अपडेट 
२०८० बैशाख २२, शुक्रबार ०७:०९

यस २०८० सालको बुद्धजयन्ती बैशाख २२ गते शुक्रवारका दिन परेको छ । यस दिनमा नेपाल सरकारद्वारा धूमधामसाथ बुद्धजयन्ती मनाउन राष्ट्रिय विदाको घोषणा हुँदै आएको छ । यसपालि २५६७ औं बुद्धजयन्ती मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने गरिन्छ । गौतम बुद्धको जन्मको नाम सिद्धार्थ गौतम थियो । उहाँको जन्म लुम्बिनी दरबारमा शुद्धोधन र माया देवीको कोखबाट ६२३ बी.सी. मा भएको थियो । सिद्धार्थ गौतमको बाल्यकाल लुम्बिनी दरबारमा नै बितेको थियो । जब उहाँ जवान हुनुभयो, तब उहाँको विवाह यशोधरासँग भएको थियो । गौतम बुद्ध जन्मेको सातौं दिनमा आमा मायादेवीको मृत्यु भयो । आमाको मृत्युले उहाँको मनलाई निकै पिरोल्यो । सिद्धार्थ र यशोधराबाट छोरा राहुलको जन्म भएको थियो ।

सिद्धार्थ गौतम ज्ञान प्राप्तिका लागि निस्केपछि यशोधराले पनि सिद्धार्थले जस्तै पहेंलो रङको लुगा लगाएर सन्यासी जीवन विताएकी थिइन् । राजदरबारमा सबै सुखसुविधा भएपनि राजकुमारले आखिर लुम्बिनी दरबार किन छाड्नु परेको थियो ? यो एउटा मनन गर्ने कुरो रहेछ । उहाँले २९ वर्षका उमेरमा घरपरिवार त्याग गरेका थिए । ज्ञानप्राप्तिका लागि दरबारमा पाइने सबै सुख सुविधा त्यागेका थिए । उहाँले भारत बिहारको बोधगयामा एउटा पीपल रुखमुनि तपस्या गरेका थिए । त्यसै तपस्याबाट पाएका ज्ञानले गर्दा गयाको नाम बोधगया पर्न गएको हो । त्यसै दिनदेखि गया बोधगयाको नामले प्रसिद्ध भएको हो । गौतम बुद्ध अहिले नेपालको मात्रै होइन, विश्वकै शान्तिदूत तथा एशियाका ताराका रूपमा वहाँलाई सम्झिने गरिन्छ । बौद्ध धर्मलाई जान्न त्रिपिटक ग्रन्थ बारे जानकारी पाउनु आवश्यक छ । त्रिपिटक ग्रन्थ हिन्दुको वेद, इसाईको बाइबल, इस्लामको कुरान जस्तै प्रमुख धार्मिक ग्रन्थ हो । बुद्धको वचनलाई उहाँको परिनिर्बाणपछि तत्कालिन भिक्षुहरूले एकै ठाउँमा संयोजन गरी त्रिपिटक ग्रन्थ निर्माण गरेका थिए । बुद्धकै संग्रहित बचनलाई लिपिबद्ध भएको ग्रन्थ नै त्रिपिटक हो । बुद्धको महापरिनिर्बाणको पाँचसय वर्षपछि मात्र बुद्धवाणीका रूपमा त्रिपिटकलाई लिपिबद्ध गरिएको थियो । अठ्ठकथाको वर्णन अनुसार त्रिपिटकमा ८४ हजार धर्मस्कन्ध छन् । कुशल कार्य र मन परिशुद्धि कार्य गर्नका लागि त्रिपिटक ज्ञान र अध्ययन गर्नु अति आवश्यक छ ।

विशेषतः त्रिपिटक पाली भाषामा लेखिएको छ । त्रिपिटक शब्दको अर्थतिर जाँदा ‘त्रि’ को अर्थ तीनवटा र ‘पिटक’ को अर्थ हो धर्म साहित्यको टोकरी (डालो) । यसका तीनवटा पिटकमा क्रमशः सूत्रपिटक, विनयपिटक र अभिधम्मपिटक पर्छन् । सूत्रपिटकमा भगवान बुद्धबाट विभिन्न स्थानमा दिइएको धम्म (धर्म) वा उपदेश संग्रह गरिएको कुरालाई लिपिबद्ध गरिएको छ । यसमा २१ हजार धर्म स्कन्ध छन् । विनयपिटकमा बुद्धशासनको व्यवस्था, भिक्षु र भिक्षणीले पालन गर्नुपर्ने नियम, आचारसंहिता, उपसम्पदा नियम, वर्षवाष, भोजन, बस्त्र, औषधि र संघ संचालन गर्ने नियम सम्बन्धी विस्तृत वचनको संग्रह छ । यसमा पनि २१ हजार धर्मस्कन्ध छन् । अभिधम्मपिटकमा परमार्थ अन्तर्गत अति सूक्ष्मादिसूक्ष्मका रूपमा मनोवैज्ञानिक ढंगले मूलतः चित्त, चैतसिक रूप र निर्वाण सम्वन्धी विश्लेषण भएका बुद्धवचन छन् । यसमा ४२ हजार धर्मस्कन्ध समावेश गरिएका छन् । त्रिपिटकलाई पाली भाषमा लेखिएपनि वर्तमान समयसम्म आउँदा विश्वका विभिन्न भाषामा यसको अनुवादित पुस्तकहरू उपलब्ध छन् । श्रीलङ्का, बर्मा, थाइल्याण्ड, कम्बोडिया, चाइना आदि जस्ता देशहरू आ–आफ्ना लिपिमा त्रिपिटक ग्रन्थ लेखिसकेका छन् । नेपाल मात्र होइन संसार भरिका मानिसहरूमध्ये लुम्बिनीलाई नजान्ने मान्छे कमै होलान् ।

