
मिथिला राज्य संघर्षसमितिको धर्नाको क्रममा रामानन्दचोकमा भएको बम विष्फोटमा परी शहादत दिएका पाँच जना शहीदहरुको श्रद्धाञ्जलीसभा मनाइएको छ ।
रामानन्द युवा क्लबको आयोजनामा सोमबार घटनास्थल रामानन्दचोकमा शहीदहरुको तस्वीरमा अबिर र माल्यापर्ण गर्दै श्रद्धाञ्जलीसभा मनाइएको छ । आजभन्दा ११ वर्ष पूर्व बैशाख १८ गतेको दिन मिथिला राज्यको माग गर्दै जनकपुरधामको रामानन्द चोकमा शान्तिपूर्ण धर्नामा बसेकाहरूमाथि बम प्रहार गरिएको थियो । समितिको अगुवाइमा २०६९ साल बैशाख १८ गते भइरहेको शान्तिपूर्ण धर्नाको क्रममा धर्नास्थलमा बम प्रहार हुँदा मिथिला नाट्यकला परिषद् का कलाकार रञ्जु झा, सुरेश उपाध्याय, दीपेन्द्र दास, झगरू मण्डल र विमल शरणको मृत्यु भएको थियो भने विष्फोटमा परी तीन दर्जन भन्दा बढी घाइते भएका थिए । घाइते मध्ये कसैको कान काटिएको छ भने कसैको पेटमा छर्रा लागेको छ भने कसैको औंला नै कटेर अपाँग बनेका छन् ।
बम विष्फोटमा परी ज्यान गुमाउनेहरूलाई सरकारले शहीद घोषणा गरिसक्दा सो विष्फोट गराउने मुख्य योजनाकार पूर्वराज्यमन्त्री सञ्जय साह (टकला)सहित ७ जनाले जन्मकैदको सजाय पाएका छन् । जिल्ला अदालत धनुषाले साहसहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको छ । कार्यक्रममा मिथिला राज्य संघर्ष समितिका संयोजक परमेश्वर कापडी,मिथिला नाट्यकला परिषदका अध्यक्ष प्रमेश झा, पूर्व अध्यक्ष सुनिल मल्लिक,मिथिला अभियानी एवम् प्राज्ञ रमेश रंजन झा,गायक नविन मिश्र,युवा अभियन्ता सरोज मिश्रलगायतका व्यक्तिहरुले शहीदहरुको स्मरण गर्दै मिथिला आन्दोलनलाई तीव्र पार्नु पर्ने कुरामा जोड दिएका थिए । उनीहरुले शहीदहरुको सम्मानमा ट्रष्ट स्थापना गरेर मिथिला मैथिलीको लागि धेरै थोक गर्न सकिने धारणा समेत राखेका थिए