
पेट्रोल खन्याई जलाएर भाउजुको हत्या गरेको आरोपमा चलिरहेको मुद्दा उपर सुनुवाई गर्दै अदालतले एक युवालाई आइतबार जन्मकैदको फैसला गरेको छ ।
सप्तरीको बोदेबर्साइन नगरपालिका –१ का २२ वर्षीय परमेश्वर साहलाई आफ्नै २७ वर्षीया भाउजु राजकुमारीलाई पेट्रोल छर्केर आगो लगाई ज्यान मारेको अभियोगमा जन्मकैद र ३ लाख क्षतिपूर्ति भराउने फैसला भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले उक्त मुद्दाको सुनुवाई गर्दै यस्तो फैसला गरेका छन् । यस्तै बयान फेरेको आरोपमा मृतकका पति २९ वर्षीय रबिनसमेतलाई ५ दिन कैद र २ हजार जरिवानाको फैसला भएको अदालतले जनाएको छ ।
घरायसी विवादमा २०७८ साल माघ २१ गते घरमा खाना पकाइरहेका बेला अचानक पछाडिबाट आएका देवर परमेश्वरले पेट्रोल खन्याइ आगो लगाइदिदा राजकुमारी गम्भीर घाइते हुँदा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले अदालतमा पेश गरेको कागजात प्रमाणमा उल्लेख छ । शुरुमा मृतककी ५ वर्षीया छोरी पूजा र श्रीमान रबिनले पनि परमेश्वरले आगो लगाएर मारेको बयान दिएका थिए । तर, राजकुमारीको मृत्यु भएपछि श्रीमान रबिनले भने भाइसँग मिलि बयान फेरेकाले उनलाई पनि झुटो वकपत्र वापत कैद सजाय तोकिएको अदालतले जनाएको छ । मृतकका बुवा बद्री साहको जाहेरीले पीडितका तर्फबाट सरकारी वकिल मो.मुन्नाका साथै अधिवक्ता किरणकुमारी साह र अशोक चौधरीले निःशुल्क बहस गरेका थिए । प्रतिवादीका तर्फबाट अधिवक्ता बालकिशोर यादव र बिमल साहले बहस गरेका थिए ।
पीडितको तर्फबाट निःशुल्क बहस पैरवी गरेकी प्रदेशसभा सदस्यसमेत रहेकी अधिवक्ता किरणले आफू पहिले देखि नै पीडितको पक्षमा न्यायका लागि बहस पैरवी गर्दै आएको भन्दै आइतबार अदालतले गरेको फैसलाबाट अझै आफ्नो हौसला बढेको जनाएकी छन् ।