अपडेट 
२०८० बैशाख १८, सोमबार ०७:२७

गुठीको संस्कृति र सम्पदा संरक्षणका लागि मन्दिरको ५ वर्षे महन्त नियुक्तिको प्रक्रियालाई खारेज गर्नुपर्ने सुझाव दिइएको छ ।

गुठी संस्थान केन्द्रीय कार्यालयले आइतबार जनकपुरधाममा आयोजना गरेको गुठीको संस्कृति र सम्पदा संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मठ मन्दिरमा ५ वर्षका लागि महन्त नियुक्त गरिने व्यवस्थालाई खारेज गर्नुपर्ने माग गर्दै जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले महन्तको नियुक्तिको स्थायी व्यवस्था गर्नुपर्ने बताए । ‘नेताको पाँच वर्षे कार्यकालले देशमा अनेक विकृत्ति आएको हो’ उनले भने, त्यसरी नै महन्तको नियुक्ति हुँदा मठमन्दिर र गुठीको सम्पदा मासिएको छ । गुठी संस्थानसित सम्पूर्ण जग्गाको लगत रहेको छ । त्यस अनुसारको जग्गा खोज्न समस्या नहुने उल्लेख गर्दै महन्त दासले भने, तर त्यसलाई भोगमा ल्याउन सम्भव छैन् ।

जनकपुरधाममा रहेको जिल्ला प्रशासन कार्यालय, वन, जिल्ला समन्वय समिति, चरण परीक्षण, पशु कार्यालय, जिल्ला प्रहरी, मालपोत र नापी लगायतका सरकारी कार्यालयहरु नै गुठीको जग्गामा रहेका छन् । प्रमुख जिल्ला अधिकारीले निवास बनाउँदा २ वटा मन्दिरलाई भत्काएर महन्तलाई भगाएको उल्लेख गर्दै उनले भने,दुबै मन्दिरको भगवान पोखरीमा फालिएको छ । जनकपुरधाममा ४० वटा मन्दिर लुप्त भइसकेका छन् । केही भगवानका मूर्ति बेचिएको, केही चोरी भएको र केही पोखरीमा फालिएको अवस्था छ । गुठी संस्थानले ती सबैको खोजी गर्नु आवश्यक छ । गुठीको ऐन बन्ने क्रममा रहेकाले संस्कृति र सम्पदा संरक्षणका लागि स्थानीय प्रशासनको सहयोग आवश्यक रहेको गुठी संस्थान काठमाण्डुका कार्यालयका प्रमुख राजेन्द्र दाहालले बताए । गुठीको सम्पति हिनामिना गर्ने गुठीका विगतका कर्मचारी र महन्त पुजारीहरु रहेको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले आरोप लगाए ।

कार्यक्रमका सहभागीहरुले व्यक्तिको भोगचलनमा रहेका गुठीको जग्गाको चलनचल्ती अनुसार मुल्यांकन गरी मोल लिएर लालपुर्जा बनाइदिने, अतिक्रमणको क्रममा रहेका जग्गाहरुको संरक्षणका लागि लिजमा दिनुपर्नेलगायतका सुझावहरु दिएका थिए । अन्तरक्रियामा प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुर, मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुर, गुठी संस्थानका अध्यक्ष, प्रशासक किरण शाक्यलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न मठमन्दिरका महन्त, पुजारीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News