
धनुषामा टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । सोमबार सबैला नगरपालिका– १२ रघुनाथपुरमा टिपरको ठक्करबाट सात वर्षीय रियांस कुमार दनुवारको मृत्यु भएको छ ।
प्रदेश २–०३–००१ क १६२१ नम्बरको टिपरले किचिएर रियांसको घटना स्थलमै मृत्यु र सोही ठाउँकी राधी कुमारी दनुवार घाइते भएको धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन् । उनका अनुसार बालकको मृत्यु भएपछि स्थानीय आक्रोशित भएका थिए । आक्रोशित स्थानीयले ठक्कर दिने टिपरमा तोडफोड र आगजनी गर्न खोज्दा अवस्था तनावग्रस्त भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउण्ड हवाई फायरसमेत गरेका थिए । टिपरका चालक फरार रहेका छन् । स्थानीयले टिपर चालकलाई पक्राउ गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्नेलगायतको माग राखेर प्रदर्शन गरेका थिए ।
प्रहरीले साँझ दुबै पक्षको प्रतिनिधि राखेर छलफल गरेका थिए । तर सहमति हुन सकेनन् । वार्तामा सहमति नभए पनि स्थानीयले पुनः टिपर अगाडि गइ प्रदर्शन गरेका थिए । टिपरलाई प्रहरीको जिम्मा लगाउने, शव पोस्ट मार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाउने, फरार चालकलाई पक्राउ गर्ने र क्षतिपूर्ति दिलाउने एक चरणको सहमति भए पनि मृतक परिवारको आफ्न्तहरुले नमानेको प्रहरीको भनाइ छ ।