अपडेट 
२०८० बैशाख १८, सोमबार ०७:३८

जनकपुरधाम उपमहानगरपालिका भित्र रहेका निजी विद्यालयहरुको अनुगमनको क्रममा बिना दर्ता सञ्चालनमा रहेको विद्यालय फेला परेको छ । बिना दर्ता नै अवैध रुपमा थुपै्र निजी विद्यालयहरु सञ्चालनमा आएको जनगुनासो बढ्न थालेपछि संस्थागत विद्यालय संरक्षण समितिले आइतबारदेखि अनुगमन थालेको छ ।

जनकपुरधाम उपमहानरपालिका–७ जानकी नगरमा नाइटिङगेल स्कुलको नामले सञ्चालनमा रहेको विद्यालय अवैध रहेको फेला परेको छ । अवैध रुपमै त्यो विद्यालयमा कक्षा ८ सम्मको अध्ययन हुने गरेको पाइएको छ । विद्यालयको नाउँ नाइटिङगेल एजुकेशन एकेडमी राखिएको छ भने भने भित्र भगवती आदर्श विद्या मन्दिरको नाउँमा कक्षा संचालन भइरहेको समितिका संयोजक अवधेश तिवारीले बताए । विद्यालयका कर्मचारी ललेन्द्र साहले पुरानो भगवती आदर्श विद्या मन्दिरको नाउँमा विद्यालय संचालनमा रहे पनि नाइटिङगेल एजुकेशन एकेडमीको नाउँ परिवर्तनको प्रक्रिया थालिसकेको बताए । यता जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा सो नाउँको कुनै विद्यालय नै दर्ता नरहेको शिक्षा समितिका सदस्य रवीन्द्र चौधरीले बताए । सो विद्यालय भगवती आदर्श विद्या मन्दिरको नाउँमा कक्षा ६ सम्म मात्र अनुमति लिएको देखिएको छ भने अवैध रुपमा कक्षा ८ सम्मको पढाई हुने गरेको पाइएको छ ।

संयोजक तिवारीले नाइटिङगेल एजुकेशन एकेडमी बिना दर्ताको विद्यालय संचालनमा रहेको पाइएकोले यसलाई तत्काल बन्द गर्न जनकपुरधाम उपमहानगरपालिकालाई आग्रह गर्ने बताए । साथै संस्थागत विद्यालय संरक्षण समितिले कारबाही अगाडि बढाउने बताए । सो विद्यालयमा बिना कुनै स्थानान्तरण प्रमाणपत्रकै विद्यार्थी भर्ना गर्ने गरेको तथा सामुदायिक विद्यालयमा नाम दर्ता भएका विद्यार्थीलाई पढाइरहेको संस्थागत विद्यालयहरुलाई कारबाही प्रक्रियामा जाने संयोजक तिवारीले स्पष्ट पारे । त्यसैगरी, जनकपुरधाम–१ वकिल टोलमा रहेको स्मार्ट एजुकेशन एकेडमी स्थानीय तहको अनुमति बिनै कक्षा पाँच सम्म सञ्चालनमा रहेको पाइएको छ ।सो विद्यालयका प्रधानाध्यापक रमेश कुमार शर्माले विगतमा संचालनमा रहेको त्रिमूर्ति मन्टेशरी स्कुलको शेयर खरिद गरी नाम परिवर्तन गरिएको स्पष्टीकरण दिएका छन् । तत्कालीन जिल्ला शिक्षा कार्यालय धनुषाले २०७४ असार ३० गते जनकपुरधाम ८ मा संचालन गर्न भनि त्रिमूर्ति मन्टेसरी स्कुल संचालनको अनुमति दिइए पनि वडा नं. १ वकिल टोलमा नाम परिवर्तन गरी विद्यालय संचालन भइरहेको पाइएको छ । तर, ती विद्यालयको ठाउँ परिवर्तनलगायत जनकपुरधाम उपमहानगरपालिकाले अनुमति लिइएको छैन।

अनुगमनमा समितिका सहसंयोजकद्वय रवीन्द्र चौधरी, सुजित कुमार मिश्र, प्याब्सनका पूर्व धनुषाका अध्यक्ष विश्वलाल सिँह,प्रमोद अग्रवाल,आशिष झा,डिएन पाण्डे ,डिके चौधरी,दीपक ठाकुरलगायतका संस्थागत विद्यालयका संचालकहरुको सहभागिता रहेको थियो ।

 

Comment


Related News

Latest News

Trending News