
बारा जिल्लाबाट मधेश प्रदेशमा ठूला र साना गरी करीब ७ वटा पार्टी अध्यक्ष पदको जिम्मेवारी बहन गर्ने अवसर प्राप्त भएको छ ।
मधेशमा सबै भन्दा ठूलो दल रहेको नेकपा एमाले पार्टीको मधेश प्रदेशको अध्यक्षमा ज्वाला कुमारी साहलाई जिम्मेवारी दिएको छ । नेपाली कांग्रेस मधेश प्रदेशको सभापति रौतहटका सभापति कृष्ण यादव संसदीय दलको नेतामा निर्वाचित भएसँगै मधेश प्रदेशका उपसभापति बारा जिल्लाका चन्द्रशेखर कुमार यादवले नै कार्यबाहक सभापतिको जिम्मेवारीमा पार्टीको कामकाज गर्दै आएका छन् ।
त्यसैगरी, प्रदेशमा सरकारको नेतृत्व गरिरहेको र विगतदेखि प्रभाव जमाएको जनता समाजवादी पार्टीको मधेश प्रदेश अध्यक्षमा पनि रामबाबु कुमार यादवलाई नै सौभाग्य मिलेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीको अध्यक्ष पनि बाराकै जितेन्द्र सोनलको काँधमा आएको छ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रामचन्द्र चौधरीले जिम्मेवारी पाएका छन् ।
कम समयमा उदाएको र देशमा नै निर्णायक भूमिका निर्वाह गर्ने सक्ने हैसियत बनाई सकेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश अध्यक्षमा ममता शर्मा रहेकी छन् ।
विवेकशील साझा पार्टीका अध्यक्ष पनि बाराका डा. सुशील साहले जिम्मेवारी पाएका छन् ।
यस्तो अवस्थामा पनि जिल्लाको विकासमा फड्को मार्न नसके त्यस्तो अवसर फेरि मिल्छ कि मिल्दैन भने प्रश्न नागरिक समाजका अध्यक्ष उमेशलाल दासको कथन छ । मधेश प्रदेश सरकारमा पनि यस मध्ये कै धेरै पार्टीको सहभागिता रहेको छ । पार्टी भित्रका व्यक्तिहरू नै मुख्यमन्त्री, मन्त्री पदमा आसीन रहेको हुँदा पार्टीको जिम्मेवारी सम्हालेका अध्यक्ष हरूको कुरा नखानु त कल्पना नै गर्नु पर्दैन होला समाजका अध्यक्ष दासले बताए ।