अपडेट 
२०८० बैशाख २३, शनिबार ०७:२०

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले नवौं पटक मन्त्रीमण्डल विस्तार गरिरहँदा मुलुकमा खासै चर्चा भएन । सामान्य प्रकृया जस्ता लिए । जाबो २२ सदस्यीय मन्त्रीमण्डललाई पूर्णता दिन चार महिना ? आम नेपालीको प्रतिक्रिया थियो । तर चर्चाको विषय बन्यो – नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर तेश्रो मुलुक पठाउने नाममा करोडौ ठगी गर्ने गिरोहको चर्चिकला । जुन ठगी धन्धामा मुलुकका गृहप्रशासन हाक्ने शीर्ष नेता तथा प्रशासकको मिलेमतोको आरोप छ । आफूलाई पाकसाफ बताउने केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको भयावह भ्रष्टाचारको छनक छ । अनि कात्रोमा पनि कमिशन खाने राजनीतिक प्रणालीको बेलिविस्तार पनि छ । चैत पहिलो साता एक दैनिक पत्रिकाले नक्कली शरणर्थी बनाएर करोडौको ठगी गर्ने गिरोह बारे खुलासा गर्दै समाचार प्रकाशित गरेको थियो ।

चैत १२ गते प्रहरी उपत्यका अपराध अनुसन्धान कार्यालयले भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल,ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङ तथा यसको तीन दिनपछि मोरङका सागर राईलाई पक्राउ गरेको थियो । उनीहरुकै बयानको आधारमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राई,तत्कालीन गृहसचिव तथा वर्तमान उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परे । घटना यतिकैमा सकिएको छैन । यस ठगी प्रकरणमा केपी शर्मा नेतृत्वको सरकारको प्रभावशाली उर्जामन्त्री टोपबहादुर रायमाझी, उनका छोरा संदीप रायमाझी तथा गृहमन्त्री बादलका छोरा प्रतीक थापाको नाम पनि जोडिएर आएको छ । आरोपि मध्ये संदीप रायमाझी पक्राउ परिसकेका छन् भन्ने पूर्वमन्त्री टोपबहादुर र पूर्वगृहमन्त्रीका छोरा प्रतीक थापा प्रहरीको पकड बाहिर छ । सन् १९९० मा भुटानबाट लखेटिएर भारत हुँदै नेपाल प्रवेश गरेका झण्डै १ लाख २० हजार भुटानी झापा र मोरङमा शरणार्थी भएर बसेका थिए । सन् २०१८ सम्ममा १ लाख १३ हजार ३ सय ७ जनालाई तेस्रो मुलुकमा पुनस्र्थापना गरिसकिएको छ । सरकारी तथ्यांक अनुसार तीबाहेक भुटानी शरणार्थीका रुपमा दर्ता भएका ६ हजार ५ सय ७७ जना अझै नेपालकै शिविरमा छन् ।संयुक्त राष्ट्र संघीय उच्चायुक्तको दमकस्थित कार्यालयले शरणार्थीहरुको व्यवस्थापन तथा तेश्रो मुलुकमा पुनर्वासको चाजो पांजो मिलाएको थियो । सन् २०२० बाट यो उच्चायोग पनि बन्द भइसकेको छ ।

यसै बीच केपी शर्मा ओली नेतृत्वको सरकारले २९ असार २०७६ मा विविध कारणले शरणार्थी दर्ता प्रक्रियामा छुटेकाहरु बारे अध्ययन र थप प्रमाण जुटाउन भन्दै गृहमन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको यिथो । कार्यदल गठन भएबाटै झापा, मोरङ, सुनसरी, दाङ, गोरखा, बाग्लुङलगायतका जिल्लामा एउटा गिरोहका सदस्यहरुले भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली थालेको थियो । बाँकी बचेका ६ हजार ५ सय ७७ भुटानीसंगै अन्य नेपालीको नाम पनि शरणार्थीको तथ्यांकमा थपेर अमेरिका पठाई दिने नाममा संस्थागत ठगी शुरु भएको थियो । नेतृत्व तहका राजनीतिक तथा प्रशासनिक व्यक्तिहरुको संलग्नतामा ८ सय ७५ नेपालीको नाम कथित रुपमा थपियो पनि । प्रत्येकसंग जनही १० लाखदेखि ५० लाखसम्म कुम्ल्याएर करोडौ संकलन गरेको आरोप छ । आफ्नै देशबाट विस्थापित भएर दुःख गरेर पराई भूमिमा बस्दै आएका पीडितहरुको नाममा सरकारी संरक्षणमा थालिएको यो ठगी प्रकरण अमानवीय प्रकृतिको छ । यस्तो घटनामा गृहमन्त्रीका सुरक्षा सल्लाहकार,गृहमन्त्रीका छोरा,तत्कालीन गृहसचिव तथा प्रभावशाली मन्त्री र उनका छोराको नाम मुछिनु निश्चय पनि चिन्ताको विषय हो । अनुसन्धानमा खटिएका वरिष्ठ प्रहरी अधिकारीहरुका अनुसार–यस प्रकरणमा अरु पनि ठूला माछाहरु तानिन् सक्छन् । घटना घटेको वर्षौ भयो । खुलासा भएको महिनौ भयो । घटनामा नेकपा एमालेका शीर्ष नेताहरुमात्र मुछिएका छैनन् । पूर्व गृहसचिव तथा पूर्व रक्षामन्त्रीका सल्लाहकारसंगै पूर्व परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ सुजाता कोइरालाकी निजी साहायक रही सकेका मोरङका केशव दुलालको नाम पनि छ ।

अनुसन्धानबाट प्राप्त जानकारी अनुसार दुलाल र ललितपुरका व्यवासायी सानु भण्डारीले गृह प्रशासन र राजनीतिक नेतृत्वसंग सेटिङ मिलाउने काम गरेको आरोप छ । यसरी हेर्दा यस ठगी प्रकरणमा राजनीतिक, प्रशासनिक तथा व्यापारिक त्रिवेणी देखिन्छ । भ्रष्टाचारको यो पहिलो घटना भने होइन, यस अघि पनि ललिता निवासको जग्गा बिक्रीदेखि लाउडा र माओवादी शिविरसम्मका अनेकौ घटना घटित भएका छन् । यी घटनाहरुले राजनीतिक माइलेज पनि पाएका थिए तर अचेल नेकपा एमाले संगठनसंग जोडिएका पार्टीकै सचिव टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री बादलका छोराका नाम जोडिएर आएको भ्रष्टाचार सम्बन्धी घटना पत्रपत्रिकादेखि सामाजिक संजालसम्ममा भाइरल भइरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहालसंग बिहीबार भेंटेका थिए । उनले पटक पटक सांसद,मन्त्री तथा उपप्रधानमन्त्री बनि सकेका टोपबहादुर रायमाझी भागेर जाने मान्छे नभएको बताएका थिए । कुरा ठिकै पनि हो – जनताको मतबाट सांसद बनेका सांसदज्युहरु भागेर जाने मान्छे होइनन् । तर सम्मानित जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको चार दिन वितिसक्दा पनि रायमाझी जी कहाँ हुनु हुन्छ ? महिनौं देखि सम्पर्कविहीन बनेका लक्ष्मी महतोजी कहाँ हुनु हुन्छ ?

Comment


Related News

Latest News

Trending News