
नेपाली राजनीतिमा आफन्तलाई उत्तराधिकारी बनाउन समान्य भइरहेको बेला लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले सम्धि, सम्धिनीलाई राजनीतिमा उतारेपछि अब छोरीलाई राजनीतिमा ल्याउन लागेका छन् ।
चिकित्सा पेशामा रहेकी छोरी डा.मिनाक्षी ठाकुरलाई लोसपा अध्यक्ष ठाकुरले गैह्र सरकारी संस्थान(एनजीओ) मार्फत राजनीतिमा ल्याउन लागेका छन् । उमेर र स्वास्थ्यले सकृय राजनीतिबाट विश्राम लिनुपर्ने अवस्थामा अध्यक्ष ठाकुरले छोरीलाई अगाडी सारेका छन् ।त्यसका लागि उनले श्रीमती सुशीला ठाकुरको नाममा हालै सुशीला ठाकुर स्मृति स्वास्थ्य फाउण्डेसन गठन गरी महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ का जनतामाझ डा.ठाकुरको पहिचान बनाउन लागेकाछन् ।
नेपालस्थित भारतीय दूतावासले फाउण्डेसनलाई उपलब्ध गराएको ग्यास चुल्हो र सिलिन्डर महोत्तरीका निर्वाचन क्षेत्र नम्बर–३का मतदाताहरुमा बितरण गर्न डा.ठाकुरलाई अगाडी सारिएको छ भारतीय दूतावास र सुशीला ठाकुर स्मृति स्वास्थ्य फाउण्डेशनबीच ग्यास चुल्हो र ग्यास सिलिण्डरका लागि बिहिवार भारतीय दूतावासमा आयोजित एउटा कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो फाउण्डेसनकी अध्यक्ष रहेकी मिनाक्षीले सम्झौता पत्रमा फाउण्डेसनको तर्फ हस्ताक्षर गरेकी छिन् । सम्झौता अनुसार दूतावासबाट प्राप्त ग्यास चुल्हो र सिलिण्डर महोत्तरी जिल्लाको पाँच वटा नगरपालिकाका झन्डै आठ हजार विपन्न तथा सीमान्तकृत परिवारलाई वितरण गरिनेछ । दाउरा, कोइला, गुँइठा जस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण भेगका घरपरिवारलाई एलपीजी ग्यास जस्ता सफा खाना पकाउने इन्धन उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख रहेको बताइएको छ । भारत सरकारले अघि सारेको ‘प्रधानमन्त्री उज्ज्वला योजना’ बाट यो कार्यक्रम प्रेरित रहेको भारतीय राजदूतावासका अधिकारीहरुले जनाएका छन् ।
महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट उनी लगातार दोस्रो पटक चुनाव जितेका छन् ।यस अघि उनी सर्लाही जिल्लाको तत्कालिन निर्वाचन क्षेत्र नम्बर २बाट २ पटक लगातार पराजित भएपछि महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लडेका थिए । नेपाली कांग्रेसबाट अलग्गिएर तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा) गठन गरेका ठाकुरले कयौं पार्टीको नेतृत्व गरेपनि कुनै दलको महाधिवेशन गराउन सकेका छैन् ।उनले नेतृत्व गरेको लोसपाको प्रतिनिधि सभामा ४ जना जितेपनि राष्ट्रिय दलको मान्यता पाउन असफल भएकोछ । भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको ५करोड रुपियाँ अनुदान सहयोगमा महोत्तरी जिल्लामा एलपी ग्यास चुल्हो र ग्यास सिलिन्डर वितरण हुने भारतीय दूतावासले जनाएको छ । नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहु क्षेत्रीय सहकार्य रहेको उल्लेखगर्दै भारतीय दूतावासले यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको जीवनस्तर उकास्न नेपाल सरकारले गरेका प्रयासहरूमा भारत सरकारले पुर्याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको दाबी गरेको छ ।
ठाकुरले छोरी मिनाक्षीका ससुरा उमाकान्त झालाई मन्त्री र प्रदेश प्रमुख बनाएका थिए ।सम्धिनी इन्दिरा झालाई संविधान सभा सदस्य बनाएका एि ।तर दुबै जना राजनीतिमा जम्न सकेनन् ।अब छोरी मिनाक्षीलाई ठाकुरले राजनीतिमा ल्याउन लागेका छन् । लोसपा स्रोतहरुका अनुसार अगामी चुनावमा ठाकुरले आफ्नो उत्तराधिकारीको रुपमा डा.ठाकुरलाई उतार्ने तयारी गरेका छन् ।