अपडेट 
२०८० बैशाख २०, बुधबार ०७:२१

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई संघीय संसद सचिवालयले निलम्बन गरेको छ ।

नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक आइतबार पत्र पठाएपछि उनलाई निलम्बन गरेको संघीय संसद सचिवालयले जनाएको छ । यस अघि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कोइरी बिरामी रहेको जनाउँ संसद बैठकमा दिँदा सांसदहरुले बैठक अवरुद्ध गरेका थिए । झण्डै ७ घण्टा अवरुद्ध भएको बैठकलाई सुचारु गर्न सभामुख घिमिरेले कारबाही हुने बताएका थिए । गत मंसिरमा सम्पन्न आमनिर्वाचनमा एमालेको टिकटमा कोइरी महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट तत्कालीन गठबन्धनबाट माओवादी केन्द्रका उम्मदेवार गिरिराजमणी पोखरेललाई पराजित गरेका थिए । उम्मेदवारी दर्ताको दिन जनता समाजवादी पार्टी(जसपा) बाट टिकट नपाउने निश्चित भएपछि सो पार्टी परित्याग गरी एमालेको टिकटमा उम्मेदवार बनेका महतोले पोखरेललाई पराजित गरेका थिए ।जसपा र एमालेको चुनावी गठबन्धन रहेको थियो ।

मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनी हालसम्म फरार छन् । २०७२ सालमा भएको मधेश आन्दोलनमा मारिएका बिकको हत्या अभियोग लागेका महतोले जिल्ला अदालत महोत्तरीबाट १ लाख धरौटी तारेखमा छुटेका थिए । वारेसबाट उम्मेदवारी दर्ता गरेका कोइरीले प्रतिनिधि सभामा भएको सामूहिक शपथग्रहण समारोहमा शपथ लिएका थिए । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई समर्थन गर्दा कोइरीले पनि उनको पक्षमा मतदान गरेका थिए । महतो एमालेबाट प्रतिनिधि सभामा निर्वाचित भए पनि उनका छोरा डा.दीपेन्द्र महतो जसपाबाट महोत्तरी जिल्लाको गौशाला नगरपालिकाका मेयर छन् । सो मुद्दाका अभियुक्तहरु मध्ये अभिराम शर्मा, रामशंकर मिश्रालगायतलाई तारेखमा छाडिएको छ । महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’बाट लगातार दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पूर्व सांसद कोशलकुमार यादवलगायतका केही अभियुक्तहरु फरार छन् । यादवलाई सम्पूर्ण चलअचल सम्पत्ति अदालतले रोक्का गरेको छ । फरार अवस्थामा नै गोपाल सेवा समितिको केन्द्रीय अध्यक्ष बनेको दाबी गरिरहेका छन् ।

Comment

Related News