अपडेट 
२०८० बैशाख २२, शुक्रबार ०७:०२

नेपाली १ हजार र ५ सय दरको नक्कली नोटको धन्धा गर्ने गिरोहले मधेश प्रदेशलाई टार्गेट गरेको छ ।

सर्लाही, रौतहट र धनुषा जिल्लापछि पर्सा जिल्लामा नक्कली नोटसहित २ जना पक्राउ परेका छन् । नक्कली नेपाली नोटसहित वीरगञ्ज महानगरपालिका–१६ बाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ जना बारा जिल्लाका र १ जना सर्लाही जिल्लाका रहेका छन् । उनीहरुको साथबाट १ हजार दरको ४ सय ५० थान र ५ सय दरको ७२ थान गरी कुल ४ लाख ८६ हजार नक्कली रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्साका प्रहरी प्रमुख एसपी कोमल शाहले जनाए अनुसार नेपालमा असली नोटसिट साट्न ल्याएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । बुधबार दिउँसो प्रहरीले उनीहरुलाई पक्राउ गरेको उनले बताए । पक्राउ पर्नेहरूमा सर्लाही जिल्लाको गोडैता नगरपालिका –१२ मधुवनी बस्ने सत्यराज सिंहका छोरा ३४ वर्षीय आनन्द बर्धन सिंह र बारा जिल्लाको परवानीपुर गाउँपालिका–३ बस्ने छोटेलाल साहका छोरा ३६ वर्षीय ओमप्रकाश साह रहेको एसपी शाहले बताए ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बसपार्कतर्फबाट प्रतिमा चोकतर्फ जादै गरेको बीआर ०१ पीजी ६५७७ नम्बरको स्कोरपियो भारतीय जीपलाई जाँच गर्ने क्रममा सो नक्कली नोटसहित फेला परेको उनले बताए । गाडी चालक सिंह र गाडीमा सवार साहलाई नोट सहित पक्राउ गरी आवश्यक कारबाही भइरहेको एसपी शाहले बताए । प्रहरी अधिकारीहरुका अनुसार नेपालमा ठूलो परिमाणमा नक्कली १ हजार र ५ सय दरको नोट भित्रिएको छ ।१ लाख असली नेपाली नोट नक्कली नोटसित साट् दा ३ लाख दिने गरिन्छ । नक्कली नोटसहित पक्राउ परेकाहरुले भारतबाट नोट साटेर ल्याएको बताए पनि विस्तृत जानकारी उपलब्ध गराइरहेका छैनन् ।

धनुषा जिल्लामा झण्डै ८ लाख नक्कली नोटसहित पक्राउ परेका महिला र पुरुषले हालसम्म नोट उपलब्ध गराउनेको विस्तृत जानकारी नदिएको धनुषाका प्रहरी प्रमुख एसपी विश्व खड्काले बताए । ‘नक्कली नोट ल्याउनेहरुबारे अनुसन्धान भइरहेको छ ’ उनले भने, भारतबाट ल्याएको बाहेक उनीहरुले केही खुलाइ रहेका छैनन् । सर्लाही प्रहरीका अनुसार नक्कली नोटको कारोबारमा संलग्न रहेकाहरुको अनुसन्धानबाट भारत बिहारको सीतामढी वरिपरिबाट रकम ल्याएको खुले पनि कारोबार गर्ने व्यक्तिहरु बारे विस्तृत जानकारी आउन सकेको छैन् । प्रहरी अधिकारीहरुका अनुसार नक्कली नोट साट्ने ठूलै गिरोह सक्रिय रहेका छन् ।

नक्कली नोटको कारोबारलाई रोक्न व्यापक सुराकी परिचालन गरिएको बताइएको छ । सुराकीकै सूचनाको आधारमा नक्कली नोटको कारोबारमा संलग्न रहेकाहरु नोटसहित पक्राउ परेका छन् । पक्राउ परेकाहरुले असली कारोबारीबारे अनभिज्ञ रहेको मात्र बताउने गरेका छन् । प्रारम्भिक चरणमा सर्लाही जिल्लाबाट थोरै रकमसहित मानिसहरु पक्राउ परेका थिए । तर एकपछि अर्को गरी कयौं मानिसहरु पक्राउ परिसकेका छन् । नक्कली नोट चलनचल्तीमा धेरै आएको जस्तो नदेखिए पनि नेपालमा धेरै भित्रिएको अनुमान गरिएको छ ।

प्रहरी अधिकारीहरुले नेपाली १ हजार र ५ सय दरको नोटको कारोबार गर्दा राम्ररी पहिचान गरी मात्र गर्न सुझाव दिएका छन् । अँध्यारोमा, सक्कली नक्कली नोटको पहिचान गर्न नसक्ने व्यवसायीलाई, भीडभाड हुने पसलहरुमा नक्कली नोट साटिन सक्ने सम्भावना रहेको देखिन्छ । नक्कली नोटको कारोबारमा महिलासमेत संलग्न रहेका छन् ।

धनुषामा पक्राउ परेका महिला, पुरुष र बारा जिल्लाको परबानीपुर गाउँपालिका–३ का ओमप्रकाश साहबीच तार जोडिएको हुनसक्ने सम्भावना रहेको छ । मधेश प्रदेश प्रहरी र ८ वटै जिल्ला प्रहरीबीच समन्वय गरी नक्कली नोटको धन्धालाई रोक्ने काम भइरहेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

Comment

Related News

Latest News

Trending News