अपडेट 
२०८० बैशाख २०, बुधबार ०७:४३

जनकपुरधामको भानुचोकमा निर्माण हुन लागेको भानु स्मारकको निर्माण कार्य स्थगित गरिएको छ ।

मधेश आन्दोलनको क्रममा भत्काइएको भानु स्मारक जनकपुरधाम उपमहानगरपालिकाले पुनः निर्माण गर्न थालेपछि मधेशवादी दल र सम्बद्ध विद्यार्थी संगठनहरु विरोधमा उत्रेपछि दुबै पक्षबीच सहमति नभए सम्म निर्माण कार्य स्थगित गरिएको मेयर मनोज कुमार साहले जानकारी दिए । स्मारक निर्माणको विषयमा निर्णय गर्न मंगलबार अधिकृत संगम जनकपुरधाममा विभिन्न दश दलका प्रतिनिधिहरुबीच छलफल गरिए पनि सो छलफल निष्कर्षविहीन बनेको छ । ‘बैठक निष्कर्षविहीन भयो तर विवाद समाधान नहुन्जेल निर्माण कार्य स्थगित गर्ने निर्णय हामीले गरेका छौं’,मेयर साहले स्पष्ट पारे । बैठकमा सहभागी विभिन्न दश दलका प्रतिनिधि मध्ये लोकतान्त्रिक समाजवादी तथा जनता समाजवादी पार्टीका प्रतिनिधि बाहेक सबै दल भानुचोक निर्माण गर्नेमा सहमत रहे पनि अहिलेलाई निर्माण कार्य स्थगित गरेर नागरिक समाजसंगसमेत छलफल गरी समस्याको समाधान निकाल्न सुझाव दिएकोले सोही अनुसार निर्णय गरिएको मेयर साहले बताए ।

मेयर साहले आगामी २२ /२३ गते आन्दोलनमा उत्रेका लोकतान्त्रिक विद्यार्थी संघ नेपालसंग वार्ताको लागि तयारी गरिएको जानकारी दिँदै उनले भने,‘त्यसपछि यहाँका नागरिक समाजका अगुवाहरुसंगसमेत छलफल गर्ने सुझाव आएको छ र सोही अनुसार आफू अगाडि बढ्ने छु।’ बैठकमा सहभागी लोसपाका धनुषा जिल्ला अध्यक्ष परमेश्वर साहले जनकपुरधाम उपमहानगरपालिकाले निर्माण कार्य थालेको र सोको विरोधमा उत्रेका आन्दोलनकारीहरुसंग वार्ता नगरी कुनै पनि निष्कर्ष निस्किन नसक्ने भएकोले सोहीअनुसार अघि बढ्ने निर्णय गरिएको बताए ।

त्यसैगरी, बैठकमा सहभागी जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख विश्वराज खड्काले स्मारक निर्माण गर्न राजनीतिक दलहरुबीच सहमतिमै अगाडि बढ्नु उचित हुने भन्दै सहमतिको लागि नै प्रयास गर्नु पर्ने बताए ।

बैठकमा नेपाली कांग्रेसका धनुषा जिल्ला अध्यक्ष योगेन्द्र पजियार,माओवादी केन्द्रका दीपक यादव,एकीकृत समाजवादी पार्टीका प्रतिनिधि,तराई मधेश लोकतान्त्रिक पार्टीका नेतृ विभा ठाकुर,जनता समाजवादी पार्टीका ज्ञानेन्द्र यादव तथा पशुपति यादव,लोकतान्त्रिक समाजवादी पार्टीका धनुषा जिल्ला अध्यक्ष परमेश्वर साह,जनमतका प्रतिनिधि सुरेन्द्र मण्डल,राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि तथा उद्योग वाणिज्यसंघ जनकपुरधामका अध्यक्ष जीतेन्द्र महासेठ तथा चेम्बर अफ कमर्स धनुषाका अध्यक्ष विजय साहको सहभागिता रहेको थियो ।

त्यसैगरी,बैठकमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल तथा प्रहरी उपरीक्षक विश्वराज खड् कासहितको सहभागिता रहेको थियो । मधेश आन्दोलन ताका भत्काइएको जनकपुरधामको भानुचोक आदिकवि भानुभक्त आचार्यको स्मारक पुनः निर्माणका लागि शिलान्यास गर्दा मधेशवादी दल एवम् सम्बद्ध विद्यार्थी संगठनहरुले विरोध गर्दै आएका छन् । आन्दोलनकारीहरुले यहाँ मधेश आन्दोलनका शहीद रमेश महतोको सालिक हुनुपर्ने माग गर्दै आएका छन् ।

शनिबार भानु चोकमा विवादको वावजुद जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले स्मारक निर्माणका लागि शिलान्यास गरेका थिए । त्यसपछि विरोधमा उत्रेकाहरुले निरन्तर रुपमा आन्दोलनका कार्यक्रमहरु गर्दे आएका छन् । स्मारक निर्माणका लागि उपमहानगरपालिकाले २० लाख वजेट विनियोजन गरिसकेको छ । यसैबीच राजावादीहरुले जानकी मन्दिरमा भत्काइएको राजा महेन्द्र र जीरो माइलमा भत्काइएको वीरेन्द्रको स्मारक निर्माण गर्नुपर्ने माग अघि सारेका छन् । त्यस्तै, लोकतान्त्रिक युवा संघले भानु चोकलाई रमेश महतो चोक नामकरण हुनुपर्ने माग गर्दै आन्दोलन गर्दै आइरहेका छन् । सोही क्रममा मंगलबार उक्त चोकमा दीप प्रज्ज्वलनसमेत गरेका छन् ।

Comment


Related News

Latest News

Trending News