अपडेट 
२०८० बैशाख १९, मंगलवार ०७:३३

नापी कार्यालय धनुषाका प्रमुख सुमन कुमार मिश्रले आफूलाई कार्यालयमा कुटपिट नगरेको दाबी गरेका छन् ।

बिदाको दिन नापी कार्यालयमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूलाई कुटपिट नगरेको दाबी गरेका छन् । यसअघि उनले आफूलाई कुटपिट गरिएको बताउँदै विभिन्न निकायलाई गुहारेका थिए ।नापी कार्यालयको स्रेस्तामा एकजना जग्गा धनीको कित्तामा केरमेट गरिएको जनाउँदै झण्डै १ वर्षदेखि ज्येष्ठ नागरिकलाई दुःख दिदैँ आएका मिश्रले दलालमार्फत रकमको मोलमोलाई गरेको पीडितको दुखेसो छ ।

कार्यालयमा कुटपिट भएको घटना कैद भएको सीसीटीभी फुटेज भने डिलिट गरिसकिएको छ । पत्रकार सम्मेलनमा उनले सीसीटीभी फुटेज डिलिट भएको बताएका छन् । तर त्यसबेला कार्यालयमा उपस्थित सेवाग्राहीहरुका अनुसार प्रमुख मिश्रलाई हातपात गरिएको थियो ।सीसीटीभी चालु रहेकाले त्यो दृश्य त्यसमा हुनुपर्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले डिलिट भइसकेको भन्दै देखाउन मानेनन् । स्रोतहरुका अनुसार कार्यालयमा लेनदेन भएको दृश्यसमेत सीसीटीभीमा रेकर्ड भएकाले त्यो समेतको दृश्य डिलिट गरिएको छ ।

पत्रकार सम्मेलनमा उनले आफू विरुद्ध गलत समाचार प्रकाशन भएको आरोप लगाए । मिश्र प्रमुख भएपछि कुटपिटको घटना पहिलो पटक भएको होइन् । यस अघि पनि मिश्रले एकजना ठाकुर थरकी महिलासित अभद्र व्यवहार गर्दा कुटिएका थिए । जग्गा नापीको सर्जमिन मुचुल्का देखाउने विषयमा विवाद भएको र त्यस क्रममा महिलाले हात हालेकी थिइन् ।

नापी कार्यालयमा हाल अवकास प्राप्त केही मानिसलाई दलालको रुपमा सक्रिय गराइएको छ ।रितपूर्वक हुने काममासमेत अनुचित रुपमा लाभ लिने गरिएको आरोप सेवाग्राहीहरुको छ । कार्यालयमा निरन्तर विवाद र झैझगडा हुनुको प्रमुख कारण घुस रहेको बताइन्छ । नियमबमोजिम हुने काममासमेत सेवाग्राहीहरुलाई दुःख दिने, कित्ताकाट रोकिएको बेला पनि मोटो रकम लिएर अवैध ढंगले कित्ताकाट गरेको प्रमुखमाथि आरोप लागेको छ । मठमन्दिरको जग्गाको नापजाँचसमेत नगरी व्यक्तिलाई अवैध रुपमा भोगचलन गर्ने वातावरण मोटो रकम लिएर बनाइदिने मिश्रको कारण कयौं मठमन्दिरको जग्गा गैरकानूनी ढंगले व्यक्तिहरु कब्जा गरेका छन् ।

Comment


Related News