अपडेट 
२०८० बैशाख १९, मंगलवार ०८:०५

वीरगञ्जको अर्थतन्त्र चलायमान बनाउन नयाँ वर्षदेखि शुरु गरिएको रात्रि बजारले निरन्तरता पाउने भएको छ । हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार लगाउने गरी सबै तयारी गरिएको हो ।

नयाँ वर्षको अवसरमा गएको चैत ३० र बैशाख १, २ गते लगाइएको रात्रि बजार अबदेखि भने हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार लगाइने भएको हो । जस अनुरुप बैशाखको २९ र ३० गते रात्रि बजार लागाइने तयारी गरिएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको उपस्थितिमा आइतबार सांझ बसेको रात्रि बजार व्यवस्थापन समितिको बैठकले रात्रि बजारलाई अझै विस्तार गर्दै लैजाने निर्णय गरेको हो । यस पटक रात्रि बजार माइस्थान चोकदेखि आदर्शनगर चोक हुँदै पशुपति घोष चोकसम्म बिस्तार गरेर लगाउने निर्णय बैठकले गरेको छ । बैठकमा नगर प्रमुख राजेशमान सिंहले वीरगञ्जको व्यापार ब्यवसाय अबेरसम्म संचालन गर्ने वातावरण बनाउन रात्रि बजारलाई निरन्तर रुपमा अघि बढाउने प्रयास गरिएको बताए ।

महानगरले यहाँको बजार चलायमान बनाउन पहल गरिदिएको भन्दै महानगरप्रमुख सिंहले रात्रि बजारलाई निरन्तरता दिन अब उद्योगी व्यवसायी नै अग्रसर भएर आउनु पर्नेमा जोड दिए । वीरगञ्ज उद्योग वाणिज्य संघले बजारको नेतृत्व लिएर अघि आउन आग्रह गर्दै उनले सुरक्षा तथा अन्य व्यवस्थापनको जिम्मा महानगरले लिने पनि उल्लेख गरे । उनले रात्रि बजार लाग्ने समयमा नेपाल भारत मुख्य सीमा चौबिसै घण्टा खुल्ने व्यवस्था मिलाइएकोले सीमापारका पर्यटकको आगमन बढ्ने र बजार चलायमान हुने विश्वास पनि व्यक्त गरे । बैठकमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल पटवारीले रात्रि बजार संचालनका लागि आवश्यक सहयोग गर्न उद्योग वाणिज्य संघ तयार रहेको प्रतिबद्धता व्यक्त गरे । बैठकले अहिले सटरमा संचालन गरिरहेको व्यवसायलाई अबेर रातिसम्म संचालन गराउन आग्रह गर्ने निर्णय गर्नुका साथै रात्रि बजारका दिन आवश्यक स्टलहरुको व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा एन.वाई.इ.एफका आंशु कुमार सर्राफले रात्रि बजार संचालनको बारेमा कार्यपत्र प्रस्तुत गर्दै उद्यमका नयाँ नयाँ आयाम पस्केर फरकपन दिँदा बजारले रौनक पाउने बताए । बैठकले रात्रि बजार व्यवस्थापन समितिमा उद्योग वाणिज्य संघलाई पनि समेटेको छ । नयाँ वर्षमा पुरानो बसपार्कमा राखिएका स्टल अबदेखि भने सडक पेटीमै स्टल राखेर बजार संचालन गराइने बैठकले निर्णय पनि गरेको छ । माइस्थान चोकदेखि आदर्शनगर चोक हुँदै पशुपति घोष चोकसम्म लाग्ने रात्रीबजारमा थरिथरिका स्टलहरु राखिने छ । विशेष गरेर विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टलहरु राखिने रात्रि बजार व्यवस्थापन समितिका सदस्य समेत रहेका ग्रिनसिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।

बैठकमा ग्रिनसिटी सामुदायिकका सञ्जय अग्रवाल, एन.वाई.ई.एफका विकाश ठाकुर, अनुप अग्रवाल, सुरेश कुमार रुंगटा, छवि सर्राफ, अफसाना खान, सपना अग्रवाल, सुनिल कुमार कादमियाँ लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News