
नेकपा एमालेबाट महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लक्ष्मी महतो कोइरीको खोजीमा प्रहरी जुटेको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई नेपाल प्रहरीले एमाले सांसद लक्ष्मी महतो कोइरी फरार अवस्थामा रहेको जानकारी गराउँदै दोस्रो पत्र पठाएको छ । हत्या अभियोग लागेका सांसद कोइरी प्रतिनिधिसभाको बैठकमा लगातार २० पटक भन्दा बढी अनुपस्थित भइसकेका छन् । सांसद कोइरी हाल फरार रहेको र निजको खोजी भइरहेकोबारे सभामुखलाई आइतबार दोस्रो पटक पत्र पठाइएको प्रहरी प्रवक्ता डीआइजी कुवेर कडायतले जनाएका छन् ।
गत पुस ७ गते प्रहरीले सभामुखलाई महतो फरार सूचीमा रहेको जानकारी प्रहरीले गराएको थियो । ‘सांसद कोइरीमाथि हत्या अभियोग लागेको, उनी हाल फरार रहेको र प्रहरीले खोजी गरिहेको बारे सभामुखलाई दोस्रोपटक जानकारी गराउँदै पत्र पठाएका छौँ’ डीआईजी कडायतले भने, प्रहरीको फरार सूचीमा रहेका महतोलाई पक्राउ प्रहरीले गर्नेछ । संसद सचिवालयमा प्रहरी प्रधान कार्यालयबाट सांसद लक्ष्मी महतो कोइरीको बारेमा जानकारी पत्र आएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरिले जनाएका छन् । गत पुस ७ गते पनि महतोको अभियोग र प्रहरीले खोजी गरिरहेको विषयमा सभामुखलाई जानकारी गराएको उनले बताए । सांसद महतो फरार रहेको सूचीमा रहेको जानकारी प्रहरीले संसद सचिवालयमा पठाएकै दिन महतो भने संसद भवनमा प्रवेश गरी शपथ लिएका थिए । त्यसपछि उनी निर्धक्क भएर पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’लाई विश्वासको मत दिएका थिए । पुस ७ गते नै प्रहरीले पत्र पठाए पनि हालसम्म सभामुखले उनलाई निलम्बन गरेका छैनन् ।
गत वैशाख १५ गते हिउँदे अधिवेशनको अन्तिम दिन फरार भएको अभियुक्तलाई बिरामी विदाको लागि सभामुखले प्रस्ताव पेश गरेको भन्दै सांसदहरुले प्रतिनिधिसभा बैठकमा बबाल गरेका थिए । सभामुख घिमिरेले निलम्बन नगरेको विरोधमा सांसदहरूले ५ घण्टासम्म संसद बैठकलाई अवरोध गरेका थिए । सभामुख घिमिरेले अर्को बैठकमा महतोको विषयमा निर्णय लिने बताएपछि सभा सुचारु भएको थियो । सांसद कोइरीमाथि ७ वर्षअघि मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका जवान थमन विक हत्याको आरोप लागेको थियो । त्यस मुद्दामा उनी जिल्ला अदालत महोत्तरीबाट १ लाख धरौटी तारेखमा रहेका थिए । तर २०७७ मंसिर महिनामा उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर मुद्दा प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । त्यसपछि उनी अदालतमा हाजिर नभइ तारेखहरु तोडेर बसेको बताइन्छ । प्रहरीले सांसद कोइरी हत्या अभियुक्त रहेको, हाल फरार रहेको र उनको बारेमा अदालतमा मुद्दा चलिरहेको बारे पत्रमार्फत सभामुखलाई जानकारी गराएपछि उनलाई निलम्बन गर्ने बाटो खुलेको कानूनविद्हरुले जनाएका छन् । प्रतिनिधिसभा नियमावलीको नियम २४८ मा सदस्यको पक्राउ सम्बन्धी व्यवस्था गरिएको छ । सो नियममा रहेको व्यवस्था अनुसार सभामुखलाई सांसद कोइरीबारे प्रहरीले गराएको पत्रअनुसार उनलाई निलम्बन गर्ने बाटो खुलेको छ ।
नियमावलीको नियम २४८ को उपनियम ३ अनुसार उनी पक्राउ नपरे पनि निलम्बित हुनेछन् । उपनियम ३ मा भनिएको छ– ‘प्रचलित कानून बमोजिम ३ वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोग पत्र दायर भइ निज पुर्पक्षका लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन ।‘ त्यस्तो अवधिभर उनी निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ ।’ भन्ने व्यवस्था रहेको छ । यो व्यवस्था अनुसार सांसद कोइरी स्वतः निलम्बनमा पर्नेछन् । तर सांसद महतोले आफू बिरामी रहेको र भारतमा उपचार गराइरहेको पत्र सभामुख घिमिरेलाई पठाएका छन् । सभामुख घिमिरेले सो पत्रबारे प्रतिनिधिसभाको बैठकमा सुनाउँदा सांसदहरुले बैठक नै अवरुद्ध गरेका थिए । सभामुख घिमिरे र सांसद कोइरी एमालेबाट सांसदमा निर्वाचित छन् ।