अपडेट 
२०८० बैशाख २१, बिहीबार ०८:५५

नापी कार्यालय धनुषाका प्रमुख सुमन किशोर मिश्रले अनुचित लाभ लिएर सरकारी इनारसहित ७ धुर जग्गा व्यक्तिको नाममा दर्ता गरेका छन् ।साबिक धनुषा जिल्लाको कुर्था गाविस वडा नम्बर ८ हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ मा सार्वजनिक इनारलाई नै लुप्त बनाइ व्यक्तिको नाममा ७ धुर जग्गा थप गरी नक्सा र पुर्जासमेत मिश्रले बनाइ दिएका छन् ।

२०७९ मंसिर १५ गते टोली प्रमुख दिलीप कुमार साह र कार्यालय प्रमुख मिश्रले ९ धुर जग्गालाई १६ धुर कायम गरी प्रमाणपुर्जा बनाउन मोटो रकमको चलखेल भएको छ । गाउँ ब्लकको जग्गा नापी हुँदा कुर्था वडा नम्बर ८ सिट नं.५–३१३–०३ कित्ता नम्बर २६ को जग्गा १ नम्बर नापी टोलीबाट नापनक्सा हुँदा ०,२३०.०० वर्ग मिटर कायम गरिएकोमा ७ दिन भित्र नै स्थानीय बासिन्दाले आवश्यक प्रमाणसहित इनारको जग्गा पास नगर्न निवेदन दिएको देखिन्छ । ०६९ कार्तिक २० मा इनारको जग्गा रोक्न मागसहितको निवेदन दर्ता भएपछि कार्यान्वयन रोकिएको थियो । नापी कार्यालयको ७ नम्बर फारममा जगदीश झाको नाममा ९ धुर जग्गा कायम रहेको देखिन्छ । जगदीश झाले दाजुभाइमा गरेको अंशवण्डामासमेत ९ धुर जग्गा नै उल्लेख छ ।तर साह र मिश्रले मोटो रकम लिएर सार्वजनिक इनार रहेको जग्गा ७ धुर थप गरी १६ धुरको प्रमाणपुर्जा बनाएको आरोप स्थानीयले लगाएका छन् । फिल्डबुक उतार, ७ नम्बर फारमको प्रतिलिपि र झाको अंशवण्डा भएको कागजातको प्रतिलिपिसमेत नापी कार्यालयमा निवेदन साथ स्थानीय बासिन्दाले पेश गरेका छन् । जग्गा नापी गर्ने अमिन नवलकिशोर यादवले प्रतिवेदन दिएको आधारमा जग्गाको पुर्जा कायम भएको टोली प्रमुख साहले बताए । ‘मैले कुनै लेनदेन नगरी सिफारिस मात्र गरेको छु’ उनले भने, जसको टेबुलबाट भएको हो, त्यसले जानुन् । उनले इनार रहेको विषयमा कुनै प्रतिकृया जनाउन चाहेनन् ।

स्थानीय बासिन्दाका अनुसार त्यहाँ हालपनि सार्वजनिक इनार कायम रहेको छ ।तर नापीले त्यो इनारलाई नै लुप्त बनाइदिएको छ ।सडक छेउमै रहेको सो इनारको पानी स्थानीय बासिन्दाहरुले उपभोग गर्दै आएका छन् । नापीले इनारलाई लुप्त गरी त्यो जग्गा जगदीश झाको नाममा कायम गरिदिएको छ ।

नापी कार्यालयका प्रमुख मिश्रले नापीको७ नम्बर फारम, व्यक्तिको अंशवण्डा र वडा कार्यालयले दिएको सिफारिसलाई समेत वेवास्ता गर्दै मोटो रकम लिएर व्यक्तिको निवेदनको भरमा जग्गा कायम गरिदिएको छ । कार्यालयले गरेको ठहर निर्णयमा कि.नं.२६ को जग्गा जगदीश झाको हक प्रमाण बलियो देखिएकोले निजको नाममा अस्थायी दर्ता गर्नेगरि निर्णय ठहर गरिएको उल्लेख छ । वडा अध्यक्ष राजु साहले झालाई दिएको भोग सिफारिसमा खाली जग्गादेखि उत्तर उल्लेख रहेको छ । इनारको खाली जग्गा र त्यसपछि इनार कायम रहेको साहले बताए । तर नापी कार्यालयका प्रमुख मिश्र, टोली प्रमुख साह र अमिन यादवले इनार र खाली जग्गासमेतको दर्ता झाको नाममा गरिदिएका छन् । झाको दाजुभाइबीचको अंशबण्डा र नापी कार्यालयको ७ नम्बर फारममा उल्लेखित ९ धुर जग्गालाई हाल १६ धुर कायम गरिएको छ ।

स्थानीयहरुका अनुसार त्यहाँ इनारसमेत चारैतर्फको खाली जग्गा गरी ८ धुर छ ।तर झाले नाममा नापी कायम गराएपछि सो इनार पुर्ने प्रयास गर्दा स्थानीय बासिन्दाले रोकेका छन् । स्थानीय बासिन्दाहरुका अनुसार त्यहाँ प्रति धुर जग्गाको ५ लाख भन्दा बढी मूल्य रहेको छ । सार्वजनिक कृति इनारसमेत ७ धुर जग्गा जगदीश झाको नाममा गर्दा कम्तीमा १० लाखको चलखेल भएको स्थानीय बासिन्दाहरुको अनुमान रहेको छ।

Comment


Related News

Latest News

Trending News