नेपालको दक्षिण–पश्चिम तराईको रुपन्देही जिल्लामा पर्ने लुम्बिनी संसार भरिका करौडौं बुद्ध धर्मानुयायीहरूका लागि उतिकै महत्वपूर्ण छ । जति क्रिश्चियनहरूका लागि जेरुसलम र मुसलमानहरूका लागि मक्का मदिना । लुम्बिनी सांस्कृतिक दृष्टिकोणले मात्र नभएर प्राकृतिक सौन्दर्यको दृष्टिकोणले पनि त्यतिकै सुन्दर मानिन्छ । लुम्बिनीको भ्रमण गर्ने प्रसिद्ध चीनियायात्री ह्वेनसाङ र फाइयानले यसलाई स्वर्गसँग तुलना गरेका छन। धेरै लामो समयसम्म गौतम बुद्धको निश्चित जन्मस्थल पत्ता लाग्न सकेको थिएन । पछि सन् १८८६ मा एक जना जर्मन पूरातत्वविद् डा. एलोइस ए. फहररले उत्खनन गरी एक ढुंगाको पिलर फेला पारेपछि भगवान बुद्धको जन्मस्थल भएको कुराम शंका उपशंका हटेर गयो । लुम्बिनीमा फेला परेका वस्तुहरूमा मुख्य कुराहरू निम्नानुसार रहेका छन्ः अशोक स्तम्भ, माया देवीको मूर्ति, पुष्करनी (शाक्य कुण्ड), स्ल्याब ढुंगा, बुद्ध मन्दिर आदि । लुम्बिनी वरिपरिका ठाउँहरूमा अरोराकोट, चत्रादेई, गोथिहावा, कुदान, सागरहवा रहेका छन् । हालको लुम्बिनी विश्वसम्पदा सूचीमा समेत लिपिबद्ध भै सकेको छ । लुम्बिनी आज पर्यटकहरूका लागि सुगमक्षेत्र भएको छ । यहाँ अहिले ठूल्ठूला होटल, पानी, बिजुली, बाटोघाटोको राम्रो व्यवस्था भएको छ । देश, विदेशका पर्यटकहरूको घुइँचो लागि रहन्छ । काठमाडौं–भैरहवा बससेवाको साथै हवाई सेवा पनि उपलब्ध छ ।

यति प्रसिद्ध तथा पवित्रस्थल बारे पनि केही तथाकथित भारतीय विद्वानहरूले गौतम बुद्धको जन्मस्थल बारे गलत प्रचारप्रसार गरेका थिए । त्यस्ता विवादलाई भारतीय शासनाध्यक्ष प्रधानमन्त्री नरेन्द्र भाइ मोदी लुम्बिनी दर्शन गरेर सदाका लागि त्यस्ता गलत फहमी प्रचारप्रसारलाई खत्म गरिदिएका छन् । नेपाल चार तीर्थस्थलमा क्रमशः पशुपतिनाथ, जानकी मन्दिर , मुक्तिनाथ तथा लुम्बिनी भ्रमण गरेर भारतीय पर्यटकहरूका विश्वासलाई जगाएका छन् । नेपालको इतिहासतिर फर्केर हेर्दा नेपाल विश्वको एउटा तपोभूमिको रूपमा प्रसिद्ध छ । पूर्वीय विद्वानहरूको शास्त्रार्थभूमि रहेको छ । विश्वलाई चिनाउने हामीसँग निकै धेरै प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरू छन् । विश्वका सबैभन्दा उच्चस्थल सगरमाथा नेपाल मै अवस्थित छ । विश्वका बहुमूल्य प्राकृतिक जडीबुटी पाउने स्थल पनि यहीं हो । विभिन्न धार्मिक नदीनाला, मठमन्दिर, तीर्थस्थल, पर्यटनक्षेत्र, कुण्ड, तलाउ, जलाशयहरू पनि यही विद्यमान छन् । जनकपुरमा जन्मिएर सीता, काठमाडौंमा जन्मिएर भृकुटी जस्ता नेपाली बेटीले उत्तर र दक्षिणमा आफ्ना आदर्शताको मार्ग देखाएर अमर भएकी छन् । यस्तै सिद्धार्थ गौतम विश्वलाई शान्तिको पाठ पढाउने गुरुको रूपमा प्रख्यात भएका छन् । आज विश्वका अशान्त व्यक्तिहरू शान्ति पाउन नेपालमा आउन लालायित छन् । सिद्धार्थ गौतमले देखाएका शान्तिको बाटोमा नलागुञ्जेल शान्तिको परिकल्पना गर्नै सकिँदैन । आज पश्चिमाहरू हथियारको होडमा लागेर विश्वलाई नै आक्रान्त पारेको बेला गौतम बुद्धको विचार अझ बढी सान्दर्भिक देखिन्छ । हाम्रा पुर्खाहरू जे जस्तो प्रतिष्ठा पाएपनि हामी उहाँकै सन्तान कतातिर लागेका छौं सोच्नु पर्ने हो ।

