अपडेट 
२०८० बैशाख २५, सोमबार ०९:४२

मधेश प्रदेशसभाको बैठक बस्ने भएको छ ।

प्रदेशसभा परामर्श समितिको आइतबार बसेको बैठकले आगामी जेठ २ गते प्रदेशसभा बैठक बस्ने निर्णय गरेको छ । सो निर्णय अनुसार अव प्रदेशसभाले बैठक आव्हान गर्नेछ। प्रदेशसभा बैठकको मिति तय भएको प्रदेशसभाका सचिव रञ्जित यादवले जनाए । उनका अनुसार सो बैठकमा ४ वटा विधेयक पेश गर्ने सरकारको तयारी छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले बनाएको यातायात सम्बन्धी २ वटा विधेयक प्रदेशसभामा पेश हुनेछ । यो विधेयक अघिल्लो सरकारमा रामसरोज यादव मन्त्री हुँदा नै तयार पारिएको थियो । बालबालिका संरक्षण र प्रदेश प्रशासन सम्बन्धी विधेयक पनि पेश हुने सम्भावित कार्यसूची रहेको सचिव यादवले बताए । यस बाहेक बैठक बस्ने समयको समसमायिक विषय पनि समावेश गर्नसक्ने उनको कथन छ । जेठ मसान्तमै प्रदेशसभाले बजेट अधिवेशन पनि शुरु गर्नेछ । बजेट अधिवेशनमा प्रि बजेट छलफल र नीति तथा कार्यक्रम बारे सांसदहरुले धारणा राख्ने छन् । नयाँ सरकार गठन भएको ४ महिना बित्न लागेको छ । हालसम्म ८ वटा बैठक मात्रै बसेको छ । यी ८ वटा बैठकमा सरकारले शुभकामना अदानप्रदान, सभामुख, उपसभामुख चयन र खेलकुद विकास सम्बन्धी विधेयक संसदमा मात्रै पेश गर्न सकेकोछ ।

पहिलो अधिवेशनमा प्रदेशसभामा सरकारको गति सुस्त देखिएको छ । सुस्त गतिमै कानुन निर्माण पनि भइरहेको छ । प्रदेशसभा बैठक लामो समयदेखि आह्वान भएको थिएन् । गत फागन ४ गते बसेपछि आगामी जेठको लागि बैठक बस्ने सरकारको तयारी छ । उपनिर्वाचन, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा सांसदहरु व्यस्त भएका कारण प्रदेशसभा बैठक बस्न सकेको थिएन् । जेठ २ गते बस्ने प्रदेश सभाको बैठक चाँडै अन्त्य गरेर बजेट अधिवेशन प्रारम्भ हुनेछ ।

जेठ १५ गते सरकारको नीति तथा कार्यक्रम र असार १ गते बजेट पेश हुने पूर्व निर्धारित कार्यक्रम रहेको छ ।देशैभरिका सबै प्रदेशमा एकै दिन नीति तथा कार्यक्रम र बजेट पेश हुने तिथिको विषयमा संविधानमा नै व्यवस्था गरिएको छ । सत्ता गठबन्धनबाट एमाले हटेसँगै प्रदेश सभामुखबाट एमालेका रामचन्द्र मण्डललाई हटाउन कांग्रेसले लविंग गरेको छ ।एमाले प्रदेश सत्तामा हुँदा जनता समाजवादी पार्टी( जसपा)नेपालले मुख्यमन्त्री र एमालेले सभामुख पाएका थिए । कांग्रेसले मुख्यमन्त्री र सभामुख मध्ये एउटा पदमा दाबी गरेपछि सभामुख फेरिने सम्भावना बढेको छ । कांग्रेसलाई सभामुख दिन प्रदेश सत्ता गठबन्धनमा रहेका सबै दल तयार छन् ।तर सत्ता गठबन्धनमा औपचारिक निर्णय हुन बाँकी छ । एमालेको भन्दा कांग्रेसको भागमा एउटा मन्त्रालय कम पर्ने भएको छ ।त्यसकारण पनि सभामुखमा कांग्रेसको दाबी सशक्त बनेको गठबन्धनका नेताहरु बताउँछन् ।

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)संसदीय दलका नेता अभिराम शर्माले सरकार गठनको मोडेल तयार भएपछि अन्य विषयहरुको निर्णय पनि त्यस अनुसार हुने बताए । ‘ मधेश प्रदेश सरकारको नेतृत्व लगायतका विषयमा शीर्ष नेताहरुले टुंगो लगाएसंँगै अन्य विषयहरुपनि टुंगिनेछ’ उनले भने, सभामुख हटाउन २ तिहाई चाहिने भएकाले त्यस विषयमा निर्णय लिन सहज छैन् । मधेश प्रदेश सरकार विस्तार अथवा नयाँ नेतृत्वमा गठन गर्ने नेताहरुले निर्णय लिने उनले बताए ।अहिले मधेश प्रदेशमा सरकारको बारेमा सबै विकल्पहरु खुल्ला रहेको उनको कथन छ ।

Comment


Related News

Latest News

Trending News