अपडेट 
२०८० बैशाख २३, शनिबार ०७:१२

गत आर्थिक वर्षको लक्ष्यभन्दा १ सय ८२ प्रतिशत बढी राजस्व संकलन गर्ने महोत्तरीको जलेश्वर भन्सार कार्यालयलाई चालु आर्थिक वर्ष २०७९/०८० मा लक्ष्य पूरा गर्न नै धौ–धौ परेको छ ।

चालु आर्थिक आवमा जलेश्वर भन्सार कार्यालयलाई ३ अर्ब ६३ करोड ९१ लाख ६ हजार रुपैयाँ राजस्व उठाउन लक्ष्य दिइएकोमा आर्थिक वर्षको ९ महिना वितिसक्दा मात्र ५६ दशमलव १८ प्रतिशत अर्थात २ अर्ब ४ करोड ४४ लाख ३० हजार ३९ रुपैयाँ मात्र उठाउन सकेको छ । आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब ७० करोड ७० लाख ७७ हजार राजस्व उठाउने लक्ष्य पाएकोमा जलेश्वर भन्सार कार्यालयले १८२ प्रतिशतले लक्ष्य हासिल गरी ३ अर्ब ९ करोड ३४ लाख ७० हजार ४९५ रुपैयाँ उठाएको थियो । ९ महिनामा उठाउनुपर्ने राजस्वको लक्ष्य तोकिए पनि आयत निर्यात व्यापार प्रभावित भएसँगै जलेश्वर भन्सार कार्यालयको राजस्व असुलीमा गिरावट आएको कार्यालयका प्रमुख भन्सार अधिकृत अमित पौडेलले बताए । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यको तुलनामा १०८ दशमलव ३१ प्रतिशत प्रगति हासिल गरेको छ ।

साउनमा २२ करोड ४९ लाख ९ हजार राजस्व उठाउने लक्ष्य भएकोमा भन्सार कार्यालयले २४ करोड ३६ लाख २ हजार ५५३ रुपैयाँ राजस्व उठाएको थियो । सो महिनामा लक्ष्यभन्दा बढी राजस्व उठाए पनि त्यसपछिका महिनाहरुमा भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व उठाउन सकेको छैन । सो कार्यालयले उपलब्ध गराएको तथ्याङ्गक अनुसार गत भदौ देखि चैत समान्त सम्म आईपुग्दा क्रमिक रुपमा राजस्व असुलीमा गिरावट देखिएको छ । भदौमा २७ करोड ५५ लाख ७५ हजार राजस्व उठाउने लक्ष्य पाएकोमा ८३ दशमलव ७६ प्रतिशत अर्थात २२ करोड ८३ लाख १ हजार ८९ उठाएको छ । यसै गरी असोजमा २८ करोड ५८ लाख ६९ हजार लक्ष्य रहेकोमा ८८.३९ प्रतिशत २५ करोड २६ लाख ७८ हजार २३४, कार्तिकमा ३० करोड ३१ लाख ८२ हजार राजस्व उठाउने लक्ष्य पाएकोमा ७९ प्रतिशत अर्थात २४ करोड ४९ लाख ४१ हजार ६९, मंसिरमा ३१ करोड ४३ लाख ९७ हजार लक्ष्य पाएकोमा ५९.४३ प्रतिशत अर्थात १८ करोड ६८ लाख ४९ हजार ४७७, पुसमा ३३ करोड ७८ लाख २९ हजार लक्ष्य पाएकोमा ५३.४८ प्रतिशत अर्थात १८ करोड ६ लाख ७३ हजार ७६२, माघ महिनामा ३० करोड लक्ष्य पाएकोमा ७४.२० प्रतिशत अर्थात २२ करोड ७५ लाख ७८ हजार २९५, फागुनमा ३१ करोड ६३ लाख ६२ हजार लक्ष्य पाएकोमा ७६.३६ प्रतिशत अर्थात २४ करोड १५ लाख ८१ हजार ६४० तथा चैत महिनमा ३२ करोड ४८ लाख ४८ हजार राजस्व उठाउने लक्ष्य पाएकोमा ७३.३३ प्रतिशत अर्थात २२ करोड ८२ लाख २३ हजार ९२० रुपैयाँ राजस्व उठाएको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा उठेको कूल राजस्व मध्ये पेट्रोलियम पदार्थ आयातबाट ६० प्रतिशत राजस्व उठेको छ । २०७९ साउनदेखि चैत मसान्तसम्म सो नाकाबाट ४० करोड ५९ लाख ६२ हजार ५६२ बराबरको ६९ लाख ५७ हजार ७९ किलो लिटर पेट्रोलियम पदार्थ आयात भएर आउँदा ४८ करोड २३ लाख ३ हजार १४८ भारु रुपैयाँ उठेको छ । यस नाकाबाट सबभन्दा भारतबाट पेट्रोलियम पदार्थ आयात हँुदा राजस्वको लक्ष्य मुख्य रुपमा पेट्रोलियम पदार्थ आयातमा निर्भर हुने गरेको छ । तर यस वर्ष भारतबाट अनुमानको हिसाबले पेट्रोलियम पदार्थ आयात नहुँदा लक्ष्य प्रभावित भएको सूचना अधिकारी सुमित रौनियारले बताए । नेपाल भन्दा भारतबाटमा पेट्रोलियम पदार्थ सस्तो भएकोले पनि भारतका ग्राहकहरु नेपाल न्यून मात्रामा आउने गरेको उनले बताए । यसरी लक्ष्य अनुसार राजस्व नउठाउनुको पछाडि पेट्रोलियम पदार्थ आयात रहे पनि सिमावर्ती क्षेत्रमा हुने गरेको चोरी पैठारी र तस्करीको कारणले पनि राजस्व संकल्नमा कमी आएको जानकार हरुको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News