
जनकपुरधाम उपमहानगरपालिका– २ भानु चोकमा विवादबीच आदिकवि भानुभक्तको सालिक निर्माण कार्यको शिलान्यस गरिएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा)ले विरोध गरे पनि शनिबार नगर प्रमुख मनोज कुमार साहले सालिकको निर्माण कार्यको शिलान्यास गरेका छन् । तर, निर्माण कार्य सर्वदलीय बैठक बसेपछि मात्रै शुरु हुने बताइएको छ । जसपा र लोसपाले मधेश आन्दोलनका शहीद रमेश महतो सालिक निर्माण हुनुपर्ने माग गरेका छन् ।
नगर प्रमुख साहले समाजकै माग अनुसार त्यहाँ आदिकवि भानुभक्तको सालिक निर्माणको लागि बजेट छुट्याइएको जिकिर गरे । यद्यपि बजेट बारे उनले खुलाउन मानेन् । उनका अनुसार सर्वदलीय र उपमहानगरको बोर्डबाट निर्णय भइ निर्माण कार्य अगाडि बढाइएको छ । अव विवाद देखिएपछि पुनः यही बैशाख २० गते सम्ममा सर्वदलीय बैठक बसेर निर्माण कार्य अगाडि बढाउने उनले बताए । ‘बजेट अण्डर २० लाख रहेको छ । पूर्णतः मलाई थाहा छैन,’उनले भने,‘असार मसान्तसम्म काम सम्पन्न गर्ने हाम्रो लक्ष्य छ ।’ रेडबुकमासमेत यो योजना रहेको छ । र सबै पार्टीको वडाध्यक्षकै सहमतिमा रातो किताबमा समेत योजना राखिएको उनले बताए ।
साविक भानुचोकमा रहेको भानुभक्तको सालिक २०६२/०६३ को मधेश आन्दोलनको क्रममा भत्काइएको थियो । सो चौकको नाम मधेश आन्दोलनका प्रथम शहीद रमेश महतो चौक हुने घोषणा गरिएको जसपा र लोसपाको दाबी छ । यी दलको विद्यार्थी र युवा संगठनहरु मोर्चा बनाई निर्माण कार्य रोक्ने प्रयासमा छन् । शनिबार साझ पनि यी संगठनहरु नगर प्रमुख साहको विरोधमा प्रदर्शन गरेका छन् । विहान शिलान्यास स्थलमा नगर प्रमुख साह पुग्दा युवाहरुले रोक्ने प्रयास गरेका थिए । युवाहरुले विरोध गरेपछि प्रहरीले घेराहाली भीँडलाई रोकेको थियो । र एक मिनेट भित्रै शिलान्यास गरी प्रमुख साह फर्किएका थिए ।