अपडेट 
२०८० बैशाख २०, बुधबार ०७:३४

राजविराज स्थित बालमन्दिर निरीक्षणका लागि पुगेका मधेश प्रदेशका शिक्षा विज्ञान प्रविधि मन्त्री महेशप्रसाद यादव त्यहाँको अवस्था हेरेर आश्चर्यमा परे ।

यसै बालमन्दिरमा वाल्यकालमा अध्ययन गरेका उनी उक्त संस्थाको जीर्ण भवन, घटेको विद्यार्थी संख्या देखेर दुःखित पनि बने । उनी पढ्दा सञ्चालनमा रहेको बालमन्दिरको रिक्सा थोत्रिएको तथा रिक्सा चालकलाई तलब दिन सक्ने क्षमता नरहनाले एउटा कुनामा थन्क्याईएको गम्भीरताका साथ नियालेपछि यादवले भने, बाल्यकालमा मैले पनि चढ्ने गरेको यो रिक्सा त यस्तो पो भएछ । पाँच कक्षासम्म पठनपाठन हुने बालमन्दिरमा त्यो बेला सयौं बालबालिका अध्ययनका लागि आउने गरेकोमा अहिले ९० जनामा मात्रै सीमित रहेको जानकारी पाउँदा उनले निकै खिन्नता व्यक्त गरे ।

मन्त्री यादवलाई पाँच कोठे भवन जीर्ण भएका कारण जेनतेन मर्मत सम्भार गरी सञ्चालनमा ल्याइएका दुई वटा कोठामा समूह बनाएर पाँच कक्षासम्मको पढाई सञ्चालन गरिरहेको प्रधानाध्यापक शान्ति झाले जानकारी दिइन। उनका अनुसार कक्षा १ मा २०, २ मा १५, ३ मा १७, ४ मा ११, ५ मा १० र बाल विकासमा १७ विद्यार्थी हाल अध्ययनरत छन् ।

त्यस्तै अहिले ४ जना शिक्षकबाट पढाइ संचालनमा रहेको प्रधानाध्यापक झाले जानकारी दिइन । जीर्ण भवनको मर्मत, स्वच्छ पिउने पानीको व्यवस्था तथा खेलकुद सामग्रीको व्यवस्था आवश्यक रहेको मन्त्री यादवलाई विद्यालयका तर्फबाट जानकारी गराइएको थियो । हाल संघीय सरकार मातहत रहेको बालमन्दिरको अवस्था सुधार गर्नका लागि बजेटको आवश्यकता रहेको शिक्षा अधिकृत भोगेन्द्र यादवले जानकारी गराएका छन् ।

मन्त्री यादवले उक्त बालमन्दिरलाई पुरानै अवस्थामा फर्काइ नमुना विद्यालय बनाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । २०२६ सालमा तत्कालीन वडा महारानी रत्नराज्य लक्ष्मीदेवी शाहले उद्घाटन गरेपछि बालमन्दिरमा पठनपाठन शुरु भएको थियो । त्यतिबेला एघार जना शिक्षक तथा चार सय विद्यार्थी अध्ययनरत रहेको उक्त बालमन्दिरमा बजेट तथा साधन स्रोतको कमी भए संगै विद्यार्थी संख्या पनि घट्दै गएको छ ।

Comment


Related News

Latest News

Trending News