अपडेट 
२०८० बैशाख २४, आईतवार ०८:२९

भारतीय महावाणिज्यदूतावास वीरगञ्जका महावाणिज्यदूत नितेश कुमारले दुबै देशको नागरिकहरुले सहज रुपमा स्वास्थ्य सेवाको स्तर वृद्धिमा भारत नेपाल चिकित्सक मञ्चले सकारात्मक पहल गर्नुपर्ने बताएका छन् ।

भारत नेपाल चिकित्सक मञ्चले शनिबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा उनले सामूहिक रुपमै यस प्रकारको सेवाको लागि नेपालको संघ सरकार र मधेश प्रदेश सरकारले भारतको दिल्ली स्तरमै कार्यक्रम ल्याउनुपर्ने बताए । उनले भने एक्का दुक्का समस्या परेकाहरुलाई दूतावास मार्फत सहयोग गर्दै आएको बताउँदै यसलाई व्यवस्थित गर्नका लागि माथिल्लो स्तरबाटै कुरा गर्नुपर्नेमा जोड दिए । कोभिड–१९ को बेला दुबै देशका चिकित्सकहरुले ज्यानको बाजी थापेर गरेको कामको सराहना गर्दै उनले दुबै देशका चिकित्सकहरुबीच सहकार्यमा गठन भएको मंचले दुबै देशको सरकार समक्ष कार्यक्रमहरु अगाडि बढाउन आग्रह गरे । कार्यक्रममा मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता वीरेन्द्र ठाकुरले नेपाली नागरिकहरुले चाहेको भारतीय अस्पतालमा सहज रुपमा सेवा पाउनुपर्ने बताए । दुई देशबीचको १९५० को सन्धिमै भएका अधिकारहरुबाट समेत नागरिकहरु वञ्चित हुनु दुर्भाग्यपूर्ण रहेकोले यसबारे चिकित्सक मञ्च गम्भीर हुनुपर्ने धारणा राखे । कार्यक्रममा भारतीय मेडिकल एशोसिएनका राष्ट्रिय अध्यक्ष डा.सतानन्द प्रसाद सिंहले चिकित्सकहरुलाई पैसाको पछाडि नगइ गरीबहरुको उपचारमा कुनै लापरबाही नगर्न अनुरोध गरे । आफूले अहिलेसम्म ५० रुपैयाँ मात्र शुल्क लिने गरेको उदाहरण दिँदै उनले भने,‘गरीब जनता नै हाम्रो भगवान हो त्यसैले डाक्टरहरुले जहिले पनि पैसाको पछाडि जानु हुँदैन उपचारबाट कोही पनि वञ्चित हुनु भएन त्यो चिकित्सकको पहिलो कर्तव्य हो। ’

त्यस्तै, डा.पुरुषोत्तम ठाकुरले दुबै देशका सात लाख चिकित्सकहरु मिलेर सरकारहरुसंग जनताको सेवाको लागि चाहे जस्तो कार्यक्रम ल्याउन सकिने दाबी गरे । त्यस्तै, प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा.प्रमोद कुमार यादवले कर्णाली जस्तो विकट प्रदेशमा किड्नी ट्रान्सप्लान्टको व्यवस्थापन हुनसक्ने र मधेश प्रदेशमा भने विभिन्न हिसाबले स्वास्थ्य सेवाको स्तर खस्किंदै जानु अत्यन्त अस्वभाविक र दुर्भाग्यपूर्ण रहेको बताए ।

कार्यक्रममा डा.रामनरेश पण्डित,डा.सज्जन ठाकुर,डा.राघेवेन्द्र झा,डा.विजय कुमार सिंहसहितका तीन दर्जन भन्दा बढी चिकित्सकहरुको सहभागिता रहेको थियो । त्यसैगरी, भारतमा पद्मभूषण पुरस्कार प्राप्त डा.जितेन्द्र क्ुमार सिंहसहितको सहभागितासमेत रहेको थियो । यसैबीच शनिबार नै सर्वसम्मतले मञ्चलाई पूर्णता दिइएको छ । मञ्चका अध्यक्षमा डा.नवल किशोर सिन्हा ,उपाध्यक्षमा डा.पीके ठाकुर,सचिवमा डा.अजय मिश्र,सह–सचिव डा.रामज्ञान यादव तथा कोषाध्यक्ष डा.रवि पाण्डे र सह–कोषाध्यक्षमा डा.विजय प्रसाद साहको चयन गरिएको छ । त्यसैगरी,समितिको प्रवक्तामा डा. निशा महासेठको चयन गरिएको छ भने सदस्यहरुमा डा.रामदेव चौधरी,डा.पंकज साह,डा.विजय साह,डा.विपिन यादव रहेका छन् ।

Comment


Related News