दुनियाका भ्रष्टाचारी देशहरूमध्ये हामी निकै उँचाई पाएका छौं । सरकारी सम्पदा मात्र कहाँ हो र ! वनजंगल, मठमन्दिर, जग्गाजमिन, स्कुलकलेजका सम्पत्ति, ऐलानी पर्तिधर्ती जस्ता जग्गा पनि हड्पन अलिकति पनि लाज तथा डर मान्दैनन् । यसको परिणाम हामी विश्वमा इमान्दारीको पाठ पढाउने नेपाली आज भ्रष्टाचारी बनेर दरदरको ठोक्कर खान वाध्य छौं । गौतम बुद्ध कै उपदेश पाएर विश्वका कतिपय देश आफूलाई समृद्ध बनाएको इतिहास साक्षी छ भने हामी कसको अनुसरण गर्न खोजेका छौं, विचारणीय पक्ष रहेको छ । गौतम बुद्धलाई दरवारिया वातावरणमा नै शान्ति भेटेको भए उहाँ किन गयाको पीपल वोट मुनि बसेर तपस्या गर्न पुग्थे होलान् । विश्वका समाजवादीदेखि साम्राज्यवादीसम्मका देशहरूसमेत गौतम बुद्धको उपदेशलाई समानरूपले अनुसरण गरेको देखिन्छ । जन्मिएपछि मर्नु पर्ने कुरा थाहा पाएपछि उहाँले आफूलाई सम्हाल्न गाह्रो भयो । जन्मेपछि मर्नै पर्ने वास्तविकता थाहा पाए । लामो समयसम्म तपस्या गरे । त्यहींबाट उहाँले जीवनको कटुसत्यका धेरै प्रश्नकोउत्तर पाए । त्यसपछि उनी शान्तिका अग्रदूत बनी संसारमा शान्ति फैलाउने काममा लागिरहे । नेपालको लुम्बिनीमा यस बारे बृहत् अध्ययन अनुसन्धान गर्न लुम्बिनी विश्वविद्यालयको समेत स्थापना भै सकेको छ । विश्वका बौद्धमार्गीहरू यहाँ आएर अध्ययन गर्ने बाटो खुलेको छ । आजको समयमा पनि उनले प्राप्त गरेका ज्ञानको बाटोलाई हामी पछ्याउन सक्यौं भने जीवन सफल हुनेमा कुने शंका छैन ।

हिंसा नगर्न, झूठो नबोल्नु, असहायलाई मद्दत गर्नु, जन्म र मृत्यु प्राकृतिक सत्य हो, जस्ता ज्ञानको ज्योति फैलाउने बुद्धको बाटोलाई हामी सबैले आत्मसात् गर्नु नितान्त जरुरी छ । बुद्ध धर्मावलम्बीहरू यस धर्मलाई बेग्लै धर्मको रूपमा स्वीकारे पनि हिन्दु शास्त्रले गौतम बुद्धलाई विष्णु कै एउटा अवतारको रूपमा स्वीकार्य गरेको छ । हिन्दुका परमपूज्य भगवान विष्णु पृथ्वी जस्तो मृतलोकमा दानवीय प्रवृत्तिले गर्दा अधर्म बढ्न थालेपछि विभिन्न अवतारको रूपमा प्रकट हुनुभयो । गौतम बुद्ध पनि त्यस्तै मध्येको एउटा अवतार हुन् । तर जे भए पनि एउटा नेपाली छोरोले विश्वमा पाएको प्रसिद्धिले सबै नेपालीको नाक ठाडो पारेका छन् । हामी नेपाली यसबाट गौरब महसूस गरि रहेछौं । यतिले मात्र कहाँ पुग्छ र ! यसलाई जोगाउन र अनुसरण गर्न पनि सक्नु प¥यो । यदि त्यस्तो गर्न सकेनौं भने भोलिका दिनहरूमा हाम्रो जीवन अझै कष्टकर बन्नेमा कुनै शंका छैन । यस्ता शान्तिका उपदेश दिने महान विभूतिलाई कोटी कोटी नमन । इतिश्री ।

Comment


Related News

Latest News

Trending News