
ध्रुब कुमार झा |
किशोरीहरुको यौन अधिकार सुनिश्चित हुनुपर्ने माग एक कार्यक्रमका वक्ताहरुले अघि सारेका छन् । बुधबार धनुषाको लालगढमा ओरेक नेपालद्वारा आयोजित बालविवाह र यौन हिंसाःयौन हिंसा अधिकार हननको सवाल विषयक प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा वक्ताहरुले सो माग गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालय जनकपुरधामका प्रमुख मंजु खतिवडाले राज्यले किशोरी ÷महिलाहरुको प्रजनन तथा यौन अधिकार सुनिश्चितताका लागि ऐन ल्याएको लामो समय वितिसक्दा पनि मधेश प्रदेशमा यसको कार्यान्वयन अत्यन्त फितलो रहेकोले किशोरीहरुको यौन अधिकार सुनिश्चित हुन नसकेको गुनासो गरिन् । उनले महिलाहरुको आफ्नो शरीरमाथिको स्वअधिकार स्थापनाका लागि किशोरीहरु सचेत मात्र होइन दक्ष हुनुपर्नेसमेत आवश्यकता उनले औंल्याए । भ्रुण हत्या रोक्न नसकिए निकट भविष्यमा मधेश प्रदेशको अवस्था भयावह हुने प्रति चिन्ता व्यक्त गर्दै उनले भनिन्,‘मधेश प्रदेशमा हेर्ने हो भने अहिले पुरुषको तुलनामा महिलाहरुको संख्या दिनानुदिन घट्दो छ जसको मुख्य कारण हो भ्रुणहत्या।’‘छोरा छोरी चेक जाँचगरी छोरी छ भने भ्रुण हत्या हुनु महिला प्रतिको ठूलो हिंसा हो।’,उनले प्रष्ट पारिन् । ‘सुरक्षित र सन्तुष्ट यौन जीवन, सन्तान उत्पादन गर्ने वा नगर्ने र कहिले कतिवटा गर्ने , गर्भपतनको अधिकार, विवाह गर्ने वा नगर्ने र कोसँग गर्ने भन्ने निर्णय, गर्भावस्थामा तथा सुत्केरी अवस्थामा उचित स्वास्थ्य सेवा पाउनु, परिवार नियोजनको साधनका बारेमा सूचना तथा रोजाइको हक यसका साथै लैङ्गिक समानता तथा महिला सशक्तिकरण एवं उपयुक्त स्वास्थ्य सेवाका अधिकारहरू नै महिलाका यौन तथा प्रजनन्स्वास्थ्य सम्बन्धी अधिकार हुन् ।’,उनले स्पष्ट पारिन् । यसमा कसैले पनि विभेद गर्नु अथवा उनीहरुको कुनै अधिकार प्राप्तिमा अवरोध भए त्यो मानवअधिकारको उल्लंघन मात्र होइन अपराध रहेकोले राज्यले तत्काल कारबाही गर्नुपर्ने माग उनले गरिन् । राज्यले कडाईका साथ अगाडि नबढे किशोरीहरुको यौन अधिकार सुनिश्चित हुन सक्दैन ’,उनले प्रष्ट पारिन् ।
बालविवाहको घटनाहरु अझै पनि उजुरी नै नपर्ने उजुरी परे पनि गाउँ व्यवहारमा मिलाउने र पक्राउ गर्न जाँदा प्रहरीलाईसमेत रकमको प्रलोभन दिएर जसरी पनि विहे गरी छाड्ने सामाजिक अवस्थाको चित्रणसमेत उनले गरिन् । कार्यक्रममा उनले सहभागी किशोरीहरुलाई अझै सशक्त भइ कार्यक्षेत्रमा अगाडि बढेर काम गर्न र आफूलाई सशक्त बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताइन् । कार्यक्रममा ओरेक नेपालका कार्यक्रम संचालन तथा व्यवस्थापक सुनिता मैनालीले अहिले पनि महिलाहरु यौन तथा प्रजनन अधिकारबाट वञ्चिकरणमा परेको टिप्पणी गरिन् । उनले किशोरीहरुलाई समाजले साथीभाइको सम्बन्ध देख्दा पनि चरित्रमाथि प्रश्न उठ्ने दुर्दान्त अवस्था रहेको जिकिर गरिन् । प्रहरीको तथ्यांक अनुसार गत पाँच वर्षमा मात्रै २३ हजार भन्दा बढी महिला हिंसाका घटना मधेश प्रदेशमा मात्रै भएको उल्लेख गर्दै व्यवस्थापन मैनालीले भनिन्,‘प्रहरीसम्म पुग्न नदिइएका विभिन्न स्वरूपका महिला हिंसाका घटनाको अवस्था झनै कहालीलाग्दो छ । जहाँ पीडित, पीडक र कानून कार्यान्वयन तहमा बसेका अधिकांश अधिकारीसमेत लैंगिक रूपमा संवेदनशील नभइदिँदा उब्जेको जटिलताले समाजमा विभेद र उत्पीडन दुबै बढेर गएको छ।’ ‘महिलाको जीवन उनीहरुको आफ् नो अधिकार हो । आफ्नो शरीरमाथि आफ्नो स्वामित्व र अधिकार हुनु मानव अधिकारको प्रमुख पाटो हो । यो महिलाको यौन तथा प्रजनन्अधिकार हो । यौन तथा प्रजनन्स्वास्थ्य र अधिकार त्यतिखेर सुनिश्चित भएको मानिन्छ, जतिखेर कुनै पनि व्यक्तिमाथि उल्लेखित सवालबारे पूर्ण एवं सही जानकारी हुन्छ र समस्याहरूको उचित निदान पाएर सम्मानपूर्ण जीवनयापन गर्न सक्दछ ।’,उनले प्रष्ट पारिन् ।
महिला र किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चितताका लागि प्रजनन स्वास्थ्य सेवाहरु गुणस्तरीय हुनुका साथै मनोविमर्श, सूचना, प्रजनन स्वास्थ्य शिक्षा विश्वव्यापि रुपमा पहुँच हुने किसिमबाट एकीकृत रुपमा संचालनको व्यवस्था गर्नुेपर्ने मागसमेत उनले गरेकी थिइन् । कार्यक्रममा सहभागी भएका प्रदेशको आठ वटै जिल्लाका किशोरी मंचका पदाधिकारीहरु मध्ये अधिकांश किशोरीहरुले बालविवाह विरुद्धको अभियानमा जनप्रतिनिधिहरु नै अवरोध सृजना गर्ने गरेको गुनासो पोखिन् । उनीहरुले बालविवाह हुँदै गरेको बारे आवाज उठाउँदा कहिले मेयर त कहिले वडा अध्यक्षले पीडकहरुको संरक्षण गर्न महिला अधिकारकर्मीहरुलाई नै धम्क्याउने गरेको गुनासोसमेत गरेका थिए । किशोरीहरुले केही ठाउँमा स्थानीयत तहबाट विभिन्न प्रकारको सहयोगसमेत प्राप्त हुने गरेको भन्दै अधिकांश जनप्रतिनिधिले सहयोग नगरेको अवस्था रहेको बताएका थिए । ओरेक धनुषाका संयोजक सृजना अर्यालको सहजीकरणमा भएको सो कार्यक्रममा मानवअधिकारको क्षेत्रमा कार्यरत संघ संस्थाका प्रतिनिधिहरु,महिलाअधिकारकर्मीहरुको सहभागिता रहेको छ ।