वक शनिबार सम्पन्न भएको छ ।

आदर्श नारी सीताको जन्म भएको अवसरमा जानकी मन्दिरको आयोजनामा जानकी नवमी मनाउने गरिएको छ । मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउने गरिन्छ । वैशाख शुक्ल नवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ । जानकी मन्दिर व्यवस्थापन पक्षले जानकी नवमीको अवसरमा विभिन्न कार्यक्रमसमेत गरेका थिए ।

शनिबार बिहानै दुधमती नदीमा स्नान, १० बजेदेखि मन्दिरमा बधाइगान, १२ बजे प्राकट्य उत्सव, साँझमा जानकी डोला यात्रा, रातिमा तिल्कोत्सव र पुनः बधाइ गान गरिएको थियो । जानकी नवमीमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुरधाम आएका छन् । जानकी नवमीको अवसरमा शनिबार बिहानैदेखि जानकी मन्दिर,राम मन्दिर र जनक मन्दिर लगायतको मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरुको भीड लागेको थियो । सो अवसरमा मन्दिरहरु निकै सजाइएको छ ।

यस वर्ष अन्य वर्षभन्दा बढी श्रद्धालुहरुको सहभागिता देखिएको थियो । नगरबासीसहित जानकी नवमीमा आएका श्रद्धालुहरु पनि उत्साहित देखिएका थिए । शनिबार साँझ नगरबासी र विभिन्न हिन्दू संगठनहरुले दीप प्रज्जवलन गरी दीपावली मनाएका छन् । गौं संरक्षण मंच र ब्राह्मण समाज नेपाल, सखि बहिनपा समूहलगायतका संस्थाहरुले दीप प्रज्जवलन आयोजना गरेका थिए भने सेभ द हिस्ट्रोलिकल समूहले जानकी आरतीसमेत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News