अपडेट 
२०८० बैशाख २०, बुधबार ०७:३१

उपचारको बहाना बनाएर अस्पतालको शौचालयबाट फरार भएका प्रतिवादी पक्राउ परेको छ ।

महोत्तरी प्रहरीले करीब एक महिनापछि लोहारपट्टी नगरपालिका– ९ का २१ वर्षीय कृष्णा यादबलाई पक्राउ गरेको छ । उनी अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान, चोरी र अपराधिक षड्यन्त्र मुद्दामा पुर्पक्षमा जलेश्वर कारागारमा थिए । गत चैत २४ गते उपचारको बहाना बनाएर जनकपुरधामको आर्या अस्पतालमा आएका थिए । त्यहाँबाट शौचालयको झ्याल फोडेर उनी फरार भएका थिए ।

सोमबार राति प्रहरीले जलेश्वर नगरपालिका– ३ मलिबारा स्थितमा लुकीछिपी हिडदै गरेको अबस्थामा उनलाई पक्राउ गरेको नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । उनका अनुसार यादव उपर कैदीबन्दी भागे/भगाएको कसूरमा कारागार ऐन २०७९ बमोजिम म्याद थप गरी थप अनुसन्धान शुरु भएको छ ।

पक्राउ परेका यादवमाथि जनकपुरधाम उपमहानगरपालिका– ७ माछा बजारका १६ वर्षीय अजय भन्ने अर्जुन साहको हत्याको आरोप छ । लेनदेन मुद्दामा उनले पूर्व योजना बनाइ अर्जुनको टेम्पो भाडामा लगी एकान्त स्थलमा पुगेर घाँटी थिची हत्या गरेर झारीमा फालेका थिए । सोही घटनामा जिल्ला अदालत महोत्तरीले यादवसमेतलाई अपहरण तथा शरीर बन्धक ,कर्तव्य ज्यान, चोरी र अपराधिक षड्यन्त्रसमेतको मुद्दामा गत भदौ २६ गते पुर्पक्षको लागि कारागार कार्यालय महोत्तरी जलेश्वरको थुनामा पठाएको थियो ।

यस्तै, इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्ष फोडेर फरार भएका ६ जना अभियुक्तमध्ये पाँचजनालाई प्रहरीले पक्राउ गरे पनि सोही घटनाका २५ वर्षीय रोशन यादव अझै पक्राउ परेका छैनन् । उनी फरार भएको तीन महिना वितिसक्यो । प्रहरीले रोशन भागेर देशबाहिर गएकाले उनलाई पक्राउ गर्न नसकिएको बताएको छ । उनी ०७८ माघ ४ गते राष्ट्र सेवामा बाधा विरोध गरेको आरोपमा पक्राउ परेका थिए । उनीसहित थुनुवा कक्ष फोडेर ६ जना गत माघ १५ गते राती फरार भएका थिए ।

Comment


Related News

Latest News

Trending News